१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

आइन् ‘हिमालकी छोरी’

काठमाडौं–लेखिका लाक्पा फुटी शेर्पाका दुई वटा कृति एक साथ विमोचन गरिएको हो । आत्मकथारुपी उपन्यास ‘हिमालकी छोरी’ र ‘हिमालमा चालिस वर्ष’ आत्मकथाको अंग्रेजीमा अनुवादित ‘फोर्टी इयर्स इन दि माउन्टेन’को एक समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाही र पूर्व मुख्यसचिव लीलामणि पौडेलले एकसाथ विमोचन गरेका हुन् ।

सोलुखुम्बुमा जन्मेकी शेर्पा १३ वर्षकै उमेरदेखि हिमाल आरोहणमा लागेकी थिइन् । त्यही भोगाइलाई समेटेर उनले यसअघि ‘हिमालमा चालिस वर्ष’ आत्मकथा लेखेकी थिईन् । अहिले सोही आत्मकथालाई अंग्रेजीमा अनुवाद गरिएको र उक्त आत्मकथामा नआएका हिमालका कुरालाई समेटेर उपन्यासमा ल्याइएको शेर्पाले बताइन् ।

हिमाली समुदाय, शेर्पा समुदाय र सगरमाथाका विषयलाई उपन्यासमा समेटिएको लेखिका शेर्पाको भनाइ छ । उनी सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङल्हामु शेर्पासँग पनि सगरमाथा गएकी थिइन् । तर उनी भने चुचुरोमा पुग्न सफल भइनन् । पुस्तकमा यो कुरा पनि समेटिएको छ । शेर्पा पर्वतीय पर्यटन प्रशिक्षक केन्द्रकी कार्यकारी निर्देशक समेत हुन् । उनलाई शेर्पा समुदाय र हिमालसम्बन्धी लेख्ने पहिलो महिलासमेत मानिन्छ ।
लाक्पा फुटी ट्रस्टले बजारमा ल्याएको यो उपन्यासको मूल्य ५१५ रुपैयाँ राखिएको छ ।

प्रकाशित: २६ भाद्र २०७३ ०३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App