१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निषेधाज्ञा तोडेर प्रशासन कार्यालयमै तरुण दलको धर्ना

जाजरकोट– अनशनरत  डाक्टर गोविन्द केसीको  समर्थन र शनिबार  आफ्ना नेता तथा कार्यकर्तामाथि काठमाडौंमा प्रहरीले गरेको कुटपिटविरुद्ध आन्दोलन गरिरहेको नेपाल तरुण दलका कार्यकर्ताहरुले जाजरकोटमा  स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेका छन्।  

जिल्ला प्रशासन कार्यालयले विरोधका कुनैपनि कार्यक्रम, सभा, भेला गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको स्थानमै तरुण दलका नेता कार्यकताहरुले धर्ना तथा प्रदर्शन गरेका हुन्। सरकारले असंवैधानिक कार्यहरु गर्दै गएको, अनशनरत डाक्टर गोविन्द केसीको माग पूरा नगरेको, नेपाल टेलिकममा अनावश्यक रुपले कर वृद्धि गरेको, ३३ किलो सुन तस्करको मुद्दा स्थगित गरेको  आरोप लगाउँदै सरकारविरुद्ध आन्दोलनमा रहेको तरुण दलले जाजरकोटमा प्रदर्शन गरेको हो। प्रशासनले जिल्ला सदरमुकामका तीन वटा सार्वजनिक स्थानमा मात्र कार्यक्रम गर्न पाइने गरी अन्य स्थानमा निषेधाज्ञा जारी गरेपनि तरुण दलका नेता कार्यकर्ताहरुले प्रहरीको अवरोध छल्दै प्रशासन कार्यालयको प्रांगणमा  आधा घन्टा धर्ना दिएका छन्। 

तरुण दलको धर्नामा नेपाली काँग्रेस, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघ लगायतका संघसस्थाले ऐक्यबद्धता जनाएका थिए। स्थानीय  गैरीखालीबजारबाट नारा जुलुससहित  गएका तरुण दलकाका नेता कार्यकर्ताहरुले प्रशासन कार्यालयको गेटमा  प्रहरीले गरेको अवरोध प्रयासलाई विफल बनाइदिएका थिए। प्रहरीको अवरोध  छिचोल्दै उनीहरु प्रशासनको प्रांगणमा प्रवेश गरेर आधा घन्टा  सरकारविरुद्ध धर्ना दिएका थिए। 

धर्ना कार्यक्रममा बोल्दै तरुण दलका जिल्ला अध्यक्ष हरिचन्द्र बस्नेतले  आफूहरुको आन्दोलन रहर नभई बाध्यता भएको बताए। जनताबाट निर्वाचित सरकार जनताकै लागि अहितकर हुँदै गएपछि आफूहरु आन्दोलनमा होमिन बाध्य भएको उनको भनाई थियो।

प्रशासनको निर्णयको कांग्रेसको विरोध

यता कांग्रेस जिल्ला कार्यसमितिले सार्वजनिक भेला आमसभा र विरोधका कार्यक्रमहरु आफूले तोकेको स्थानमा मात्र गर्न पाउने भनी स्थानीय प्रशासनले गरेको निर्णयको विरोध गरेको छ। स्थानीय प्रशासनले सार्वजनिक  कार्यक्रम र शान्तिपूर्ण विरोधका कार्यक्रममाथि प्रतिबन्ध लगाउने उद्देश्यले गरेको  निषेधाज्ञाको निर्णय संविधान विपरीत भएको भन्दै काँग्रेसले निर्णय सच्याउन आग्रह गरेको छ।

प्रकाशित: ६ श्रावण २०७५ ११:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App