१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संघीय सरकारले प्रदेशमा अनावश्यक हस्तक्षेप गर्‍यो : मन्त्री सोनल

बारा– प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले संघीय सरकारले मनोमानी ढंगले अगाडि बढेकोले संघीयतालाई नै खतरामा पारेको आरोप लगाएका छन्।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री समेत रहेका सोनलले केपी ओली नेतृत्वको संघीय सरकार र कर्मचारीतन्त्रले संघीयतालाई नै समाप्त पार्नको लागि मनोमानी ढंगले अगाडि बढेको आरोप लगाए।

‘प्रदेश सरकारलाई बिफल बनाउने कार्यमा ओली सरकार र त्यसका कर्मचारीहरु लागेका छन’, राजपाले मंगलबार बाराको कलैयामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री सोनलले भने, ‘प्रदेश सरकार विफल भयो भने देशबाट संघीयता नै समाप्त हुन्छ।’ 

प्रदेश सरकारलाई असहयोग गरेर मुलुकमा अस्थिरता कायम गरी संघीयतालाई विफल पार्ने योजना बनाएर संघीय सरकार लागेको र उसकै निर्देशनमा कर्मचारीले पनि प्रदेश सरकारलाई असहयोग गरिरहेको उनले आरोप लगाए। यो कार्य तत्कालै रोक्नुपर्ने उनको माग छ।

‘संघीय सरकारले प्रदेशका लागि आवश्यक ऐन कानुन निर्माण गर्न पनि दिएको छैन्, चाहिने जति कर्मचारी पनि पठाएको छैन्, यसले गर्दा प्रदेश सरकार काम गर्न सकिरहेको छैन्’, उनले भने।

मन्त्री सोनलले प्रदेश २ को सरकारले ल्याएको ‘प्रदेश प्रहरी ऐन’ मा संघीय सरकारले अनाहकमा बखेडा झिकेर प्रदेश सरकारलाई काम गर्नबाट रोख्न खोजेको आरोप समेत लगाए। प्रदेश सरकारलाई असहयोग गर्ने संघीय सरकारको सीमा अब समाप्त भइसकेको भन्दै उनले प्रदेश सरकार संघीय सरकारसँग वारपारको लडाइँ लड्न तयार रहेको चेतावनी पनि दिए।

सेवा केन्द्र विस्तारको नाममा कलैयाबाट सरकारी कार्यालय सीमरामा सार्ने संघीय सरकारको निर्णय आफूहरुलाई मान्य नहुने उनको भनाई छ। वीरगन्ज र सप्तरीमा स्थापना गरिएको उच्च अदालतको अस्थायी इजलाशलाई स्थायी प्रकृतिको इजलाश बनाउनुपर्ने माग पनि मन्त्री सोनलले गरे।

प्रकाशित: ८ श्रावण २०७५ १२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App