१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

आलोचनाको अनुहार

जिके पोख्रेल

पछिल्लो समय नेपाली भाषा÷साहित्यमा सामान्य ढंगमा विषयान्तर भएको जस्तो देखिएको छ । एकातिर वर्णविन्यासको सन्दर्भमा आन्दोलन भइरहेको छ भने अर्कातिर समीक्षासम्बन्धी ‘घगडान’ लेखकका  धारणाहरू सार्वजनिक भइरहेका छन् । अरूका आङमा हात्ती सवार होस् वा नहोस्, के मतलब ! म मेरै आङको जुम्राको कुरा निकाल्छु । तब त समीक्षासम्बन्धी बहसमा भाग लिने लोभले मभित्र पनि उत्साह पैदा भयो । तम्सिएँ।

गत वर्ष एउटा ठूलो अखबारमा लगातारजस्तो दुई साता ‘नेपालमा समीक्षा लेखिएका छैनन्’ भन्ने भावधाराका दुई अन्तर्वाता÷फिचर प्रकाशित  भए । प्राध्यापक ‘अरुण गुप्तो’ र कवि ‘रोबर्ट फ्रस्ट’को हवाला दिएर । समीक्षामाथि अलि कठोर दृष्टि फालिएको थियो ती आलेखमा । पछि अर्को दैनिकमा लेखक–कलाकार मनुजबाबु मिश्रले नेपालमा ‘आर्ट क्रिटिक्स’ नभएको जिकिर गरेका थिए । उनले यस्तै बेहोराको मन्तव्य दिए नागरिक दैनिकसँगको कुराकानीमा पनि ।

नेपालमा समीक्षकले विश्वास कमाएका छैनन् । जुन दिन तिनले झुरलाई झुर भन्न पाउँछन्, त्यो दिन राम्रो समीक्षा लेख्लान् । समीक्षा लेखेकै बलमा ‘लेखक’मा ‘दर्ज’ भइन्छ भन्ने आशा पलाएमा इमानदारी पनि देखाउलान् । जुन दिनसम्म पाठकमाझ लेखकको  ‘अात्मरति र सिन्डिकेटे प्रचार’ हाबी हुन्छ, त्यस दिनसम्म समीक्षकले केही बोल्नुपर्दैन ।


भर्खरैमात्र १२ खरी डट कममा कथाकार÷समीक्षक राजेन्द्र पराजुलीको ‘नेपालमा समीक्षकले विश्वास कमाएका छैनन्’ शीर्षकमा अन्तर्वार्ता प्रकाशित भयो, जबकि त्यो वार्ता पराजुलीको कथासंग्रहमा केन्द्रित थियो । राजन मुकारुङले सोही छेकोमा फेसबुकमा लेखे– ‘शान्त भएर बसूँ भन्यो, निहुँ झिकिहाल्छन्, यस्तो लेख, उस्तो गर पो भन्छन् त ! हुनाको हाउ, तिनैले लेखेर देखाइदिए त भैहाल्छ नि ! किन पो उपदेश दिइरहनु ? के के न ख्याँसेजस्तो !’
म पनि यस्सो समीक्षा लेखी टोपल्दै आएको बबुरोको दृष्टिमा ती गैरजिम्मेवार अभिव्यक्ति थिए विद्वान्का । किनकि, यी विद्वान्ले कम्तीमा ‘क्रिटिक’को ‘भ्याल्यु’ बुझेको हुनुपर्छ । अग्रजका यी कुराले यो युवकमा यति खुल्दुलीचाहिँ निश्चितरूपमा जाग्यो । रिसानी माफ होस् । जुन आंशिक सत्यमात्रै हो– पूर्णसत्य बिल्कुलै होइन ।

