१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अनैतिक सम्बन्ध लुकाउन पतिको हत्या

प्रहरीले खाल्डोबाट निकालेको नन्दु राजीको शव। तस्विर : योगेश/नागरिक

टीकापुर – कैलालीमा एक महिनाको अन्तरालमा आफ्नो प्रेमीसँग मिलेर दुई महिलाले पतिको हत्या गरेका छन्। उनीहरुले अनैतिक सम्बन्ध लुकाउन पतिको हत्या जस्तो जधन्य अपराध गरेको अनुसन्धानबाट खुलेको छ।

समाजमा अहिले पनि पति पत्निलाई जीवनभर सँगै बाँच्ने र सँगै मर्ने उदाहरणका रुपमा हेरिन्छ। यसरी सँगै बाँच्ने र सँगै मर्ने वाचा गरेका पति पत्निहरु पछिल्लो समय आफ्नो अनैतिक सम्बन्ध लुकाउन एकअर्काको हत्या गर्न अग्रसर हुने गरेका छन्।

गाउँलेका अनुसार भजनी नगरपालिका–९ भुरुवाकी निर्मला राजीको भतिजो नाता पर्ने दिलिप राजीसँग अनैतिक सम्बन्ध थियो। यो कुरा गाउँलेलाई मात्रै हैन निर्मलाका पति नन्दु राजी (३५) लाई समेत थाहा थियो।

करिव दुई महिना उनीहरुको सम्बन्धका बारेमा गाउँलेले प्रहरीलाई उजुरी समेत दिएका थिए। प्रहरीका सामु उनीहरुले गाउँलेले झुट्टा आरोप लगाएको दुःखेसो पोखे। गाउँलेसँग कुनै प्रमाण थिएन। प्रहरीले उनीहरुलाई छोडिदियो।

यसपछि पनि उनीहरुको अनैतिक सम्बन्ध रोकिएन। पति नन्दु नभएको मौका छोपेर दिलिप निर्मलाको घरमा पुगिरहन्थे। सबै घटना थाहा पाएपछि नन्दुले पत्नि निर्मलालाई दिलिपसँगै बिहे गर्न दवाव दिन थाले।

उनी रोजगारीका क्रममा हुम्लामा थिए। केही दिन अघि मात्रै फर्किएका नन्दु साउन ४ गते घरमै थिए। त्यस दिन मदिरा सेवनका नन्दुको पत्नि निर्मलासँग विवाद भयो। सोही दिन साँझको बेला गाउँलेले दिलिपलाई नन्दुको घरमा देखेका थिए। साउन ५ गते बिहानदेखी नन्दु कहिँ कतै देखिएनन्।

गाउँलेलाई नन्दु हराउनुमा शंका लाग्यो। उनी अचानक हराएको भन्दै गाउँलेले प्रहरीमा उजुरी दिए। प्रहरीले दिलिपलाई पक्राउ ग-यो। दिलिपको मोवाइलमा निर्मलासँग आपत्तिजनक अवस्थाका तस्विर भेटिए। प्रहरीले निर्मलालाई समेत पक्राउ ग-यो। उनीहरुले नन्दुको हत्या गरेको बयान दिए। उनीहरुले दिएको सूचनाकै आधारमा साउन ८ गते नन्दुको शव घर नजिकैको प्रतिक्षा सामुदायिक वनमा खाल्डोमा गाडेको अवस्थामा भेटियो।

प्रहरीको अनुसन्धानले अनैतिक सम्बन्धका बारेमा थाहा पाएपछि निर्मलाले प्रेमी दिलिपको सहयोगमा पतिलाई सधैंका लागि पन्छाउने योजना बनाएको देखिन्छ। उनीहरुले घरभित्रै नन्दुको हत्या गरेर साइकलमा बोकेर खाल्डोमा हालेको बताएका छन्। नन्दु र निर्मलाको १३ वर्ष अघि बिहे भएको थियो। उनीहरुका दुई छोरा छन्।

त्यस्तै असार १२ गते चुरे गाउँपालिका–८ भासु भिरमा कञ्चनपुर पुनर्वासका तेजबहादुर बिष्ट (२४) को शव भेटियो। कैलालीको गोदावरी नगरपालिका–११ स्थित ससुराली घर आएका उनी असार ८ गते अत्तरीयाबाट हराएका थिए।

उनकी आमा हिरा बिष्टलाई छोराको ज्यान तलमाथि भएको शंका लाग्यो। उनले असार ९ गते इलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिइन्। प्रहरीले खासै वास्ता गरेन। असार ११ गते मात्रै हराएको सूचना जारी ग¥यो।

उनकी आमालाई बुहारी लक्ष्मी बडेलाप्रति शंका थियो। उनी लक्ष्मीको घर पुगिन। उनले त्यहाँ छोराको टोपी र जुत्ता फेला पारिन। उनले सबै कुरा प्रहरीलाई जानकारी दिइन्। प्रहरीले लक्ष्मी र उनीसँग लामो समयदेखी प्रेम सम्बन्धमा रहेका गोदावरी नगरपालिका–१२ खमौराका दीपक खत्रीलाई पक्राउ ग-यो। उनीहरुले प्रहरीसँगको बयानमा हत्या गरेको स्विकारे।

भारतको चेन्नईस्थित एक होटलमा काम गर्ने तेजबहादुर र लक्ष्मीको दुई वर्ष अघि घरपरिवारको सहमतिमा नै ‘इङ्गेजमेन्ट’ भएको थियो। यही बैशाख १६ गते उनीहरुको बिहे भएको थियो।

यो दुई वर्षको अवधिमा तेजबहादुर चेन्नईमै रहे। लक्ष्मी दीपकसँग प्रेममा परिन। उनीहरुको अनैतिक सम्बन्ध बिहे पछि पनि जारी रह्यो। लक्ष्मीले पति तेजबहादुरलाई सधैका लागि सिध्याउने योजना बनाइन्। उनले प्रेमी दीपककै सहयोगमा पतिको हत्या गरिन्।

यी दुईवटै घटनामा महिलाले परपुरुषसँगको अनैतिक सम्बन्ध लुकाउन पतिको हत्या गरेको देखिन्छ। उनीहरुले पतिको हत्यामा अनैतिक सम्बन्ध रहेका व्यक्तिको सहयोग लिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरि ओलीले अनुसन्धानका क्रममा कतिपय घटनामा अनैतिक सम्बन्ध कारक रहेको पाइएको बताए।

यी अनैतिक सम्बन्धले व्यक्ति हत्या जस्तो जधन्य अपराधतर्फ मोडेका प्रतिनिधि घटना मात्रै भएको कैलाली बहुमुखी क्याम्पसमा मनोविज्ञान विषयका प्राध्यापक डा. राजेन्द्र शाह बताउँछन्। उनका अनुसार अनैतिक सम्बन्ध नखुलेका थुप्रै घटना रहेका छन्।

‘करिव ८/१० प्रतिशत घटना मात्रै खुलेका छन’ उनले भने, ‘कैयौं घटना भित्र लुकेका अनैतिक सम्बन्ध खुलेका छैनन्।’

उनले प्रविधिको विस्तार, अव्यवहारिक कानून, कानून कार्यान्वयनको फितलो पक्ष, संक्रमणकालिन समाज र स्थिर मनोविज्ञानले यस्ता घटना बढेको बताए। उनले जनचेतनाका माध्यमबाट यस्ता घटनामा कमी ल्याउन सकिने जनाए।

प्रकाशित: १० श्रावण २०७५ ०४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App