१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘चि मुसी चि’मा पात्रहरूको चलखेल

फिल्म ‘चि मुसी चि’का कलाकार सुशान्त कार्की (बाँया), अलिशा शर्मा (बीच) र सुनिल क्षेत्री (दाँया) । तस्बिर सौजन्यः विवेक बस्याल

काठमाडौं– ‘चि मुसी चि’ भन्ने बित्तिकै जो कोहीले पनि आफ्नो बाल्यकाल सम्झिन्छन् । हातमा हात राखेर चिमोटेको शैलीमा खेलिने यो खेल बाल्यकालमा निकै लोकप्रिय खेल मानिन्छ।

बाल्यकालको यो लोकप्रिय खेल यतिबेला फिल्म क्षेत्रमा भने फिल्म नै बनेर आएको छ । आगामी शुक्रबारबाट यो फिल्म नेपाली थिएटरमा प्रदर्शनमा आउँदैछ।

निर्देशक दिनेश श्रेष्ठ निर्देशित फिल्म कस्तो होला भन्ने कौतूहलता फिल्म क्षेत्रमा चलेको छ । तर निर्देशक श्रेष्ठ भने फिल्ममा खेल नभई चलखेल देखाइने दाबी गर्छन् । ‘फिल्मको नामले कमेडी फ्लेबर हो भन्ने लागे पनि फिल्ममा कमेडी छैन । फिल्म पूर्ण रुपमा सांगीतिक सस्पेन्स कथामा छ,’ निर्देशक श्रेष्ठले भने, ‘हामीले चि मुसी चि खेल्दा बिरालो मुसाको खेल भन्ने बुझेका थियौं । तर फिल्ममा पात्रको चलखेल देख्न सकिन्छ । किनकी फिल्म भित्र अनेक ट्विस्ट दर्शकले पाउनेछन्।’

यसअघि फिल्म ‘शकुन्तला’मा अभिनेता राजेश हमाललाई महिलाको चरित्रमा प्रस्तुत गरेका निर्देशक श्रेष्ठले ‘चि मुसी चि’ पनि नयाँ कथामा बनाइएको जनाए । ‘फिल्मको कथा अहिले नै खुलाउन मिल्दैन । बिरालोले मुसा कुदाए जस्तै फिल्ममा पनि एउटा पात्रले अर्को पात्रलाई निश्चित उद्देश्यका साथ कुदाएको छ । तर कसले कसलाई कुदाएको थाहा पाउन फिल्म नै हेर्नुपर्नेछ,’ उनले भने ।फिल्ममा सुनिल क्षेत्री र अलिशा शर्माको डेब्यु अभिनय छ । सुनिल भारतीय टेलिभिजन रियालिटी सो ‘डिआइडी सिजन ४’को उत्कृष्ट १० मा परेका कलाकार हुन् । सुनिलले आफूलाई फिल्मको स्क्रिप्ट मनपरेकोले अभिनय गरेको बताए । ‘म कोरियोग्राफीमा रमाइरहेको कलाकार हुँ ।

चि मुसी चि खेल्दा बिरालो मुसाको खेल भन्ने बुझेका थियौं । तर फिल्ममा पात्रको चलखेल देख्न सकिन्छ । किनकी फिल्म भित्र अनेक ट्विस्ट दर्शकले पाउनेछन् ।

बलिउडमा मैले धेरै फिल्ममा कोरसमा रहेर काम गरिसकेको छु । फिल्मको हिरोमा उपयुक्त हुन्छु भन्ने मलाई आश नै थिएन,’ उनले भने, ‘तर निर्देशक दिनेशले अनुहार राम्रो नभए पनि राम्रो नृत्य गर्न सक्ने कलाकार खोजेका रहेछन् । उनले डीआइडी सिजन हेरेका कारणले पनि म उनको नजरमा परें ।’ सुनिलले फिल्मी अभिनयमा लागे पनि आफू कोरियोग्राफीबाटै सन्तुष्ट रहेको बताए । सुनिल नेपालमा ‘नेपाली ठिटोज’ नामक समूह स्थापना गरेर म्युजिक भिडियो निर्माणमा सक्रिय छन् ।नायिका अलिशा ‘स्प्लिट भिल्ला’ रियालिटी सोमा सहभागी कलाकार हुन् । उनले फिल्मका लागि आफूले पृष्ठभूमि बनाइरहेकाले ‘चि मुसी चि’मा छानिएको बताइन् । ‘बच्चामा खेलेको खेलकै नामको फिल्मबाट डेब्यु गर्न पाउँदा खुसी छु,’ अलिशाले भनिन्, ‘मलाई फिल्मको कथाले तान्यो । जसकारण यो फिल्मसँग जोडिएँ।’

फिल्मका अर्का कलाकार सुशान्त कार्कीले आफूले अभिनय गरेका हरेक फिल्ममा केही न केही रुपमा परिवर्तन गरेको जनाउँदै त्यो परिवर्तन दर्शकले ‘चि मुसी चि’मा पनि देख्न पाउने दाबी गरे । ‘फिल्म ‘तीन घुम्ती’ पछि मैले झन्डै एक वर्ष विश्राम लिएँ । यो एक वर्षको दौरानमा मैले अभिनयमा पनि निकै सुधार गरेको छु,’ सुशान्तले भने, ‘मैले अभिनय गरेका फिल्मले व्यावसायिक सफलता पाउन सकेका छैनन् । यो अवस्थामा यो फिल्मबाट अलिक आशावादी छु।’

फिल्ममा शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालगायतका कलाकारको अभिनय छ । अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुबास भूर्तेल र डबबहादुर गुरुङ निर्माता रहेको फिल्ममा शिवराज कार्की कार्यकारी निर्माता छन् । फिल्मका निर्माता गुरुङले नेपाली फिल्ममा पछिल्लो समय चलेको कथाभन्दा पृथक कथा ‘चि मुसी चि’मा पाएकाले आफूले लगानी गरेको बताए ।अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता रहेको फिल्ममा सुरज अधिकारीको संगीत, सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी, बासु न्यौपानेको छायांकन र भूपेन्द्र अधिकारीको छायांकन छ ।
 

प्रकाशित: ८ श्रावण २०७५ ०२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App