नेपाली साहित्यमा समीक्षाको धार भुत्ते छ । यो निश्चय पनि ठीक कुरा हो र स्वाभाविक पनि हो । किनकि, नेपाली साहित्यजगत्मा ‘समीक्षा’ लेखेकै भरमा कोही–कसैलाई लेखक भनिएको छैन, मानिएको छैन । लेखकलाई दिइने ‘दज्र्यानी लेखकीय तक्मा’ समीक्षकको छातीमा टाँसिएको हुँदैन । समीक्षा लेख्नेलाई बरु प्रतिप्रश्न गरिन्छ– ‘लु त तँ आफै लेखेर देखा न, बडो अर्काले लेखेको कृतिलाई झुर भनिबस्छ !’
यहाँ समीक्षको पक्षपोषण गर्दै लेखकसँग चर्काचर्की गर्न खोजेको होइन । बरु बुझ्न÷बुझाउनचाहिँ के जरुरी देखेको हो भने समीक्षा पनि कुनै कृति या रचनाको अन्तर्यभित्र पसेर लेखिने एक किसिमको निबन्धात्मक विश्लेषण हो । समीक्षकका लागि ‘न्यूनतम योग्यता’ वा ज्ञान पनि त आवश्यक होला । तर, हाम्रोमा त्यो प्रचलन नै छैन । विश्लेषण गर्नका लागि ज्ञान र शिल्प दुवै आवश्यक हुन्छन् । धारिलो र तीक्ष्ण दृष्टिले समाजसापेक्ष ढंगमा विश्लेषण गर्न जरुरी हुन्छ । अझ कृतिभित्रको ‘हिडन’ पावरबारे समेत पाठकलाई सूचना दिनु जरुरी छ । ‘लिखित’ सन्दर्भले प्रक्षेपण गरेको ‘अलिखित’ सन्दर्भको दृष्टि पक्रने चक्षु हुनुपर्छ समीक्षकमा । त्यसका लागि पठन पनि विशिष्ट र गम्भीर हुनुपर्छ । यी सबै कुरा नभएका ‘महरू’ पनि समीक्षक ?

साहित्यिक पत्रिकाका सम्पादकलाई कसैले ल्याङल्याङ ग¥यो भने सम्पादकको पहिलो प्रस्ताव हुन्छ, ‘कविता छ ?’ ‘छ’ भन्यो भने ल्याङल्याङकर्ता सीधै लेखक बनिहाल्यो । छैन भन्यो भने सम्पादकले ¥याकबाट भर्खरै प्रकाशित पुस्तक निकालेर हातमा थमाइदिँदै भनिदिन्छन्– ‘त्यो किताब समीक्षा लेखेर ल्याऊ ।’ यसो गरेर रहरै रहरमा समीक्षक जन्माइदिन्छन् सम्पादक, अनि कसरी स्तरीय समीक्षा आओस् । हरेक बिहानीले शुभदिनको संकेत गर्छ भनिन्छ । यस्तो चिनापर्चीको हुस्सुले छोपेको समीक्षाको आकाशमा ‘सौन्दर्य’ को ज्योतिसहितको आलोचक र आलोचना जन्मिनु पनि त आफैमा कष्टकर छ । जब पत्रिकामा दुई–चार पटक उसको फोटो छापिन्छ तब ‘अघाएर’ आफ्नै पेशामा फर्कन्छ ऊ, कि अर्को सिर्जनात्मक भनिएको साहित्यक विधामा हामफाल्छ । जब अलिअलि लेख्न जान्ने हुन्छ त्यतिबेला उसले समीक्षा लेख्नै छोडिसकेको हुन्छ ।

