१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

पानीपुरी परिकार

ग्राहक : दाइ, पानी पुरी खाम न, एक प्लेट ।

व्यापारी : पिरो कती राखुँ ?

लगनखेलस्थित बानिया पानीपुरी स्टलमा ग्राहक र व्यापारीबीच भएको वार्ता हो यो । शेहेवाज अन्सारी (१८) ग्राहकलाई सोध्दै थिए । उनी ग्राहकको माग अनुसार पानीपुरी बनाइरहेका थिए । बुबा (सेराज एहमद)लाई सघाउन पसल आएको उनले बताए ।

सेराजले पानीपुरीसँगै चाट र चटपटे बेच्न थालेको एक वर्षभन्दा बढी भइसक्यो । पसलमा पाँच स्वादमा पानीपुरी बेच्ने गरेको उनी बताउँछन् । धेरै मानिसहरू पानीपुरीको स्वाद चाख्न आउने गरेको उनको भनाइ छ । ‘पानीपुरी खान रुचाउनेहरूको लागि नयाँ स्वाद दिन खोजेका हौं,’ उनी भन्छन्, ‘हाम्रोमा पानीपुरी खाएपछि अन्त जाँदैनन् ।’

उनी एक प्लेट (६ ओटा) पानीपुरी ३० रूपैयाँमा बेच्ने गरेका छन् । सेराजले पानीपुरीको स्टलसँगै बानिया नन भेज लखनउ बिरयानी पसल पनि सञ्चालन गरेका छन् । उनले बिहान १० बजेदेखि पानीपुरी र चटपटे बेच्न थाल्छन् ।
उनी लखनउबाट यहाँ आएका हुन् । पानीपुरीको व्यापार राम्रो देखेर नै सुरु गरेको उनी बताउँछन् । उनको स्टलमा नेपाली, पाकिस्तानी, बंगाली, बम्बे, लखनउको स्वादमा पानीपुरी पाइन्छ ।

उनी गर्न सक्नेलाई नेपालमै अवसर रहेको बताउँछन् । ‘यहाँका युवा मासिक ३० हजार रूपैयाँ कमाउन खाडी मुलुक जाने गरेका छन् । तर, गर्ने हो भने यही त्यति पैसा कमाउन सकिन्छ,’ उनी भन्छन् । जाँगर चलाए असम्भव केही नहुने उनी बताउँछन् । उनी आफू श्रम र मेहेनतमा विश्वास गर्ने बताउँछन् ।

उनी भूकम्पअघि गार्मेन्टको व्यापार गर्थे । तर, भूकम्प गएपछि उनको व्यापार सबै चौपट भयो । त्यसपछि उनी लखनउ फर्किए । तर, त्यहाँ खाली बस्न सकेनन् । र, पुनः नेपाल फर्किएर पानीपुरी बेच्ने काम थाले ।कम पूँजीमै व्यापार सुरु गर्न सकिने भएकाले पानीपुरी बेच्न थालेको उनी बताउँछन् । उनी भन्छन्, ‘तर, यहाँका मानिसले रुचाउने स्वादबारे खोज गरेको थिएँ ।’ प्रायःले अमिलो स्वाद मनपराउने भएकाले नेपालमा पानीपुरी व्यवसायको सम्भावना देखेको उनी बताउँछन् ।

आफ्नो स्टलमा कलेजका विद्यार्थीको बढी घुइँचो लाग्ने गरेको उनले बताए । ‘कलेज एरिया भएकाले बिहानैदेखि पानीपुरी खान आउने विद्यार्थीको भीड लाग्छ,’ उनले भने । उनी पानीपुरीका लागि आवश्यक सामग्री घरैबाट तयार १० बजे स्टल पुगिसक्छन् । चटपटे र चाटको तुलनामा पानीपुरी खान आउने ग्राहक बढी भएको उनी बताउँछन् । उनीकहाँ ‘नेपाल स्पेसल’, ‘पाकिस्तानी स्पेसल’, ‘बम्बे स्पेसल’, ‘लखनउ स्पेसल’, ‘बंगाली स्पेसल’ स्वादमा पानीपुरी पाइन्छ।
पानीपुरीका विभिन्न प्रकारहरू

‘नेपाल स्पेसल’

