१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नझर्ने लिग क्लबको हितमा : शेर्पा

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले क्लबहरूको हितका लागि लिगमा रेलिगेसनको व्यवस्था नराखेको बताएका छन्। 

फुटबलको सर्वांगीण विकास आफ्नो योजना रहेको बताउँदै शेर्पाले बुधबार भने, ‘क्लबको वृत्तिविकास र सुविधा हेरेरै हामीले थुप्रै आलोचना र विरोधका बीच रेलिगेसनबिनाको लिग गर्न लागेका हौं । लामो समयदेखि रोकिएको लिग तत्काल सुचारु गर्नु अहिलेको आवश्यकता हो।’

वैशाखमा सम्पन्न निर्वाचनबाट आफू नेतृत्वको कार्यसमिति चयन भएपछि सुधारका थुप्रै काम गरेको दाबी गर्दै शेर्पाले कानुनी रूपमा एन्फालाई बलियो पार्ने अभियान यही महिना सकिने बताए । साउन ३० का लागि तय भएको विशेष साधारणसभाबाट विधान संशोधनका साथै विभिन्न नियमावली पास गराएपछि एन्फाको संक्रमणकाल सकिने भन्दै उनले ‘त्यसपछि स्वर्णकालको यात्रा सुरु हुनेछ’ भने। 

‘फुटबलको सर्वांगीण विकासका लागि गल्लीगल्लीमा ट्रेनिङ सेन्टर हुनुपर्छ । सातै प्रदेशमा कम्तीमा दुई–दुईवटा एकेडेमी सञ्चालन गरिनेछ । प्रत्येक स्थानीय निकायमा खेल्न मिल्ने पूर्वाधार निर्माण हाम्रो प्राथमिकता हो । त्यसका लागि हामीले स्थानीय निकाय, प्रदेश सरकारका साथै केन्द्रीय सरकारसँग पनि पहल गरिरहेका छौं,’ ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका क्लब प्रतिनिधिहरूसँगको अन्तरक्रियामा शेर्पाले योजना सुनाए, ‘प्रत्येक नगरपालिकामा जनसंख्याअनुसार क्षमता भएको रंगशाला, प्रत्येक प्रदेशमा एक÷एक ठूलो रंगशाला तथा केन्द्रमा कम्तीमा दुई अन्तर्राष्ट्रिय स्तरको रंगशाला हुनुपर्छ । सरकारको सहयोगबिना त्यो सम्भव छैन । हामीले सबै तहको सरकारसँग यसका लागि अनुरोध गरिरहेका छौं।’

भौतिक पूर्वाधारको अभावका कारण थुप्रै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रस्ताव आए पनि खेल्न नसकेको उनको भनाइ थियो । तथापि केही महिनाभित्र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने अध्यक्ष शेर्पाले जानकारी गराए । लिगमा रेलिगेसनको प्रावधान नराखेको विषयमा आएका आलोचनात्मक समाचारको प्रतिक्रिया दिँदै शेर्पाले थपे, ‘क्लबहरूको सुविधाका लागि हामीले लिगमा रेलिगेसन नराख्ने निर्णय लियौं । मिडियामा त्यसको व्यापक विरोध भइरहेको छ । काम गर्नेकै आलोचना हुने हो । मैले काम गरेको छु, त्यसैले मेरो आलोचना भइरहेको छ । म पनि गुफा पसेको भए कसैले आलोचना गर्दैनथ्यो । त्यसैले यस्ता आलोचनाबाट म विचलित हुन्नँ।’

पाँच वर्षपछि हुन लागेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको इतिहासमै पहिलो पटक यसपालि रेलिगेसनको व्यवस्था नहुने भएपछि त्यसको आलोचना भएको थियो । रेलिगेसनबिनाको प्रतियोगिताले लिगको हैसियत पाउन नसक्ने भन्दै थ्री स्टार, मनाङ मस्र्याङ्दी क्लबजस्ता नेपाली फुटबलका महारथीहरूले विरोध जनाएका थिए । लिगमा रेलिगेसनको व्यवस्था नहुँदा प्रतियोगिता प्रतिस्पर्धात्मक नहुने, क्लबहरूले खेलाडीलाई आकर्षक पारिश्रमिकमा अनुबन्ध नगर्ने, खेलमिलोमतोको सम्भावना बढ्ने, दर्शक, सञ्चारमाध्यम तथा प्रायोजकको आकर्षण घट्नेलगायतका खतरा औल्याउँदै विज्ञहरुले त्यसको विरोध गरेका थिए। 

एन्फाले देशभित्र पर्याप्त खेलाडी नभएको बहानामा रेलिगेसनको व्यवस्था यसपालिका लागि हटाएको तर्क गर्दै आएको छ । ‘अहिले ९ वटा क्लबलाई खेलाडी पुग्दैन । यस्तो अवस्थामा रेलिगेसनसहितको लिग गरे क्लबहरुलाई मार पर्छ । लामो समयदेखि अवरुद्ध फुटबलको माहोल सुचारु गर्न यसपालि वार्मअपका रूपमा हामीले रेलिगेसनको व्यवस्थाविबाको लिग गर्न लागेका हौं । अर्को वर्षबाट रेलिगेसनसहितको लिग हुन्छ,’ शेर्पाले नागरिकसँग भनेका थिए। 

लिग कमिटीका संयोजक विज्ञानराज शर्माले रेलिगेसन नभए पनि लिग प्रतिस्पर्धात्मक हुने दाबी गरे । उनले प्रत्येक खेलमा विजेता र पराजित हुनेले फरक राशिको पुरस्कार पाउने बताउँदै त्यसैका लागि क्लबहरूले प्रतिस्पर्धा गर्ने तर्क राखे । ‘हामी प्रत्येक खेलमा जितेबापत पुरस्कार बढाउँछौं र हार्नेको घटाउँछौं । लिग दौरान कुनै टिमले खेल भावना मिचेको पाए तत्काल कारबाही गर्नेछौं,’ शर्माले रेलिगेसनबिनाको लिग गर्ने निर्णय रक्षा गर्ने प्रयासमा भने।

लिगमा रेलिगेसनको व्यवस्था नहुँदा प्रतियोगिता प्रतिस्पर्धात्मक नहुने, क्लबहरूले खेलाडीलाई आकर्षक पारिश्रमिकमा अनुबन्ध नगर्ने, खेलमिलोमतोको सम्भावना बढ्ने, दर्शक, सञ्चारमाध्यम तथा प्रायोजकको आकर्षण घट्नेलगायतका खतरा औल्याउँदै विज्ञहरुले त्यसको विरोध गरेका थिए। 

प्रकाशित: १० श्रावण २०७५ ०६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App