समीक्षा जुन विधाको लेखिएको हो त्यसमा आलोचकको आफ्नो दख्खल अति आवश्यक छ । संसारका विशेष साहित्यिक उपलब्धि आर्जेका देशमा ‘समीक्षकले त्यस विधाका एक–दुई सिर्जना आफै गरेका हुनुपर्ने मापदण्ड छ’ भन्ने गरेको पनि सुनिन्छ । यसबाट बुझिन्छ आलोचक स्वयंले पनि लेखकको धर्म निर्वाह गरेको छ । यसो गर्दा कृतिको वस्तुतामाथि न्याय हुन जान्छ । तर, हाम्रोमा ‘निकट मण्डली’को चियासम्बन्धका आधारमा ‘रिभ्यु’ लेखिदिने प्रचलन जिउँदोजाग्दो छ । कविले उपन्यासको समीक्षा लेखिरहेको हुन्छ, निबन्धकारले कथाको । यसो गरेपछि समीक्षामा कसरी न्याय हुन्छ त ? सबै विधाका आआफ्नै चिनारी र धर्म हुन्छन्, जो अन्य विधाका तुलनामा नितान्त भिन्न पनि हुन सक्छन् । ती पहिचान इतिहासँग जोडिएका हुन्छन् । कलाको परख गर्नु सजिलो छैन । बोधको चरण, ग्रहणको चरण, निक्र्योलको चरण पार गरिसकेपछि मात्रै पाठकले आलोचनात्मक दृष्टिकोण निर्माण गर्ने सामथ्र्य राख्छ । तबमात्र ‘समीक्षा’ लेख्न आवश्यक मानसिकता तयार हुन्छ । तर, हाम्रोमा विधासचेत र विषयविशेषको ज्ञानका आधारमा आलोचना गर्ने परम्पराको त जन्म नै भएको छैन ।

नेपाली साहित्यजगत्मा समीक्षा कि ‘गालीगलौज’लाई मानियो, कि त ‘तारिफगिरि’लाई ! परम्परासचेष्ट ज्ञानका आधारमा तुलनात्मकरूपमा लेखकहरूको सामथ्र्य खुट्याउने कामै गरिएन । एकाथरिले भानुभक्त र लक्ष्मीप्रसादको पदचापको ‘नक्कल’ सतीदेवीको ‘लास’ शिवजीले बोकेजसरी बोकी हिँडेर गरे, अर्काथरिले रिमाल र भूपिको ‘मन्त्र–माला’ जपेर हिँडे । अरु लेखकलाई माथि भनिएका महान् हस्तीको साक्ष्यमा दाँजेर हेर्ने पाठक वा समीक्षकलाई दिमाग खुस्किएसरहको ‘मगजहारा’ ठान्ने प्रवृत्ति मौलायो । यसो हुँदा कहिल्यै पनि इतिहासतिर फर्किएर हेरिएन र वर्तमानको उचित तौल नापिएन । वर्तमान विगतको तुलनामा ख्याउटे ‘हवल्दार’ सावित भइरह्यो । वस्तुवादिताको कुनै अर्थ रहेन, बरु ‘बडाभक्ति’को सेपमा समीक्षा च्यापिइरह्यो ।

समीक्षकले त एकअर्काको साक्ष्यमा काव्यात्मक मूल्य पर्गेल्न सक्नुपर्छ । रचनाको गुण–दोष केलाउन सक्नुपर्छ । यसो गर्न पनि सजिलो छैन । सबै किताबमा गुण–दोष ‘सरोबर’ हुँदैनन् । कतिपय किताब त केवल ‘पाताभरुवा’ मात्रै पनि हुन्छन् । यस्ता स्तरहीन पाताभरुवा किताबलाई आँखा चिम्लिदिने हो र ‘डम्प’ गर्ने साहस गर्ने हो भने पनि केही स्तरीयता आउन सक्थ्यो । तर, के छ भने कोही रक्तनाता वा मित्रनाताभित्र पर्ने आफन्तको किताब छ भने त्यही पाताभरुवा वा ‘झुर’लाई पनि ‘महान्’ भन्ने संस्कार त नेपाली साहित्यबजारको पर्याय नै भएको छ । सिंगो साहित्यबजार यस्तो आफन्तवादको दलदलमा फसेको नदेख्ने लेखकले समीक्षकलाई सत्तोसराप गर्नु बौद्धिक अश्लीलता हो । र, यो पनि छताछुल्लजस्तै छ पछिल्लो समय । यस्तो अवस्थामा समीक्षक ‘विचरो’ हुन पुग्छ । के गरोस् त्यतिखेर उसले खोलाको उल्टो दिशामा बग्ने ‘नाउ’को नियति निम्त्याउने आँट कसरी गरोस् ?

