१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

फोहोरभित्रका कलात्मक सुन्दरता

काठमाडौं - घरायसी फोहोरका रूपमा रहेका प्लास्टिक, फलाम, कागज बिक्री गरेर आर्थिक आम्दानी गर्ने चलन आम मानिसका लागि नयाँ कुरा होइन । तर त्यस्ता फोहोरले सन्देशसँगै हजारौं नगद पनि आम्दानी गर्न सक्छ भन्ने कुराको पुष्टी कलाकर्मीले गरेका छन्।

करिब ६ महिनाअघि बालबालिका लक्षित आर्ट थेरापीका लागि कान्ति अस्पताल पुगेका कलाका विद्यार्थीले अस्पतालजन्य फोहोरबाट सुन्दर कला निर्माण गरेका हुन् । ‘अस्पतालसँग अनुमति लिने क्रममा हामीले फोहोर देख्यौं । फोहोर डढाएको र गाडेको स्थानका भुइँमा बोतलका राता, निला, पहेला, सेता बिर्काे चम्किरहेका थिए,’ कला विद्यार्थी राजु गिरीले भने, ‘त्यो देखेपछि माटोमा नबिलाउने फोहोरबाट पनि कला बनाउन सकिन्छ भन्ने लाग्यो । त्यही सोचाइ अनुसार हामी फोहोरबाट विविध कला बनायौं।’

अस्पताललाई बालमैत्री बनाउँदै उपचारका लागि आउने बालबालिकाको मानसिक शक्ति बढाउन विद्यार्थी कलाकारले अस्पतालभित्रका भित्ता म्युरल आर्टले रंगाए । क्यान्सरको उपचार गरिरहेका बालबालिकालाई चित्रमार्फत थेरापी पनि दिए । बचेको समयमा अस्पतालबाट निस्केका मध्ये स्वास्थ्यलाई हानी नपु¥याउने र नकुहिने फोहोरको कला बनाउने अभियानलाई पनि सँगै अगाडि बढाए।

कला बिक्री भएमा त्यसबाट परियोजनाकै काम अघि बढाउन थप सहयोग हुनेछ । परियोजनाअन्तर्गत बनेका म्युरल आर्ट, भिजिुअल आर्ट र फोहोरबाट बनेको इन्स्टलेसन आर्टबाट अस्पतालको वातावरणमा आएको परिवर्तन देखाइएको छ ।

विद्यार्थीको यो अभियानमा व्यस्त रहँदा राजधानीमा ट्रिनाले आर्ट चलिरहेको थियो । केही अमेरिकी कलाकारले भिजुअल आर्टबाट फोहोरको कला प्रस्तुत गर्ने प्रस्ताव सिद्धार्थ आर्ट ग्यालरीलाई गरेको थियो । अमेरिकी कलाकार फर्किएपछि नेपाली कलाका विद्यार्थीले फोहोरबाट कला बनाउने तरिकालाई प्राथमिकता दिए ।सिद्धार्थ ग्यालरीसँग सहकार्य गरेर उनीहरुले अभियानमा हातेमालो गरेको गिरीले बताए । ‘हेल्थ ट्रान्सफर्म बाइ आर्ट’ शिर्षकमा अस्पताललाई कलात्मक मात्र बनाएनन् । फोहोरजन्य पदार्थबाट अस्पताल क्षेत्र थप झकिझकाउ पारे । सिर्जना कलेजका  ३० कला विद्यार्थी, काठमाडौं विश्वविद्यालयका ३० जना विद्यार्थी र स्वयंसेवी विदेशी कलाकारसहित ८० जना कलाकार यस अभियानमा आबद्ध थिए।

उनीहरुले सिरिन्जको बिर्को, मिनरल वाटरको बिर्को, सलायन पानीको बोतलका बिर्को लगायतका रंगीचंगी बिर्को र साना साना सिसाका बोतलसमेत उनीहरुले राजधानीका विभिन्न ६ वटा अस्पतालबाट संकलन गरेका थिए । परियोजनाको बारेमा हरेक अस्पतालमा पुगेर कार्यशाला नै गर्नुपरेको अनुभव गिरीले सुनाए । कतिलाई त विदेशमा भैरहेको कलात्मक भिडियोसमेत देखाए । बल्ल फोहोर पनि यति राम्रो हुने रहेछ भनेर कान्ति अस्पताल, ग्राण्डी अस्पताल, गंगालाल अस्पताल, मनमोहन  मुटु रोग अस्पताल, ओम अस्पताल र नर्भिक अस्पतालले फोहोर संकलन गर्न सघाए।

