१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ब्राजिली प्रशिक्षकको सम्झौता नवीकरण

रियो दी जेनेरियो (एएफपी) – विश्वकपका लागि गरिएको रूसयात्रा निराशाजनक रहे पनि टिटेलाई २०२२ को विश्वकपसम्मका लागि ब्राजिली राष्ट्रिय टोलीमा प्रशिक्षकका रूपमा रहने गरी सम्झौता नवीकरण गरेको ब्राजिली फुटबल संघ (सिबिएफ)ले जनाएको छ।

‘सिबिएफले २०२२ मा कतारमा हुने विश्वकपसम्म लागू हुने गरी प्रशिक्षक टिटेको सम्झौता नवीकरण गरेको छ,’ सिबिएफको वेभसाइटमा जनाइएको छ।

१९७८ मा क्लाउडियो कौटिन्होयता विश्वकपमा पराजय भोगेपछि पनि सम्झौता नवीकरण हुने टिटे पहिलो ब्राजिली प्रशिक्षक हुन्। पेरिस सेन्ट जर्मनका सुपरस्टार नेइमारको साथ रहेको ब्राजिल विश्वकप २०१८ को मुख्य दाबेदारका रूपमा रूस भ्रमणमा निस्केको थियो। तर क्वार्टरफाइनलमा बेल्जियमसँग २–१ को नतिजामा निराश भएपछि पाँच पटकको विश्वकप च्याम्पियन चाँडै घर फर्किन बाध्य भएको थियो।

‘संघले हामीलाई टिमभित्र व्यावसायिक र एकताको वातावरण बनाउने जिम्मेवारी दिएको छ। यो हाम्रा लागि सुखद चुनौती हो । हामी यसका लागि तयार छौं। हामी आगामी खेल र प्रतियोगिताहरूका लागि तयारीमा केन्द्रित भइसकेका छौं,’ टिटेले सम्झौता नवीकरणपछि भनेका छन्।

विश्वकपको असफलताका बावजुद सम्झौता लम्ब्याएका टिटेको पहिलो चुनौती अर्को वर्ष ब्राजिलमा हुने कोपा अमेरिकाको उपाधि जित्नु हुनेछ। विश्वकपपछि टिमलाई पुरानै मानसिकतामा फर्काउने अभियानस्वरूप ब्राजिलले आगामी दिनमा थुप्रै मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ। त्यसमध्येको पहिलो खेल सेप्टेम्बर ७ मा न्युजर्सीमा अमेरिकाविरुद्ध हुनेछ।

‘सिबिएफले प्रशिक्षक तथा उनका सहयोगीहरूलाई साढे ६ वर्षको कार्यकाल दिएर दीर्घकालीन योजनामा लगानी गरिरहेको छ। यस्तो लगानीले ब्राजिली फुटबललाई हाम्रो चाहनाअनुसारको नतिजा दिनेमा म विश्वस्त छु,’ सिबिएफका कार्यकारी निर्देशक रोजेरियो काबोक्लोले भने।

टिटेको उपनामबाट विश्वभर परिचित एडेनोर लियोनार्दो बाच्चीले २०१६ जुनमा मुख्य प्रशिक्षकका रूपमा ब्राजिली राष्ट्रिय टोलीको नेतृत्व लिएका थिए। २०१४ को विश्वकप सेमिफाइनलमा जर्मनीसँग आफ्नै मैदानमा ७–१ को लज्जाजनक हार भोगेपछि सिबिएफले लुइस फिलिप स्कोलारीलाई बर्खास्त गर्दै नियुक्त गरेका डुंगाको ठाउँ टिटेले लिएका थिए। २०१० को विश्वकप निराशापछि बर्खास्तगीमा परेका डुंगा २०१६ मा पनि कोपा अमेरिकाको समूहचरणबाटै बाहिरिएपछि बर्खास्त भएका थिए।

टिटेले नेतृत्व लिँदा ब्राजिलले विश्वकप २०१८को छनोटअन्तर्गतका तीन खेल खेलिसकेको थियो। आफूले नेतृत्व लिएपछि टोलीको गति बढाएका टिटेले सात महिनाको बीचमा ब्राजिललाई दक्षिण अमेरिकी छनोट प्रतियोगिताको शीर्ष स्थानमा पु-याएर रूसको टिकट काटेका थिए।

प्रकाशित: ११ श्रावण २०७५ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App