नेपालमा लेखकको तुलनामा समीक्षकको संख्या अत्यन्तै न्यून छ । सधैँ समीक्षामात्रै लेख्ने समीक्षक त हातको औँलामा पनि भरिन्नन् । (यहाँ विश्वविद्यालयका जर्नलमा सूत्र–समालोचना लेखनभन्दा फरक अर्थ लागोस्) निरन्तर कथा, कविता, निबन्ध, उपन्यास, गजल, आत्मसंस्मरण÷आत्मकथा लेखिरहेका सक्रिय लेखक हजारौँ छन् । साँच्चै भन्नुपर्दा समीक्षकको छवि बनाएका चाहिँ जम्मा ‘सौ–पचास’मात्र होलान् । हजारौँमध्येबाट दुःखले ‘बीस–पचास लेखक’ले साहित्यको समृद्ध परम्पराका ‘पहाड’ धानेका होलान् । अब ती अनिकालका बीउ ‘सौ–पचास’ सबै समीक्षक नै स्तरीय भइदिनुपर्ने ? यो कति निर्लज्ज प्रश्न ? आफूले महाझुर लेखेर कागज नास गरेको नदेख्ने लेखकले समीक्षा झुर लेख्यो भन्नुजति लाजमर्दो के होला र ? समीक्षा लेखेको भरमा लेखकीय मर्यादा शुद्ध नपाउने भएपछि यो फल नलाग्ने ‘गालीवृक्ष’ गोडेर के बसून् त समीक्षकहरू ?

नेपाली समीक्षा ‘अतिवादी’ परम्पराले आक्रान्त छ । खोल छामेर र विभिन्न प्रलोभनलाई स्वीकार गरेर वाहवाही गर्न पल्किएका समीक्षकहरू जस्तासुकै पुस्तकमाथि पनि भजनकीर्तन गर्छन् । उनीहरूका नजरमा आफ्ना ‘इष्टदेव’मा एकरत्ति पनि कमजोरी हुँदैन । उनीहरू नै समग्र नेपाली साहित्यको ‘भार थेग्ने’ उत्तरआधुनिक देवकोटाहरू हुन् । उनीहरूले लेखक बनाइदिएकाहरू नै अहिले बजारका ‘हिट’ हुन् भन्ने भ्रमले चुलिएको छाती देख्दा लाग्छ उनीहरू नै समीक्षाका सगरमाथा हुन् । यस प्रवृत्तिको पक्षपोषण गर्नेमा त्रिविका कतिपय प्राध्यापक–डाक्टर (भाषा–साहित्य, अंग्रेजी–नेपाली) पर्छन् । हरेक लेखक र लेखन÷रचनामा शक्ति तथा सीमा दुवै हुन्छन् । (त्यो यसै आलेखको र पंक्तिकारको हकमा पनि लागु हुन्छ नै) समीक्षा त शक्तिहरूको आडमा सीमा सुधार्ने सुझावसहितको वस्तुनिष्ठ विश्लेषण हो भन्ने सामान्यज्ञान यस प्रभृत्तिका समीक्षकमा छैन । आधाभन्दा बढीसँग त सारांश खिच्नेभन्दा उपल्लो चेत नै छैन (यसभित्र म आफै पनि पर्न पाउँछु ।) । कवि, कथाकार, उपन्यासकार हरि अधिकारी त साहित्यजगत्का समकालीन समीक्षकमध्येका डरलाग्दा हतियारधारी मानिन्छन् । उनका धारिला शब्दले धेरै लेखकका किताब ठहरै भएका छन् भन्ने भ्रम पनि छ बजारमा । अधिकारीकै किताबको विमोचनमा वक्ताका रूपमा उभिएका नारायण वाग्लेले भनेका थिए, ‘हरि दाइको तरबारको प्रहारले मलाई पनि छोडेन ।’

तर, यो पनि अांशिक सत्यमात्रै हो । अधिकारीले ‘लेख्नै जान्दैन’ भनेका लेखकहरू अहिलेको नेपाली साहित्यिक बजारका ‘सेलिब्रेटी’ बनेका छन् । यसले के प्रष्ट हुन्छ भने ‘अति प्रशंसक’हरूले बोक्दैमा महान् र ‘अति निन्दक’हरूले ठोक्दैमा ‘नकाम’ हुँदैन । छर्लंग छ नेपाली समीक्षाका यी दुवै प्रवृत्ति ‘वस्तुसापेक्ष’ होइनन् । आग्रह–पूर्वाग्रहबाट ग्रस्त मनोग्रन्थीका ‘निकास’ मात्रै हुन् । यी पाराका समीक्षाले ‘कृति’माथि कदापि न्याय गर्दैनन्, गर्न सक्दैनन् ।

