७ वैशाख २०८१ शुक्रबार
समाज

नियमावलीविपरीत पुरस्कार बाँड्दै प्रहरी

काठमाडौं - प्रहरी नियमावलीविपरीत प्रहरी परिसर र वृत्तले ‘अण्डर कमाण्ड’लाई उत्प्रेरित गर्ने भन्दै पुरस्कार बाँड्न थालेपछि प्रहरी प्रधान कार्यालयले नियमन गर्न थालेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरले विभिन्न कर्पोरेट संस्थाको सहयोगमा ५० हजार राशिसम्मको पुरस्कार वितरण गर्न थालेपछि प्रधान कार्यालयले नियमन गर्न थालेको हो ।

काठमाडौं परिसरले बंगलादेश बैंकसँग र ललितपुर पसिरले सिटिजन्स् बैकसँग सम्झौता गरी प्रहरी नियमावलीविपरीत पुरस्कार सुरुआत गर्न थालेका थिए । अन्तर्राष्ट्रिय प्रचलनअनुसार अण्डर कमाण्डलाई उत्प्रेरित गर्न पुरस्कार वितरण गर्न थालिएको बताए पनि प्रहरी नियमावली विपरीत भएपछि प्रधान कार्यालयले त्यसलाई नियमन गरी प्रहरी नियमावलीअन्र्तगत ल्याउन तयारी गरेको हो ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले कर्पोरेट संस्थाले दिएको रकम पुरस्कार वितरण वा अन्य विषय के हो भन्ने कुनै जानकारी नभएको बताउँदै यस्ता विषयमा नियमन हुने बताए । ‘अण्डर कमाण्डलाई उत्प्रेरित गर्ने विषय जायज छ तर प्रहरी नियमवलीविपरीत हो भने त्यसलाई प्रधान कार्यालयले नीति बनाएर दायरामा ल्याउँछ,’ प्रवक्ता थापाले भने । काठमाडाैं परिसर ललितपुर परिसरले वितरण गरेको पुरस्कार प्रहरी नियमावली २०७१ को दायराभित्र पर्देन ।प्रहरी नियमावली २०७१ को खण्ड ६४ को दफा १९७ आफ्नो र आफ्ना मातहत कार्यालयका प्रहरी कर्मचारीले आफ्नो कर्तव्य पालनको सिलसिलामा प्रशंसनीय काम गरेमा त्यस्तो प्रहरी कर्मचारीलाई पुरस्कारस्वरूप तलब र वा रकम दिनसक्ने व्यवस्था गरिएको छ ।

सोअनुसार प्रहरी महानिरीक्षकले पाँच ग्रेडसम्म तलब वृद्धि थप वा दुई हजार पाँचसय रूपैयाँसम्म दिनसक्ने व्यवस्था गरिएको छ । त्यस्तै कार्यालय प्रमुखकारूपमा रहेको प्रहरी उपरीक्षक र सोदेखि माथिका प्रहरी अतिरिक्त महानिरीक्षकले तीनतहको ग्रेडसम्मको तलब वृद्धि वा एक हजार पाँचसय रूपैयाँसम्म पुरस्कार दिने व्यवस्था उल्लेख छ । त्यसैगरी कार्यालय प्रमुखकारूपमा रहेको प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकले दुई तहसम्मको ग्रेडसम्म तलब वृद्धि वा एक हजार रूपैयाँसम्म पुरस्कार दिने व्यवस्था गरिएको छ ।

‘अण्डर कमाण्डलाई उत्प्रेरित गर्ने विषय जायज छ तर प्रहरी नियमवलीविपरीत हो भने त्यसलाई प्रधान कार्यालयले नीति बनाएर दायरामा ल्याउँछ ।’
 

त्यसैगरी प्रहरी नियमावली २०७१ को परिच्छेद ९ को दफा ९३ दान उपहार लिन नहुने भन्ने उल्लेख । सोअनुसार उपदफा १ मा सरकारी काममा कुनै पनि प्रकारको असर पर्न सक्ने गरी कुनै पनि प्रहरी कर्मचारी र निजको परिवारका सदस्य समेतले नेपाल सरकारको पूर्व स्वीकृति बिना स्वदेशी वा विदेशी कसैबाट पनि कुनै प्रकारको दान दातव्य, कोसेली वा उपहार स्वीकार गर्न वा चन्दा माग्न वा सरकारी कामसँग सम्बन्धित व्यक्तिसँग सापट लिनुहुँदैन भन्ने उल्लेख छ । त्यस्तै उपदफा २ मा प्रहरी कर्मचारीले कुनै विदेशी सरकार वा विदेशी सरकारको कुनै प्रतिनिधिबाट कुनै उपहार प्राप्त हुन आएमा निजले नेपाल सरकारलाई सो कुराको सूचना दिई निकासा भएबमोजिम गर्नुपर्छ भन्ने उल्लेख गरिएको छ ।

