१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

करोड लगानीको पशुहाट निर्माण कार्य अलपत्र

निर्माण सम्पन्न नहुँदै अलपत्र पशुहाट ।    तस्बिरः भगिश्वरनागरिक

तेह्रथुम – तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नम्बर ६ मा निर्माणाधिन आम्फुवा पशुहाटको निर्माण कार्य अलपत्र भएको छ। स्थानीय कृषकहरूले पालेका पशुपक्षीलाई बिक्रीका लागि संकलन गर्ने उदेश्यका साथ निर्माण सुरु गरिएको पशुहाटको निर्माण कार्य समितिले राम्रो काम नगरेपछि अलपत्र भएको हो। 

म्याङलुङ नगरपालिका भित्र  सुविधा सम्पन्न पशुहाट निर्माणका लागि नेपाल सरकार पशुसेवा विभाग अन्तर्गत पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय हरिहर भवनको आर्थिक वर्ष ०७३–७४ मा प्राप्त १ करोड अनुदानबाट निर्माण सुरु गरिएको हाटको निर्माण सम्पन्न नभइ अलपत्र परेको हो। 

पशुहाट निर्माण कार्यमा स्थानीयबासीले सहयोग नगर्दा लागत अनुमान अनुसार काम गर्न नसकिएको निर्माण समितिका संयोजक तेजमान कन्दङवाले बताए। उनका अनुसार जिल्लाको विकासका लागी नेपाल सरकारबाट प्राप्त अनुदानले स्थानीय किसानहरुको फाइदाका लागि आम्फुवा पशुहाट निर्माण स्थल बनाउने उदेश्य रहेपनि स्थानीयको अवरोधका कारण निर्माण कार्य अलपत्र भएको हो।

यता स्थानीयबासी वडा सदस्य गणेश सोदेम्बाले भने आयोजनामा सरकारबाट प्राप्त भएको अनुदान दुरुपयोग भएकोले निश्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। नेपाल सरकारबाट किसानहरूको नाममा आएको १ करोड बजेटबाट करिब ४० प्रतिशत मात्र काम गरेर भ्रष्टचार भएको वडा सदस्य सोदेम्बाले दाबी गरेका छन्। 

सरकारबाट १ करोड अनुदान प्राप्त भएपनि स्थानीयको अवरोधका कारण काम गर्न नसक्दा सबै बजेट निकासा नभएको निर्माण समितिले दाबी गरेको छ। स्थानीयस्तरमा निर्माण हुने विकास निर्माणका आयोजनामा जनप्रतिनिधीहरुले समेत असहयोग गरेकोले निर्माण कार्य सन्तोषजनक नभएको स्थानीय सन्तोष थेगुवाले बताए। उनका अनुसार आफ्नो घर नजिकै नेपाल सरकारको यतिठूलो लगानीमा पशुहाट बन्ने आसमा बसेका स्थानीयबासी अहिले काम रोकिएपछि निरास छन्। 

आयोजना स्थलमा अहिले ६ वटा ट्रष्ट र एउटा काउन्टरको लागि अपुरो भवन निर्माण गरिएको छ। पशुहाटको निर्माणका लागि जग्गा समेत खरिद गर्नु परेकोले नेपाल सरकारबाट विनियोजित बजेटले निर्माण कार्य पुरा नभएको निर्माण समितिले जनाएको छ। म्याङलुङ नगरपालिकाको जिरिखिम्ती देखि करिब ५ किलोमिटर दुरीमा रहेको उक्त स्थानमा पुग्न राम्रो सडक नभएका कारण निर्माण सामाग्री ढुवानी गर्न समेत समस्या भएको थियो।

सडक सञ्जलाले छोएको उक्त क्षेत्रमा विकास निर्माण हुने निश्चित भएपनि स्थानीय र उपभोक्ता समितिको जुवारीका कारण निर्माण कार्य अवरुद्ध भएको स्थानीय समाजसेबी सुबिन्द्र थेगुवाले बताए। पशुहाटको निर्माणको जिम्मा अब स्थानीय सरकारले लिनुपर्ने थेगुवाले बताए।  

प्रकाशित: ६ श्रावण २०७५ ०९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App