नेपाली साहित्यमा पनि ‘डन’हरूको दुनियाँकै ‘ग्याङवृत्ति’ हावी छ । बस हातमा लठ्ठी र खुकुरीचाहिँ छैन । तर, चिन्तनमा ‘डनहरू’को जत्थाभन्दा माथि नेपाली साहित्य उठ्नै सकेको छैन । एउटा ‘क्लब’को लेखकले अर्को ‘क्लब’को समीक्षकलाई ‘कपुरी क’ नचिनेको औँठाछाप सम्झिन्छ । त्यसैगरी अर्को क्लबको समीक्षकले फरक क्लबको लेखकलाई ‘भित्तेलेखन’को अभियन्तामात्रै ठान्छ ! समकालीनताको बोधसमेत नभएका औँठाछापसँग इतिहास सचेष्ट साहित्यिक परम्पराको ज्ञान हुन्छ भन्ने ठानेमा ठान्ने मान्छे नै मुर्ख हो । ‘पढ्यो–पढ्यो पाठ, सोह्र दुना’को गणितीय पठनवृत्ति छ लेखक÷समीक्षकमा । सीमित घेराभित्र रिङिरहेको साहित्यको प्रवृत्तिबाट समीक्षक पनि फुत्किन सकेका छैनन् । ‘सर्कल’को खण्डन ग¥यो कि ‘ग्याङ–आउट’ हुने त्रास बोकेर समीक्षा लेख्न थालेपछि कसरी सही मूल्यांकन होला र ! सही मूल्यांकन गरिहाल्यो भने पनि कि त बोलचाल बन्द हुन्छ कि त चिया÷दारु पसलमा अदालतको ‘कठघरा’ शैलीमा काम्दै स्पष्टीकरण दिनुपर्छ । शारीरिक हमलाको चेतावनी तथा अबदेखि पत्रपत्रिकामा तेरो (समीक्षक) लेखरचना ‘ब्ल्याकआउट’ गरिदिन्छु भन्ने धम्की पनि सामान्य बनिसके । यसलाई ‘विश्वदृष्टि’ वा ‘स्कुल अफ थट’ को श्लील र सभ्य नाम दिएर भाग्ने यत्न गरेर मुक्ति पाइँदैन, महाशय ! समीक्षकले पढ्दा पनि आफ्नो मस्तिष्कलाई सक्रिय पारेरै पढेको हुन्छ । चिन्तनको दायरा त समीक्षकमा मात्रै किन ? लेखकमा पनि फराकिनु जरुरी हुन्छ । ‘विश्वदृष्टि’को नाममा ‘ग्याङ चाकरी’ नरोकेसम्म न्यायिक समीक्षा आउने सम्भव छैन ।

समीक्षक हुनुभन्दा अघि त ऊ पाठक हो । पठनचेत÷पठनवृत्ति वा पठनधैर्य नै कति छ हामीमा ? साँझ–बिहान चलाउने मारबाट बचेको समय परिवारलाई दिनु कि किताबलाई ? यस्तो सकसपूर्ण अवस्थामा समातेका किताब पनि कतिखेर पाना पल्टाउँ भन्ने कुराले समीक्षाको शक्ति निर्धारण हुन्छ । कतिपय अवस्थामा त अर्काले पहिले लेखिभ्याउँछ भन्ने हतारोका कारण रातारात लेखिटोपल्ने हुँदा राम्रो किताबको समीक्षा राम्ररी नआएको पनि जगजाहेर नै छ । पढ्न पनि फड्का मार्नुपर्ने बाध्यता यो हतारोको खराब पक्ष हो । यो खराबीले कृतिको महत्तालाई खरानी बनाइदिन्छ । पर्खीपर्खी अन्य धारणाको ‘पोजिटिभ रिफरेन्स’समेत लिएर समीक्षा गर्नुपर्नेमा ‘फस्ट’ हुने लालसाले कृतिको मर्ममाथि ठाडै लात मारिन सक्छ । यसो गर्न सक्दा समीक्षकले आफ्नो कमजोरीका कारण पाठकलाई दिक्क बनाउने खतराबाट जोगिने मौका पाउँछ ।

