१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उखुबारीमा भेटियो बालिकाको शव, बलात्कारपछि हत्याको आशंका

कञ्चनपुर –भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको छ।  नगरपालिकाको वडा नं १८ निम्बुखेडास्थित उखुबारीमा आज विहान मृतअवस्थामा बालिका भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए।

बिहीबार साथीको घरबाट कापीकलमसहित साइकलमा घर फर्किदै गर्दा उनी हराएकी थिइन्। बिहीबार साँझसम्म छोरी घर नपुगेपछि परिवारजनले खोजबिनका लागि प्रहरीलाई खबर गरे पनि वास्ता नगरेको मृतकका आफन्तहरुको गुनासो छ। घटनास्थलमा खटिएका प्रहरीका अनुसार बालिकाको बलात्कारपछि हत्या गरी शव उखुबारीमा फालिएको देखिन्छ। प्रहरीले घटनामा संलग्नताको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ। अध्ययनमा लगनशील बालिका स्थानीय सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत थिइन्। स्थानीयले उक्त क्षेत्रमा असुरक्षा बढेको भन्दै विगतमा समेत स्थानीय प्रशासनसित सुरक्षा मागेका थिए । तर सुनुवाइ नहुँदा घटना भएको स्थानीयको आरोप छ।

घटनापछि आक्रोशित स्थानीय बासिन्दाले बालिकाको शव परीक्षणका लागि घटनास्थलबाट ल्याउन दिएका छैनन् । बालिकाको शव उखुबारीमा भेटिए पनि उनको साइकल, किताब, कापी र चप्पल भने छेउमै रहेको खोलामा फेला परेको थियो । सुरक्षाको माग गर्दै उनीहरुले प्रहरी चौकी स्थापनाको ग्यारेन्टी भएमात्रै शव लैजान दिने अडान लिएका छन् । प्रहरीलाई शव ल्याउन नदिएपछि घटनास्थलबाट प्रहरी टोली फर्किएको छ । सदरमुकाम महेन्द्रनगरबाट केही मिनेटको दूरीमा रहेको घटनास्थल क्षेत्रमा स्थानीयको भीड लागेको छ । कञ्चनपुरमा एकपछि अर्को हत्याका घटना बढिरहेको भए पनि प्रहरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सकिरहेको छैन । केही दिनअघि पनि कृष्णपुर नगरपालिकामा एक युवतीको हत्या गरी शव जंगलमा फालिएको अवस्थामा भेटिएको थियो। रासस

प्रकाशित: ११ श्रावण २०७५ १३:११ शुक्रबार

उखुबारीमा भेटियो बालिकाको शव बलात्कारपछि हत्याको आशंका