‘नेपाल स्पेसल’ पानीपुरीको पानीमा अमिलोको मात्रा धेरै हुने गर्छ । यससँगै धनियाँको पात, धेरै अमिलो र पिरो हुन्छ । यसमा कागती र लप्सीको स्वाद लिन पाइन्छ ।

नेपालीले अमिलो पानीपुरी रुचाउने भएकाले अमिलो स्वादको पानीलाई ‘नेपाल स्पेसल’ नाम दिएको सेराजले बताए । यो अमिलो पानीपुरी खान रुचाउनेको रोजाइमा पर्न सक्छ ।

यो पानीपुरी टिनएजर्सले बढी रुचाउने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘गर्मीमा अल्छी लाग्ने हुुनाले कलेज पढ्नेहरूको भीड लाग्छ ।’ पानीपुरी भन्नेबित्तिकै अमिलो र पिरो भन्ने सोच छ । तर, पानीपुरीको स्वाद आफुलाई मनपर्ने अनुसारको बनाउन सकिने उनी बताउँछन्।

‘पाकिस्तानी स्पेसल’

‘पाकिस्तानी स्पेसल’ पाकिस्तानीले खाने स्वादमा पाइने सेराज बताउँछन् । यसमा पिरो र पुधिनाको स्वाद खान सकिन्छ । पिरो खान रुचाउनेका लागि यो उपयुक्त हुन सक्छ ।

यसमा पाकिस्तानको स्वाद झल्काउने मसलाको प्रयोग गरिने उनी बताउँछन् । उनी भन्छन्, ‘कतिपय मसला पाकिस्तानबाट मगाउँछौं । नपाए आफै पनि बनाउँछु ।’ यो पानीपुरी युवापुस्ताले बढी रुचाउने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘पानीपुरीमा पिरो खान रुचाउनेले यसको अर्डर गर्छन् ।’

‘बंगाली स्पेसल’

‘बंगाली स्पेसल’मा बंगाली स्वादको पानीपुरीको स्वाद खान पाइन्छ । बंगाली स्पेसलमा दही राखिन्छ । यसमा सामान्य अमिलो र पिरो राखिएको हुन्छ ।

यो पानीपुरी पाका उमेरकाले रुचाउने उनी बताउँछन् । उनी भन्छन्, ‘एक जना पाको उमेरको व्यक्ति सधैं ‘बंगाली स्पेसल’ पानीपुरी खान आउनुहुन्छ ।’ सामान्य अमिलो र पिरो भएकाले पाका उमेरकाले यो पानीपुरी रुचाउने गरेको उनको भनाइ छ ।

‘लखनउ स्पेसल’

‘लखनउ स्पेसल’मा इमलीको स्वाद चाख्न सकिन्छ । बोटमा फल्ने इमलीबाट तयार पारिएको पानी धेरैको रोजाइमा परेको व्यापारी बताउँछन् ।

लखनउमा हरेक स्वादमा इमलीको हुने भएकाले इमलीलाई नेपालमा समेत प्रचलित गराउन ‘लखनउ स्पेसल’ पानीपुरी बनाएको उनी बताउँछन् । इमलीको पानी पिउँदा स्वास्थ्यमा हानी नगर्ने उनको भनाइ छ । उनी पानीपुरीको पानीमा केमिकल प्रयोग नगर्ने बताउँछन् ।

‘बम्बे स्पेसल’

‘बम्बे स्पेसल’मा आँपको स्वाद पाइन्छ । पानीपुरीमा राखिने कागतीको ठाउँमा अम्चुरलाई राखेर तयार पारिन्छ । त्यसकारण यो पानीपुरी अन्यभन्दा फरक स्वादमा पाइने उनी बताउँछन् ।

उनका अनुसार आँपलाई नुन र खुर्सानी राखेर सुकाएर तयार पारेको अम्चुरको स्वाद यसमा पाइन्छ । यो पानीपुरी पनि ग्राहकको रोजाइमा परेको उनी बताउँछन् । उनी भन्छन्, ‘तिखो खालको पिरो र अमिलो नखानेहरू यो पानीपुरी रुचाउँछन् ।’ यो पानीपुरी युवाहरूले रुचाउने गरेको उनको भनाइ छ।

प्रकाशित: ४ श्रावण २०७५ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App