दुई हप्तासम्म जम्मा भएको फोहोरबाट कल्पना नै गर्न नसकिने कलाकृति तयार भए । गिरीले परियोजनाको नेतृत्व गरिरहेका थिए । त्यस्तै अनुज सुवेदीले व्यवस्थापकिय कार्य सम्हाल्दै आर्थिक सहयोग जुटाइरहेका थिए । सृष्टी शाक्यले परियोजना संयोजकको भूमिकामा कलाकारको कामको रेखदेख र सहयोग गरिरहेकी थिइन् । उनीहरुका साथमा म्यक्युब रेजीडेन्सी आर्टिस्टका विदेशी कलाकारले समेत सघाए।

कान्ति अस्पतालमा बनेका कला सूर्यको उर्जा र धर्तीको गुरुत्वाकर्षणसँग जोडेर तयार पारेका छन् । रंगिन बिर्कोबाट बनेको फिनिक्स चराले आकाशमा उड्ने मानिसको चाहनाको प्रतिनिधित्व गर्ने गिरी सुनाउँछन् । आकाशका बादल र उडिरहेका निला चराहरुले स्वच्दन्द आकाशको झल्को दिइरहेको देखिन्थ्यो । त्यस्तै मनीषलाल श्रेष्ठका अनुसार खोला र समुन्द्रको निला हरिया माछाले मानिसको स्वतन्त्रता र निश्चलताको प्रतिनिधित्व गर्दथ्यो।

आकाशका भित्तामा बनेको उल्टो रुखले गुरुत्वाकर्षणसँगै पानीमा देखिने छायाँको रुप देखाउँथ्यो । श्रेष्ठको नेतृत्वमा आङछिरिङ शेर्पा, मिचेल नर्टन, मेघ लिम्बूलगायतका कलाकारले स्वयंसेवी भूमिका निर्वाह गरेका थिए । उनीहरुले अस्पतालमा कलाकृति बनाएर बचेका फोहोरबाट सुन्दर ऐना, सिसाको टेबललगायतका सामानले पनि अस्पतालका फोहोरले सजाइएका छन् ।

मेघ लिम्बूले औषधिका सिसाबाट सजावटको बाकस नै तयार पारेका छन् । जसमा नेपाल आयुर्वेदिक औषधी उत्पादन गर्न सक्षम रहेको औंल्याएका छन् । एलोपेथिक औषधिका बोतलमा उनले विभिन्न  खालका औषधिय जडिबुटीको चित्र टाँसेर रंगिन बनाएका छन् । तिनीहरु हेर्दा राती बल्ने साना साना झिलिमिली बत्तीझैैं देखिन्छ । उनीहरुको कला बिक्री भएमा त्यसबाट परियोजनाकै काम अघि बढाउन थप सहयोग हुनेछ।

परियोजनाअन्तर्गत बनेका म्युरल आर्ट, भिजिुअल आर्ट र फोहोरबाट बनेको इन्स्टलेसन आर्टबाट अस्पतालको वातावरणमा आएको परिवर्तन देखाइएको छ ।म्युरल आर्टको फोटो प्रदर्शनी यतिबेला सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको छ । यस कलाले स्वास्थ्य सुधारको पहल मात्र हैन फोहोर व्यवस्थापनमा समेत सघाएको सिद्धार्थ आर्ट फउण्डेसनकी संगिता थापा बताउँछिन् । थापाका अनुसार गायिका आनी छोइङको किड्नी अस्पताललगायतका अस्पतालले हाम्रोमा पनि यस्तो प्रेरणादायी कार्य किन नगर्ने भन्ने छलफल समेत गरेका छन्।

यतिबेला ग्यालरीमा झैं कान्ति अस्पताल छिर्ने हरकोइका आँखा निराश नहुने कलाकारहरुको अनुभव छ । बिरामी र उनका आफन्तले पनि फरक अनुभूति संगाल्ने गरेका छन् । उनले थपे, ‘सकारात्मक सोचसँगै शारिरीक अस्वस्थता कम गराउन कलाकृति सक्षम भएको छ ।’ सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनी १७ अगस्टसम्म चल्नेछ ।
बालमनस्थिति सुहाउँदो वातावरणमा प्रकृतिसँग बालबालिकालाई जोडेर सिर्जनात्मकता तिर डोहोर्याउने अभ्यासको सुरुवात भएको संलग्न कलाकारहरु उल्लेख गर्छन् ।

 

प्रकाशित: ९ श्रावण २०७५ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App