१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘अस्थिर राजनीतिले देश बिगार्याे’

नवल खड्का, अभिनेता
तपाईको बिचारमा सहर के हो ?
सहर भनेको जनघनत्व बढी भएको ठाउँ हो । मानिसको बाक्लो बसाई भएपनि सेवा–सुविधा चुस्त पारिएको ठाउँ हो।

घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
नेपालका सबै ठाउँहरुमा अदित्य सौन्दर्यता छ । यहाँका सहरैपिच्छे फरक विषेशता छन् । हिमाल, पहाड र तराईका ठाउँहरुमा फरकपन भेटिन्छ । यहाँका सहरमा अनुपम कला र संस्कृति लुकेका छन् । संसारमा कहीँ नभएको मौलिकता लुकेको छ । मलाई नेपालभित्र जता गएपनि रमणीय र प्यारो लाग्छ।

कुनै एक ठाउँ-सहर रोज्नुपर्दा ?
आफू जन्मिएको ठाउँ जन्मदिने आमा अवश्य पनि प्यारो सबैलाई प्यारो लाग्छ । मलाई पनि आफ्नो ठाउँ प्यारो लाग्छ । देश बाहिर हुँदा नेपाल प्यारो लाग्छ । देशभित्र हुँदा खोटाङ प्यारो लाग्छ।

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं देशकै सुविधासम्पन्न र मुख्य सहर हो । यहाँ सबैथोक छ । आफूले चाहेको कुरा सजिलै पाउन सकिन्छ । सुविधायुक्त विद्यालय, अस्पताल, सरकारी सेवा लगायत पक्ष हेर्दा पनि काठमाडौं राम्रो छ ।

अर्कातर्फ हेर्ने हो भने काठमाडौं जति सुविधायुक्त छ त्यति नै धरासायी पनि बन्दै गएको छ । सहरी इलाका पूरै अव्यवस्थित छ । मापदण्ड विपरीतका भवन, खाल्डाखुल्डी सडक, मानिसको चाप, विजुलीका पोल, अत्याधिक सवारी–साधन लगायत पक्षले काठमाडौंलाई धरासायी बनाएको छ।

विदेशी मुलुकका कुन–कुन सहर घुम्नुभएको छ ?
मैले धेरै देशका सहर घुमेको छु । युरोपका सबैजसो देश, हङकङ, अमेरिका लगायत धेरै देश पुगेको छु । विदेशी देश विज्ञान र आधुनिकताको चमत्कारले हामी भन्दा धेरै अगाडि छन्।

सहर विशिष्ट प्रकारका छन् । हरेक देशका आफ्नै प्रकारको विषेशता छन् । मरुभूमीको देश भनेर चिनिएका मुलुकहरु अहिले हरियाली भएका छन् । प्लेनबाटै माटो बोकेर बोट विरुवा रोपेका छन् । हामीकँहा प्रकृतिले निशुल्क दिएको वरदान पनि प्रयोग गर्न जानिएन । यो ज्यादै दुःखको कुरा हो।

यी देशका सहर किन मनपर्यो ?
त्यहाँको विकासक्रम, काम गर्ने शैली र नीति नियम धेरै राम्रो लाग्यो । विदेशका सहरमा नीति नियम र कानुन कडा पारिएको छ । सहरमा कसैले पनि मनपरी गर्न पाउँदैन् ।

सहरी इलाकामा हरेक सुविधा हुन्छन् । सडक पनि चिल्ला र सफा हुन्छन् । त्यहाँ फोहर फाल्नेलाई तुरुन्तै समाइन्छ । कडाँ काननु भएकोले कोही पनि कानुन विपरीत चल्न चाहदैनन्।  

हाम्रा सहर यस्तै बन्न सक्दैनन् ?
बन्छन् तर सोच र योजना चाहिन्छ । मत सरकारको योजनामै कमजोरी देख्छु । मुख्य त हामीकहाँ नीति नियमलाई कार्यान्वय भएन । अरु देशका कानुनलाई पालना गरिएको छ ।

बाटो–विजुली, खानेपानी, टोटल लगायत व्यवस्थित हुनुपर्छ । हाम्रोमा मुख्य त बाटोको समस्या छ । बिजुलीवत्ती पनि पर्याप्त छैन । खानेपानीमा दोश्रो धनी देश भन्छौं तर विदेशीले पिउने पानी आफै बोकेर पाउँछन्।

यहाँको पानी फोहोर छ भन्ने सन्देश फैलिएको छ । भष्ट्राचार र अस्थिर राजनीतिकले देशलाई बिगारेको छ । राज्यले पनि यसतर्फ ध्यान नदिएको देखिन्छ । सहर बनाउने सपना बाडेर सत्तामा पुग्नेहरु आज सहरको विकासमा ध्यान दिँदैनन् । जो पनि भ्रष्टाचारै गर्न खोज्छ । यहाँका कार्यकर्ता केन्द्रित राजनीति भइरहेको छ । सत्तामा हुने धेरैले म राष्ट्र सेवक हुँ भन्ने भावना राखेनन् । सबै आफ्नो बाटो साझाउनतिर मात्रै लागे।

