१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

किसानभन्दा विचौलियालाई फाइदा

इलामको जस्बिरेमा चिया टिप्दै किसान। तस्बिर : भीम/नागरिक

इलाम - चिया उत्पादनमा चौबीसै घन्टा खट्ने किसानभन्दा उनीहरूले नै उत्पादन गरेको चिया किन–बेच गर्ने बिचौलिया सधैं ‘मालामाल’ बनिरहेका छन्। हरियोपत्ती उत्पादन गर्ने किसानले भन्दा उत्पादित हरियोपत्ती किनेर प्रशोधन गरी तयारी चिया बेच्ने उद्योगीले चाहिँ किसानभन्दा दोब्बर आम्दानी लिइरहेका हुन्।

नेपालमा तयारी चिया बिक्रीबाट वर्षमा झन्डै तीन अर्ब रुपैयाँ भित्रिन्छ। तर, किसानले पाउने हरियोपत्तीको मूल्य चाहिँ डेढ अर्ब हाराहारी मात्रै रहेको तथ्यांकले देखाएको छ। केन्द्रीय तथ्यांक विभाग र चिया तथा कफी विकास बोर्डले गरेको अध्ययनअनुसार २०७४ मा चिया खेती हुने नेपालका १४ वटै जिल्लाका किसानले हरियोपत्ती बेचेर एक अर्ब ७४ करोड २२ लाख रुपैयाँ हात पारे। तर, आर्थिक वर्ष ०७४/७५ को पहिलो ११ महिनामै नेपालबाट दुई अर्ब ९१ करोड १८ लाख ३२ हजार रुपैयाँको तयारी चिया निकासी भइसकेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ।

केन्द्रका अनुसार यो अवधिमा नेपालबाट एक करोड ४० लाख ३० हजार किलो चिया निकासी भएको छ। अघिल्लो आव ०७३/७४ मा एक करोड १७ लाख ४५ हजार किलो चिया बेचेर दुई अर्ब ५० करोड २७ लाख रुपैयाँ आम्दानी भएको थियो। नेपालमै खपत हुने तयारी चिया बेचेर पनि उद्योगीले करोडौं रुपैयाँ आम्दानी गरिरहेका छन् । तर, त्यसको ज्यादै सानो हिस्सामात्रै हरियोपत्ती उत्पादक किसानको हातमा पुग्ने गरेको छ।

किसान र व्यवसायीले हरियोपत्ती बेचेर गरेको आम्दानीमध्ये बर्सेनि एक अर्ब १५ करोड ८४ लाख रुपैयाँ चियामा काम गर्ने मजदुरको तलब–भत्तामै खर्च गरिरहेका छन्। र, किसानको अन्य चालू खर्च ४२ करोड १२ लाख ६० हजार रुपैयाँ रहेको विभाग र बोर्डको अध्ययनमा पाइएको छ। चियाको राजधानी मानिएको इलामको सूर्याेदय नगरपालिकाले केही महिनाअघि गरेको सर्वेक्षणअनुसार पनि किसानले प्रतिकिलो हरियोपत्ती उत्पादन गर्दा ३७ रुपैयाँ ३१ पैसा लगानी हुने गरेको पाइएको थियो। सर्वेक्षणपछि नगरपालिकाले हरियोको चियाको मूल्य न्यूनतम् प्रतिकिलो ४० रुपैयाँ कायम गरेपनि नगरका सबै उद्योगमा लागू हुन सकेको छैन।

नगरका आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माले गुणस्तरीय पत्तीलाई उद्योगीले ४० रुपैयाँ प्रतिकिलोभन्दा माथि नै मूल्य दिन सहमति जनाए पनि कम गुणस्तरको चियामा लागू हुन नसकेको बताए। ‘गुणस्तरीय हरियोपत्तीलाई नगरले तोकेको मूल्य दिन उद्योगी तयार छन्,’ शर्माले भने, ‘तर, न्यूनतम् गुणस्तर कायम नभएको पत्तीमा त्यो मूल्य दिन समस्या पनि होला।’ उनले चिया किसानले हरियो पत्तीको उचित मूल्य नपाएकै कारण लगानीअनुसार आम्दानी हुन नसकेको जनाए। ‘म आफू पनि चिया किसान हुँ, ज्यादै बढी लगानी गरेर पनि चियाबाट आम्दानी गर्न सकेको छैन,’ उनले भने, ‘जिल्लाका सबै चिया किसानको गम्भीर समस्या नै यही हो।’