लेखन होस् या अन्य क्षेत्र, बौद्धिक र प्राज्ञिकरूपले सुरक्षाको प्रत्याभूति हुनु जरुरी छ । झन् कलमजीवीहरूले त आफूलाई सुरक्षित ठान्ने सामाजिक ‘वातवरण’ सिर्जना हुनुपर्छ । समीक्षा लेखनमा त यो सुरक्षाको प्रत्याभूति गर्ने अवस्था नै छैन । चिया–चमेनाका अड्डादेखि सार्वजनिक सभा–समारोहमा पनि कुनै एउटा समीक्षाको विषयमा नकारात्मक टिप्पणी र चासो भएको देखिन्छ । त्यसमाथि जुुन कृतिमाथि समीक्षा लेखियो त्यस कृतिका लेखक र लेखकका आसेपासे (ग्याङ, सिन्डिकेट)ले समीक्षकको खोइरो खनेका उदाहरण हेर्न टाढा जानुपर्दैन । लेखकले किताबभरि झुटको पुलिन्दा तयार गर्दा पनि हुने, तर समीक्षकले एउटा सानो कमजोरी गरे भने ‘मण्डली’ नै खनिने क्रम नरोकिएसम्म समीक्षकले निर्भिकतापूर्वक किताबमाथिको ‘ठोस’ र ‘वस्तुनिष्ठ’ धारणा राख्न सक्दैन । एकाध समीक्षकले निर्भिकतापूर्वक लेखे पनि ती निकट भविष्यमा नै थाकेर बिलाउने वा कतै हराउने अथवा विधा परिवर्तन गर्ने निश्चित छ ।

अधिकांश पत्रिकामा पारिश्रमिक बाहिर नजाओस् भनेर ‘हाउस’भित्रकै पत्रकारमार्फत् समीक्षा लेखाउने परम्परा पनि छ । यसो गर्दा साहित्यभन्दा बाहेकको ‘बिट’ हेर्ने मान्छेले साहित्यमाथि न्याय गर्न सक्छन् कि सक्दैनन् भन्नेतिर सरोकारवालाहरूको ध्यान गएकै छैन । ती ‘पत्रकारिता’ गर्ने साथीहरूलाई त के भनौँ ? हातमा डाडुपन्युँ लिएकाहरूकै कमजोरी हो यो । यो नीति नै ठीक छैन । यसले समीक्षालाई न त बलियो पार्न मद्दत हुन्छ न त विश्वसनीय नै बनाउँछ ! गल्ती गर्नेको जति नै दोष गराउनेको पनि त हुन्छ । ‘समीक्षा गर्ने हो कि गराउने’ भन्ने कुराको निक्र्योल नभएसम्म यसको निकास पाउन सम्भव छैन । ‘सूचना सम्प्रेषण’ र ‘आलोचना’ फरक बौद्धिक–प्राज्ञिक क्षमता भएका मानिसले गर्नुपर्ने हो । हाम्रोमा एउटा मान्छेले दसथरि कुरा लेख्ने काम गर्छन् र किताबको समीक्षा पनि तिनैले गरेको देखिन्छ । साहित्य ‘समीक्षा’ पनि त एउटा ज्ञानमूलक ‘बिट’ नै होला भन्ने ख्याल नगरिएकाले यस्तो अवस्था आएको हो । ठूला आकारका तथा व्यावसायिक प्रकाशन गृहले पुस्तक समीक्षाका निम्ति छुट्टै विभाग खडा गरेर त्यसको जिम्मेवारी जाने–बुझेको व्यक्तिलाई दिन सक्दा सप्ताहन्तमा साहित्यका लागि पृष्ठ छुट्याउनुको अर्थ रहन्छ । अन्यथा, पाना भर्नुबाहेक केही हुँदैन ।