त्यस्तै दफा ९४मा प्रहरी कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृतिबिना कुनै पनि कामको निमित्त कुनै किसिमको चन्दा माग्न अथवा स्वीकार गर्नु हुँदैन र अरू कुनै किसिमको आर्थिक सहायता प्राप्त गर्ने काममा समेत भाग लिन हुँदैन भन्ने उल्लेख भएपनि प्रहरी परिसरहरुले कर्पोरेट संस्थाहरुसँग चन्दा लिएर पुरस्कार दिएका छन्।

पूर्व प्रहरी अतिरिक्त महानीरक्षक (एआइजी) नवराज ढकालका अनुसार प्रहरी नियमावलीमै टेकेर पुरस्कार वितरण गर्न सकिने बताउछन । उनका अनुसार अण्डर कमाण्डलाई उत्प्रेरित गर्न पुरस्कारको व्यवस्था गर्नु राम्रो भएपनि ऐन कानुन अनुसार नै वितरण गर्नुपर्नेछ । ‘यस्ता पुरस्कार कहिलेकाही विवादमा पर्न सक्छन्, मापदण्ड नमिलेको र अभिलेख राख्ने विधि वैज्ञानिक नभएको पनि हुनसक्छ जस्ले गर्दा प्रहरी नियमावलीअनुसार नै वैज्ञानिक विधि अपनाएर पुरस्कार वितरण गरेको राम्रो,’ पूर्व एआइजी ढकालले भने ।

विगतमा यस्तो छ परम्परा
स्थानीय चुनावका क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम हातले समाएर फ्याँकेर आएका प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई पुरस्कारस्वरूप असईमा बढुवा गरिएको थियो ।

उनको बढुवाको समयमा हालका प्रहरी महानीरिक्षक सर्वेन्द्र खनाल प्रवक्ता थिए । उत्कृष्ट कार्य गरेवापत रानाको बढुवा भएको थियो । गत वर्ष असार १४ गते भएको दोस्रो चरणको चुनावको मतदानको दिन दाङको तुलसीपुर उपमहानगरपालिका ३ स्थित आधारभूत विद्यालय प्रतापकोटअन्तर्गत अम्बास मतदान केन्द्रमा अज्ञात समूहले बम फालेको थियो । हबल्दार रानाले त्यसलाई तत्काल सुरक्षित स्थानमा फालेर सम्भावित जनधनको क्षति हुनबाट जोगाएका थिए । त्यसवापत प्रहरी प्रधानकार्यालयले ‘पोलेसी कोर्डिनेशन कमिटि’ (पीसीसी)को वैठकले बिशेष निर्णय गरेर बढुवा गरेको थियो ।

त्यस्तै प्रहरी स्थापना दिवसको अवसरमा यसअघि उत्कृष्ट १० सहासी काम गर्ने १० प्रहरीलाई प्रहरी मुख्यालयले विशेष बढुवा दिएको थियो । गत आर्थिक वर्षमा देशभरबाट छानिएका सबैभन्दा राम्रो काम गर्ने १० जनालाई प्रहरी प्रधान कार्यालयले हालै बढुवाम गरेको हो । बढुवा हुनेमा एक असइ, दुई हवल्दार र सातजना प्रहरी जवान छन् ।उनीहरुलाई एक तह बढुवा गरिएको थियो । नयाँ प्रहरी नियमावलीअनुसार पहिलो पटक प्रहरीले उत्कृष्ट काम गर्ने जुनियर प्रहरीलाई छानेर विशेष बढुवा दिएको हो । त्यतिबेला असई सूर्यभक्त श्रेष्ठ र लागूऔषध नियन्त्रण ब्युरोका हबल्दार किरणकुमारी थापा मनिता शाही बढुवा भएका थिए । मानेन्द्र केसी, प्रेमबहादुर कार्की, मोहन खतिवडा, श्यामकान्त श्रीस्वास्तव, रविन श्रेष्ठ, राजेन्द्र चौधरी, र राजुकमार वाग्ले पनि उत्कृष्ट काम गरेर बढुवा भएका थिए ।

त्यसअघि रानीबारी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रहरी अधिकृतहरु तत्कालिन डिआइजी हेमन्त मल्ल डिएसपी भीम दाहाल, प्रहरी नीरीक्षकद्वय महेश बस्नेत, दीपेन्द्र अधिकारीलाई तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले मन्त्रीस्तरीय विशेष निर्णय गरेर मन्त्रालयमै नगद पुरस्कार दिएका थिए । त्यसबाहेक परिसर वा वृत्त आफैंले पुरस्कार दिने व्यवस्था थिएन ।

प्रकाशित: ९ श्रावण २०७५ ००:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App