१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तान्त्रिकले मागे १६ वर्षे युवती, आफ्नै बहिनीको बलि चढाउने तयारी

प्रहरीले वरामद गरेको मानव खप्पर ।

काठमाडौं–मानव बलि दिए धन र शक्ति आर्जन हुने अन्धविश्वासमा ढोंगी तान्त्रिकको पछि लाग्नेहरुले राजधानीमै मानव खप्पर र हाडखोर किन्ने गरेको खुलेको छ ।

स्वयम्भूमा गत वर्ष मानव बलि दिने प्रयास गरेको घटनामा पक्राउ परेकाको बयानबाट राजधानीमै मानव खप्पर र हाडखोर किनबेच भइरहेको पाइएको हो ।

उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतीय तान्त्रिक भनिने कानु पहरीसहित आठ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ । प्रहरीका अनुसार पहरीसहित दुई जनाले राजधानीको मित्रपार्कस्थित एक जडीबुटी पसलबाट १९ हजार  रुपैयाँमा मानव खप्पर खरिद गरेको बयान दिएका छन् । प्रहरीले घटनामा पहरीका साथबाट मानव खप्पर, हाडखोर र खुकुरीसमेत बरामद गरेको छ ।

उक्त पसल पहिले प्रेम सिवाकोटीले चलाउँदै आएका थिए । पछिल्लो भूकम्पमा सिवाकोटीको निधन भएपछि बुहारी सीताले चलाउँदै आएकी छन् । गत वर्ष पक्राउ सीतालाई कागजी जमानीमा छाडिएको थियो । ‘उनीहरूले पहिले ससुरासँग लिने गरेको भन्दै मोलसमेत आफैंले तोकेर सीतासँग खप्पर किनेको बयान दिएका छन्,’ ब्युरोका अधिकारीले भने ।

तान्त्रिकको अपत्यारिलो कथा र आश्वासनका पछि दौडँदा अन्जानमै मानव बलिजस्तो जघन्य अपराधले प्रश्रय पाउन लागेको प्रहरीले जनाएको छ । स्वयम्भू घटनामा पक्राउ परेका पहरीले विभिन्न चामत्कारिक कथा, किताब र तस्बिर देखाई आठ जनालाई मानव बलिका लागि तयार पारेको प्रहरी अनुसन्धानले देखाएको छ ।

बलिका लागि १८ दिनसम्म बन्धक बनाइएकी युवतीभन्दा पहिले समूहले अन्य तीन युवती ल्याएर पहरीलाई देखाएको खुलेको छ । पहरीले तीनै जना नहुने बताएपछि सबै एकपछि अर्को गर्दै फर्केका थिए । पहरीले १६ वर्षे युवती चाहिने अडान लिएपछि आरोपी आठमध्ये एकले आफ्नै बहिनीलाई बलि दिन पूजामा जाने भन्दै ल्याएका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख डिआइजी नवराज सिलवालले उनीहरू आफूलाई तान्त्रिक भन्ने ठगको विश्वासमा परेर बलिजस्तो जघन्य अपराधका लागि सहमत भएको बयानमा खुलेको बताए । मानव खप्पर जगाएर आफूसँग राखे धनप्राप्ति हुने, सोचेको पुग्ने भ्रममा पर्दा सबैले कारागार पुग्नुपरेको उनको भनाइ छ ।

‘पहरीले मनग्य धनप्राप्ति हुने भन्दै केही व्यक्तिका कथा सुनाए, केही किताब र तस्बिर देखाए, त्यसैले भ्रममा पार्दै एकपछि अर्को घटनामा सहभागी बनाउँदै लगे,’ डिआइजी सिलवालले भने, ‘यो घटनाले काठमाडौंको समाजलाई नराम्ररी झस्काएको छ ।’

पहरीको टोलीले मानव बलि दिने तयारी गरेको यही घटना पहिलो हुन नसक्ने ब्युरोको आशंका छ । मुख्य अभियुक्त पहरीसहितको बयानका आधारमा थप व्यक्ति र स्थानको अनुसन्धानमा जुटेको प्रहरी स्वयम्भू घटना र जिल्लाका अन्य घटनाबीच तालमेल हुन सक्ने सम्भावनातर्फ केन्द्रित छ ।
पक्राउ परेका आठमध्ये मुख्य तीन आरोपी पहरी, ओमकार शाह र भोजबहादुर थापाको बयानका आधारमा ब्युरो टोलीले बाँकी घटना पछ्याइरहेको हो । ‘पक्राउ परेका ओमकार पहिलेदेखि तान्त्रिक विद्याका भक्त भएको, पहरी लामो समयदेखि काठमाडौंमा बस्दै आएकाले अन्यत्र पनि यस्ता घटना गराएका हुन सक्छन्, हामी खोज्दै छौं,’ ब्युरोका एक अधिकारीले भने ।

बलिका लागि १८ दिनसम्म बन्धक बनाइएकी युवतीभन्दा पहिले समूहले अन्य तीन युवती ल्याएर पहरीलाई देखाएको खुलेको छ । पहरीले तीनै जना नहुने बताएपछि सबै एकपछि अर्को गर्दै फर्केका थिए । पहरीले १६ वर्षे युवती चाहिने अडान लिएपछि आरोपी आठमध्ये एकले आफ्नै बहिनीलाई बलि दिन पूजामा जाने भन्दै ल्याएका थिए ।

‘तीन जनालाई ल्याएको बताएका थिए, को हुन् भन्दा नामठेगाना खुलाउन सकेनन्, सुरुमा ५१ दिनसम्म पूजा गर्ने भनिए पनि खर्च धान्न नसक्ने भएपछि ७ दिनमा सिध्याउने सहमति रहेछ,’ ब्युरोका प्रहरी निरीक्षक रुगम कुँवरले भने । उनका अनुसार पहरीले अप्ठ्यारोमा परेका र टुनामुनाजस्ता अन्धविश्वास राख्ने व्यक्तिलाई आफ्नो वशमा पार्दै आएका थिए ।
 

प्रकाशित: २६ भाद्र २०७३ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App