१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘व्यापार युद्धले कसैलाई राम्रो गर्दैन’

ठूलो अर्थतन्त्र भएका विश्वका २० राष्ट्रको बैठकका लागि अर्जेन्टिनाको राजधानी ब्युनस आयर्स पुगेका अमेरिकी अर्थमन्त्री स्टिभन मनुसिन (बायाँ) र फ्रान्सेली अर्थमन्त्री ब्रुनो ली मायर । तस्बिर :एजेन्सी

पेरिस– फ्रान्सेली अर्थमन्त्री ब्रुनो ली मायरले अमेरिका र युरोपेली राष्ट्रबीचको व्यापार युद्धले कसैलाई पनि राम्रो नगर्ने बताएका छन्।

उनले अमेरिका र युरोपेली राष्ट्रबीच व्यापार युद्ध जारी नै रहेकोले यसले विश्वको अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनीसमेत दिएका छन् । ठूलो अर्थतन्त्र भएका विश्वका २० राष्ट्रका अर्थ तथा वित्त मन्त्रीको अर्जेन्टिनामा शिखर बैठकको तयारी भइरहेकै बेला फ्रान्सेली अर्थमन्त्रीले व्यापार युद्धले विश्व अर्थतन्त्रमा नकारात्मक असर पर्ने चेतावनी दिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

    ‘दुवै पक्षले तलमाथि नगर्ने र अहिलेकै अवस्थाबाट अघि बढ्ने हो भने यसले कसैलाई पनि राम्रो गर्दैन,’ अमेरिका र युरोपेली राष्ट्रबीचको व्यापार युद्ध अहिले आएर वास्तविकता भइसकेको बताउँदै अर्थमन्त्री मायरले जनाए । अमेरिकाले एकतर्फी रूपमा कर (ट्यारिफ) लगाउँदा यस्तो समस्या भएको उनको जिकिर रहेको छ ।

अमेरिकाले लिएको व्यापारको वर्तमान नीति एउटा मिचाहा प्रवृत्तिको भएको र यसलाई सभ्य नभएर जंगली कानुनका रूपमा हेर्नुपर्ने आरोप पनि अर्थमन्त्री मायरले लगाएको एएफपीले जनाएको छ । अर्थमन्त्री मायरले विश्वमा अहिलेको अवस्था झनै सौहार्द हुनुपर्ने भन्दै एकतर्फी र निरंकुश पाराको व्यापार हुन नसक्ने बताए ।

 अमेरिकाले लिएको व्यापारको वर्तमान नीति एउटा मिचाहा प्रवृत्तिको भएको र यसलाई सभ्य नभएर जंगली कानुनका रूपमा हेर्नुपर्ने आरोप पनि अर्थमन्त्री मायरले लगाएका छन् ।

उनले कुनै पनि देशले आफैले आफू अनुकुलको कानुन बनाएर एकतर्फी रूपमा कर वृद्धि गर्न नपाउनेसमेत ठोकुवा गरेको एएफपीले जनाएको छ । फ्रान्सेली अर्थमन्त्री मायरको भनाइलगत्तै अमेरिकी अर्थमन्त्री स्टिभन मनुसिनले अमेरिकाले लिएको वर्तमान कर नीतिको बचाउ गरका थिऐ । उनले युरोपेली संघ र चीनलाई स्वतन्त्र प्रतिस्पर्धाका लागि बजार खुल्ला राख्न आग्रहसमेत गरेको एएफपीले जनाएको छ।

यस नीतिको कडा रूपमा बचाउ र प्रतिवाद गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकाले चाहेको स्वतन्त्र र समृद्ध व्यापारका लागि युरोपेली संघ एउटा अस्थिरता भएको गत साता मात्रै बताएका थिए ।राष्ट्रपति ट्रम्पले चीनबाट अमेरिका पुग्ने कम्तीमा पनि पाँच सय अर्ब डलर बराबरका सबै सामानमा अहिलेकै नीति बमोजिम नै थप कर लगाउने चेतावनी पनि गत साता दिएका थिए ।

उनको यस्तो अभिव्यक्तिपछि युरोपेली संघ र अमेरिका तथा चीनबीच पछिल्लो समयमा सुरु भएको व्यापार युद्धले थप वैधानिकता पाएको अमेरिकी अधिकारीले बताएका छन् ।    चीन र युरोपेली संघ दुवैसँगै अमेरिकाले ठूलो व्यापार घाटा बेहोर्दै आएको उसले बताउने गरेको छ । हाल युरोपेली संघमा २७ राष्ट्र सदस्य रहेका छन् । अर्जेन्टिनाको ब्युनर्स आयर्समा आयाोजना गर्न लागिएको सम्मेलनमा ठूलो अर्थतन्त्र भएका विश्वका २० देशका अर्थमन्त्री, वित्तमन्त्री र बैंकर भेला हुने भएका छन् ।

युरोपेली संघआबद्ध राष्ट्र र चीनले अमेरिकाले स्टील र आल्मुनियममा लगाएको कर फिर्ता लिन बारम्बार आग्रह गर्दै आएका छन् । युरोपेली संघले त यो नयाँ कर फिर्ता नलिएसम्म युरोपेली युनियनले अमेरिकासँग स्वतन्त्र व्यापारका विषयमा वार्तामा पनि नबस्ने अडान लिँदै आएको छ । तर अमेरिकाले भने युरोपेली संघ र चीनसँग यस विषयमा नझुक्ने बताएको छ । उसले पछिल्लो करको बारेमा कुनै छलफल पनि गर्न नचाहेको बताएको छ । अमेरिकाले युरोपेली संघ, मेक्सिको, क्यानडा र चीनबाट गरिने स्टील र आल्मुनियमको आयातमा नयाँ तर बढी कर लागू गरेको छ ।

    उसले स्टीलको आयातमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत कर लगाएको छ । अमेरिकाको उक्त कदमबाट युरोपमा रहेका कतिपय अमेरिकी साझेदार प्रभावित भएका छन् । यस कदमको युरोपेली संघ, चीन, मेक्सिको र क्यानाडाले पनि विरोध गर्दै आएका छन् ।

साथै उनीहरुले अमेरिकाको यस्तो कदमको विरुद्धमा आफूहरूले पनि कदम चाल्ने चेतावनी दिँदै आएका छन् । सोही विरोधस्वरुप कतिपयले आफ्नो देशमा उत्पादन भएका सामान अमेरिका निर्यात गरेका छैनन् भने कतिले अमेरिकाको सामान पनि आयात गरेका छैनन् । विश्वका आर्थिक क्षेत्रका कतिपय सरोकारवालाले भने यो अवस्थाले विश्वको अन्य क्षेत्रको अर्थतन्त्रमा पनि असर पर्ने भएकोले पछिल्लो यो असहमतिलाई व्यापार युद्धका रूपमा अघि बढ्न दिन नहुने बताउँदै आएका छन् ।

 

प्रकाशित: ७ श्रावण २०७५ ०५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App