१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

जीवनका गीत गाउँदै रमेश

काठमाडौं–मध्यान्ह बबरमहलस्थित नेपाल आर्ट काउन्सिल हलमा पुग्दा कलाकारत्रय अश्मिता रञ्जित, श्रीजन राजभण्डारी र रमेश श्रेष्ठ जीवनका रंङहरुको चर्चा गरिरहेका थिए। त्यहाँ प्रदर्शनमा राखिएका श्रेष्ठका चित्रमा जीवनका अनुभूति छचल्किएका छन्। अलग धारका कविता लेख्दै आएका श्रेष्ठको चित्रकारिता पनि पृथक शैलीकै छ। 

उनका चित्रमा रंगहरुको मिठो संयोजन छ । अर्धमूर्त चित्रहरुले घोत्लिन बाध्य बनाउँछन् । कविता जस्तै हरेक चित्रले छुट्टै कथा बोकेका छन् । त्यहाँ प्रेम, उल्लास, अवसाद, प्रकृति, वातावरण आदिको चित्रण छ। समग्रमा रंगहरुको सहाराले जीवन गीत गाएका छन् श्रेष्ठले । ‘म कला मार्फत जीवनका गीत गाउँदै छु्’, उनी खुल्छन्, ‘क्यानभासमा मभित्रको मान्छे बोलेको छ।’  

उनको एकल प्रदर्शनीको शिर्षक नै ‘रङहरुको गीत’ छ । हिँसाले जकडिएको समाजमा शान्तिको गीत गाएका छन् । त्यसैगरि प्रेमफूल फुलाएका छन् । एक्रेलिक र पानी रंगका उज्याला चित्रहरु चित्ताकर्षक छन् । ती चित्रमाथि कविता समेत लेखेर उनले पुस्तक छापेका छन् । प्रदर्शनीमा पुग्ने दर्शकलाई उनी स–सम्मान पुस्तक बाँड्छन् । ती चित्रको मुल्य २० हजारदेखि लाख रुपैयाँसम्म तोकिएको छ। 

पोखरामा जन्मे/हुर्केका श्रेष्ठले ०४० सालदेखि व्यवसायिक कला यात्रा थालेका । उनले सयौं चित्र बनाइसके। सयौं पुस्तकका आवरण चित्र पनि । पहिलोपटक ०५२ सालमा उनको एकल प्रदर्शनी गरिएको थियो पोखरामा । काउन्सिलमा शुक्रबारबाट शुरु भएको दोस्रो एकल प्रदशर्नी हो । जहाँ ५४ वटा चित्र छन् । धेरै चित्र पछिल्ला तीन वर्षमा बनाएका, बाँकी पुरानै हुन् ।

जीवनका ५ दशक पुरा गरिसके श्रेष्ठले । बाँचुञ्जेल चित्रकारिता गर्छु भन्छन् । कविता लेखनको गति उस्तै छ । उनका १० कविताकृति प्रकाशित भैसकेका छन् । तीनमा नपोतिएका रङहरु, चराहरुको पहाड, आमा नदीहरु, बुद्ध बिम्ब अक्षर बिम्ब, इन द नेम अफ बुद्ध, घाँस उखेलिरहेकी केटी, रोदी रोएको देशमा, कविता र साँझ, अक्षरको खेत, चोक र तमसुक, कविताको उज्यालो हुन् । अग्निनृत्य काव्य छापिने सुरसारमा छ। 

उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख पनि हुन् । उनी प्रमुख भएपछि काठमाडौं बाहिर कला कार्यशाला गरेर स्थानीय कलाकारलाई हौस्याउने अभियान चलाएका छन् । धरान, इलाम, धम्पुस, सार्दिखोला, चितवन, लुम्बिनी लगायत ठाउँमा कार्यक्रम गरिसके । छिट्टै पर्वतमा गर्दै छन् । काठमाडौंमा नयाँ र पुराना कलाकारबीच अन्तरक्रिया गराउन होमवर्क पनि गर्दैछन् । 

चित्रकला विभाग प्रमुख बनेपछि पछिल्लो दुई वर्ष यता उनी काठमाडौंमै छन् । प्रदर्शनीमा उनको होस्टेमा हैंसे गर्न जीवनसाथी सृजना र छोरी अक्षता काठमाडौं आएका छन् । छोरा आदिम पोखरामै छन् । दर्शकले उनका चित्रको तारिफ गर्दा सृजना र अक्षता मुस्कुराउँछन् । आत्मविश्वासको पहाड चढेर कला यात्रामा होमिएका कलाकारको अनुहार पनि तेजिलो बन्छ ।

शुक्रबार ‘रङहरुको गीत’ प्रदर्शनीको उद्घाटन पूर्व प्रधानमन्त्री केपी ओलीले गरेका थिए । त्यो क्षणमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धर, वर्तमान कुलपति रागिनी उपाध्याय, उपकुलपति शारदा चित्रकार र सिजर्ना कलेज अफ फाइन आर्टका प्रमुख कृष्ण मानन्धर लगायतले कलाकार श्रेष्ठको कामको प्रशंसा गरेका थिए । प्रदर्शनी एक साता चल्ने छ । 

 

 

प्रकाशित: २५ भाद्र २०७३ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App