इलाम, पाँचथर, ताप्लेजुङ, झापा, संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, मोरङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर र रामेछापमा चिया खेती हुने गरेको छ। यी जिल्लाका नौ हजार दुई सय ३६ किसान व्यावसायिक चिया खेतीमा आबद्ध रहेको तथ्यांकमा उल्लेख छ। अर्गानिक हरियोपत्ती बेचेर राम्रो आम्दानी हुने भएपनि अर्गानिक बनाउने प्रक्रिया कम्तीमा तीन वर्ष लाग्ने र झन्झटिलो हुने भएकाले अधिकतर किसान ननअर्गानिक चिया नै उत्पादन गरिरहेका छन्।

अर्गानिक चियाको अन्तर्राष्ट्रिय बजार राम्रो भएपनि जिल्लाको सबै चिया अर्गानिक प्रमाणित हुन सकेको छैन। अर्गानिक प्रमाणित नभएको ठूलो परिमाणको हरियोपत्तीमा लगानी नउठेपछि किसान चिया खेतीप्रति नै निरास बन्दैछन्। केन्द्र र बोर्डकै सर्वेक्षण अनुसार ६४ प्रतिशत किसान अहिलेभन्दा चियाको क्षेत्रफल नबढाउने योजनामा छन्। ३२ प्रतिशत किसान चियाखेती बढाउने योजनामा छन् भने तीन प्रतिशत चाहिँ क्षेत्रफल घटाउँदै जाने बताउँछन्। चियालाई रोग–कीराबाट बचाउन सरकारी सहयोग कम भएकाले पनि उनीहरू चियाबाट निरास बन्दै गएको देखिन्छ। अहिले ४८ प्रतिशत किसान चियाको प्राविधिक परीक्षणका लागि निजी क्षेत्रकै प्राविधिक प्रयोग गर्न बाध्य छन्। तथ्यांकअनुसार तीन प्रतिशत किसानले मात्रै कृषि विकास र पाँच प्रतिशतले चिया किसान आबद्ध संस्थाबाट प्राविधिक सल्लाह लिने गरेका छन् । हरियोपत्ती उत्पादन गर्दा मल, सिँचाइ, कटिङ, टिपाइ, औषधि, गोडमेल, लगानीको ब्याज, पारिश्रमिकलगायतमा किसानको लगानी बढी हुने गरेको छ।

सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले चिया मुख्य आम्दानीको स्रोत भएपनि किसानले त्यसबाट लाभ लिन नसकेको बताए। ‘बिचौलियाले लिने नाफा पनि किसानसम्मै पु-याउनेगरी नगरले केही चिया प्रशोधन उद्योग आफैं खोल्ने योजना बनाएर अध्ययन गर्दैछौं,’ उनले भने, ‘यो नगरमा ज्यादै ठूलो संख्यामा रहेका व्यावसायिक चिया किसानलाई कसरी प्रत्यक्ष फाइदा पु¥याउन सकिन्छ, त्यसमा हामीले ध्यान दिएका छौं।’

अर्गानिक चिया उत्पादकले चाहिँ तेस्रो मुलुकसम्म तयारी चिया पु-याएर उच्च मूल्यमा बिक्री गरिरहेका छन् । तर, नेपालमा उत्पादन हुने चियामध्ये ११ प्रतिशतामात्र अर्गानिक छ। तथ्यांकअनुसार ३० प्रतिशत अर्गानिकउम्मुख छ भने ५९ प्रतिशत चिया अहिले पनि परम्परागत रूपमै उत्पादन भइरहेको छ।

प्रकाशित: ६ श्रावण २०७५ ०५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App