समीक्षा प्रायः दैनिक पत्रिकाका ‘परिशिष्ट’ अंकमा छापिन्छन् । या साप्ताहिक÷मासिक म्यागेजिनहरूमा । समीक्षकलाई ‘एक हजार शब्दमा नबढाइ समीक्षा लेख्नु’ भन्ने उर्दी जारी गरिएको हुन्छ । लाख बढी शब्दको किताबको हजार शब्दमा  समीक्षा लेख्नुपर्छ । यस्तो पाराले के ‘मूल्यांकन’ सम्भव छ ? यो सिर्जनात्मक र रचनात्मक विधा सोचेको भए सम्पादकद्वारा ‘शब्दसीमा’ तोकिन्थ्यो ? ‘जब’ शब्दमा नै सीमा छ भने समीक्षामा किन सीमा नहोस् । यसो विचार गरौँ त । के निबन्धका शब्द सीमा तोकिएको भए नेपाली निबन्ध पनि ‘एसएलसी’मा लेखिने ‘गाई’को निबन्धभन्दा गतिलो हुन्थ्यो होला र ? अन्य विधाको पनि त त्यस्तै हालत हुन्थ्यो नि !

आखिर समीक्षा पनि घुमाइफिराइ निबन्धकै एउटा रूप हो । लेखनी र वैचारिकताका हिसाबले यो निबन्धसँग नजिक रहेको देखिन्छ । जसरी समाज ‘अस्वस्थ’ भएमा लेखकले त्यसमा विद्रोह गर्छ, त्यसरी नै समीक्षकले किताब ‘अस्वस्थ’ भएमा किताबको खण्डन गर्छ । यत्ति कुरा लेखकले विचार पु¥याएर लेख्ने हो भने लेखक–समीक्षकबीचको दूरी अवश्य कम हुन्छ ।

हालसाल ‘म’हरूद्वारा लेखिने समीक्षा केवल पाठक टिप्पणी हुन्, ती कुनै पनि कोणबाट समीक्षा होइनन् । समीक्षामा कृतिको गहनताबोध गरिएको हुनुपर्छ, समीक्षक आफै कृतिभित्र इमानदारीपूर्वक प्रवेश गरेको हुनुपर्छ तथा समीक्षण गरिएको किताबका कृतिकारको पूर्व योगदानबारे केही ज्ञान हुनु जरुरी हुन्छ । कतिपय अवस्थामा त समीक्षकले लेखकको पेशा–व्यवसाय, आम्दानीको सीमाजस्ता कुरामा समेत ध्यान दिन सक्नुपर्छ । किनकि, लेख्ने भनेको आफूले देखेको, भोगेको र सुनेको कुरा नै हो, वरिपरिको समाज र समय नै हो । लेखक र लेखनसँग सम्बन्धित अन्तर्वस्तुको छिपछिपे तलाउमा तैरनु भनेको ‘समीक्षा गर्नु’ होइन, इतरधारको लेखकसँगको ‘इबी साँध्नु’ समीक्षा होइन । समीक्षा त रचनाभित्रका ‘चिज’ र ‘नाचिज’को सांगोपांगो विश्लेषण हो ।

हो अरुण सर, हो डियर रोबर्ट, हो राजेन्द्र दाइ, हो राजन दाइ !

नेपालमा समीक्षकले विश्वास कमाएका छैनन् । जुन दिन तिनले झुरलाई झुर भन्न पाउँछन्, त्यो दिन राम्रो समीक्षा लेख्लान् । समीक्षा लेखेकै बलमा ‘लेखक’मा ‘दर्ज’ भइन्छ भन्ने आशा पलाएमा इमानदारी पनि देखाउलान् । जुन दिनसम्म पाठकमाझ लेखकको ‘आत्मरति र सिन्डिकेटे प्रचार’ हाबी हुन्छ, त्यस दिनसम्म समीक्षकले केही बोल्नुपर्दैन । लेखकले आफ्नो प्रशंसाको आत्मगान आफै गरिहिँड्छन् ।

प्रकाशित: २५ भाद्र २०७३ ०४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App