१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

महत्वाकांक्षी क्रिकेट प्रतियाेगिता असाेजमा

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को निलम्बन यथावत रहे पनि महत्ववाकांक्षी घरेलु क्रिकेट अर्को महिना हुने भएको छ।

झन्डै तीन वर्षअघि एनपिएल आयोजना गरेको जोहरा स्पोर्टस म्यानेजमेन्ट (जेडएसएम) ले नयाँ नामका साथ ट्वान्टी–२० क्रिकेट आयोजना गर्ने भएको छ । चौधरी ग्रुपको मुख्य प्रायोजनमा वाइवाइ प्रिमियर लिग (इपिएल) नाम दिइएको प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा असोज ८ देखि १७ सम्म हुनेछ । १० दिने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीले मात्र झन्डै ५४ लाख रुपैयाँ म्याच फि पाउने राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

तीन वर्षअघि धनगढीमा भएको एनपिएल खेलेकै ६ टोलीले यसपटक इपिएलमा प्रतिस्पर्धा गर्ने जेडएसएमका आमिर अख्तरले जानकारी दिए । व्यावसायिक समूहले प्रायोजन गरेका ६ टोलीमा पञ्चकन्या तेज, कलर्स एक्स फ्याक्टर, विशाल ग्रुप वारियर्स, कान्तिपुर गोर्खाज, जगदम्बा राइनोस र सगरमाथा लिजेन्ड्स छन् ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित शीर्ष खेलाडीले फरक टोलीको नेतृत्व गर्नेछन् । पारस विशाल ग्रुप र ज्ञानेन्द्र कलर्स एक्सको कप्तान हुने छन् । ५० ओभरको एनपिएलको विजेता टोली पन्चकन्या तेजको कप्तानी शरद भेषावकरले गर्ने छन् भने वसन्त रेग्मीले कान्तिपुर गोर्खाजको नेतृत्व लिनेछन् । शक्ति गौचनको कप्तानीमा जगदम्बा राइनोज र सगरमाथा लिजेन्ड्स विनोद भण्डारीको नेतृत्वमा उत्रनेछ ।

प्रायोजन रकमबारे जानकारी नदिए पनि दुवै पक्षले क्रिकेट विकासका लागि सहकार्य लामो समयसम्म रहने विश्वास व्यक्त गरे । जेडएसएमका अख्तरले भने, ‘हामी अर्को वर्ष ६ टिमबाट बढाएर ८ टिम गर्नेछौं । खेलाडीको ‘अक्सन’ पनि गर्नेछौं । अहिले नै यति वर्षसम्म हामी सँगै काम गर्छौं भन्न कठिन भए पनि हाम्रोबीचमा लामो सहकार्य रहनेछ ।’

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले वाइवाइ झन्डै दशकदेखि क्रिकेटको साथमा रहेको चर्चा गर्दै भने, ‘नेपाली क्रिकेट विकासका लागि हामी आफ्नो ठाउँबाट सहयोग गर्न तयार छौं । इपिएलले नेपाली क्रिकेट विकासमा सहयोग पुग्नेमा हामी आशावादी छौं ।’

नेपालको घरेलु क्रिकेट आयोजना नभइरहेको अवस्थामा इपिएल आयोजनाले सकारात्मक सन्देश जाने र दर्शकले प्रतिस्पर्धात्मक क्रिकेट हेर्न पाउनेमा सहभागी टोली आशावादी छन् । सगरमाथा लिजेन्ड्सका आदित्य सागाईले भने, ‘खेलकुदले देशलाई एकताको सूत्रमा जोड्ने काम गर्छ । इपिएलमा पनि हामी एकअर्कासँग प्रतिस्पर्धा गर्छौं । त्यस बाबजुद यसले नेपालको क्रिकेट विकासमा सहयोग पुग्नेछ ।’

राष्ट्रिय कप्तान पारसले इपिएलले घरेलु क्रिकेटलाई थप उचाइँमा पु¥याउने विश्वास व्यक्त गरे । ‘अढाई वर्षदेखि घरेलु प्रतियोगिता हुन सकेको छैन । नेपाली क्रिकेटलाई यस्तो प्रतियोगिता आयोजना जरुरी थियो,’ उनले भने, ‘यो प्रतियोगितामा प्रायोजना गर्न जति पनि कम्पनीहरू तयार हुनुभएको छ त्यसका लागि हामी धन्यवाद दिन चाहन्छौं । यसले घरेलु दर्शकमा सकारात्मक सन्देश जानेछ ।’

चौधरी ग्रुपका उपाध्यक्ष जिपी शाहले इपिएललाई नयाँ यात्राको सुरुआतमा हेरेको र त्यसमा आफूहरू उत्साहित भएको बताएका छन् ।

विगतमा एनपिएल आयोजनामा केही कमजोरी भएको स्विकार्दै जेडएसएमका अख्तरले भने, ‘विगतमा जे जस्तो भयो, अब हामी नयाँ ढंगबाट अघि बढ्ने प्रयासमा छौं । यसमा सबैको साथ पाएका छौं ।’
एनपिएलमा ५० ओभर, दुईदिवसीय क्रिकेट र ट्वान्टी–२० आयोजना गर्ने बताइएको थियो । तर क्यानसँगको विवाद र अन्य कारणले ५० ओभरको प्रतियोगिताबाहेक अरु हुन सकेन ।

इपिएल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ । हरेक टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्दै एउटा टोलीले कम्तीमा ५ खेल खेल्नेछन् । इपिएलमा जम्मा १६ खेल हुनेछ । राउन्ड रोबिनपछि अंकतालिकाका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

हरेक टोलीका खेलाडीमा अधिकांश पुरानै खेलाडी रहने छन् । कप्तान पारसले भने, ‘हामी सबै पक्ष बसेर छलफल गरेका थियौं । अहिले पुरानै टोली खेल्नेछ त्यसमा हरेक टोलीमा ३–४ खेलाडी नयाँ आउन सक्छन् ।’

सहभागी व्यावसायिक समूहका प्रतिनिधिहरूले इपिएलको सुरआत नेपाली क्रिकेटका लागि सुखद संकेत भएको जनाउँदै प्रतिस्पर्धात्मक खेल हुने आशा व्यक्त गरे ।
 

यस्तो छ म्याच फि

एनपिएलमा भन्दा खेलाडीको म्याच फिमा चार गुणाले वृद्धि भएको जेडएसएमले जनाएको छ । इपिएलमा प्रतिस्पर्धा गर्ने खेलाडीले कम्तीमा ४० हजारदेखि १ लाख २० हजार रुपैयाँसम्म पाउनेछन् ।

आयोजकले इपिएलका सहभागी खेलाडीलाई चार श्रेणीमा विभाजन गरी म्याच फि तोकेको छ ।  हरेक टोलीका कप्तानले प्रतिखेल २० हजार रुपैयाँ पाउने छन् । राष्ट्रिय टोलीबाट कम्तीमा १५ अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गरेका खेलाडीले एक खेल बराबर १५ हजार प्राप्त गर्नेछन् भने यु–१९ विश्वकप टोलीका सदस्यले १२ हजार रुपैयाँ पाउने छन् । बाँकी खेलाडीले भने हरेक खेलवापत ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

घरेलु क्रिकेटमा खेलाडीले म्याच फिवापत पाउने यो अहिलेसम्मकै ठूलो रकम हो । खेलाडीले प्रतियोगिताअघि ६० र पछि ४० प्रतिशत पाउने बताइएको छ । ‘आयोजक, प्रायोजक र हामी खेलाडीको प्रतिनिधि बसेर खेलाडीको म्याच फिबारे सहमति गरेका हौं,’ विशाल ग्रुपका कप्तान पारसले भने, ‘हाम्रो मुख्य चासो भनेको खेलाडीले पाउने रकम विगतमा भन्दा वृद्धि हुनुपर्ने भन्ने थियो । त्यसमा उहाँहरू सकारात्मक भएपछि हामी अघि बढेका हौं ।’
 

प्रकाशित: २५ भाद्र २०७३ ०३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App