सहरमा कला संस्कृति र परम्पराको छनक भेटिनुपर्छ, हाम्रोमा भएका संस्कृति पनि लोप हुने क्रममा छन्, किन यस्तो भएको होला ?
यसलाई मैले साँस्कृतिक अधिक्रमण भन्छु । सिधैं विदेशीको अधिक्रमण हो । हाम्रा संस्कृतिमाथि विदेशीले गिद्दे नजर लगाएका छन् ।

तर, हामीले यो कुरा थाहा पाए पनि थाहा नपाए जस्तै गरेका छौं । कर्मचारी, प्रहरी र नेताहरु अधिकांश एजेन्ट भएर काम गरेका छन् । सबैले विदेशी ऐजेन्ट बनेर काम गर्नु नै हाम्रो लागि दुःखद कुरा हो । किनकी हाम्रा कुरा हामीले भन्दा छिटो विदेशीले थाहा पाउँछन् । संस्कृति चोरी गर्छन् । यस्तो गोपनीयता भंग गर्ने दलालहरु भएको देश उभो लाग्न सक्दैन । यसमा सोच्नुपर्ने स्थिति छ ।

संस्कृति र मौलिकतामा हामी संसारकै धनी भनेर दावा गर्छौं तर हामीसँग भएका कल्चर झल्काउने गरी संरक्षण गर्न सकेका छैनौं । राज्यले यसतर्फ ध्यान दिएको छैन । बहुमूल्य सम्पतीको बेवास्ता गरेका छ सरकारले । यति राम्रो सुन्दर देश बादरको हातमा नरिवल जस्तै भएको छ।

सहर बिग्रनुको कमजोरी के देख्नुहुन्छ ?
 सबैतिरबाट देशको अस्तित्व संकटमा पर्न थालेको छ । चारैतिरबाट मिचिएको छ । सीमा मिचिएको छ । भित्रभित्रै देश खोक्रो बनाइसकेको छन् । ढल्न मात्रै बाकीँ छ देश ।

धमिरो बन्नकै लागि नेताहरु राजनीति गरेका छन् । यस्तो पाराले देश बन्दैन । बन्छ त केबल भ्रष्ट नेता । यसको लागि अब हामी सबै जाग्ने बेला आएको छ । साच्चै काम गर्ने, मिसन, भिजन भएका नेताहरु चुन्न सकेनौं।

हाम्रोमा सोच र भिजन क्लियर भएन ?
जिम्मेवारी निकायले जिम्मेवार भएन । व्यवस्थित पार्ने र काम गर्ने शक्ति र दृढता भएन । सहरका खाली ठाउँहरु खण्डीकरण भएर गएका छन् । मुख्य तः प्लान नै भएन । राजाको पालामा सीमाना कडाई गरिएको थियो । सुरक्षाकर्मी तैनाथ राखिएको थियो । अहिले सीमाना खुला छाडिएको छ । देश चलाउनेहरु राजधानीमै केन्द्रित भए।

सहरवासीको बानी कस्तो लाग्छ ?
नागरिकले आफ्नो दायित्व बुझेका छैनन । बागमती सरसफाई अभियान पनि कलाकार संघ र विज्ञापनले नै गरेको हो । त्यतिखेर म संस्थामा थिएँ । यो हाम्रो सोच नै हो ।

हामी नै त्यो मान्छे हो जस्ले आफ्नो देशमा फोहोर फाल्छौं र विदेशमा गएर नियममा बस्छौं  । फोहार खल्तीमा हालेर हिड्छौं । नेपाली हामी अनुशासन हिन छौं । आफ्नो ठाउँलाई सफा राख्नुपर्छ भन्ने भावना छैन । मैले मात्रै गरेर हुन्न भन्ने सोच उनीहरुमा छ।

विदेशका सहर र हाम्रा देशका सहरबीच भिन्नता के देख्नुभयो ?
अरु देश र हाम्रो देशबीच धेरै भिन्नता छ । विकासको कसीमा हामी धेरै पछि छौं । प्रकृतिले दिएको कुरामा हामी अगाडि छौं । जे कुरा हामीले निर्माण गरेका छौं त्यसमा धेरै पछि छौं ।

हाम्रा सहरको तुलनामा विदेशका सहर धेरै व्यवस्थित छन् । पूर्वाधार निर्माणले विदेशका सहर झकिझकाउ छन् । त्यहाँ हरेक ठाउँका नीति नियमहरु पालना गरिएका हुन्छन् । अरु मुलुकका नागरिक सहरको विकासमा चनाखो हुन्छन्।

तपाई कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
सफा, फराकिला सडक, खानेपानी, विजुली लगायत सुबिधा सहज भएको सहरको परिकल्पना गर्छु । सहरमा अस्पताल, स्कूल÷कलेज व्यवस्थित हौंन ।

यातायातको सहज पहुँच सबैतिर पुगोस् । सहरमा बस्नेले एकैखाले सेवा–सुविधा उपभोग गर्न पाउन् । सरकारी प्रशासन जिम्मेवार र मर्यादित होस् । सहरमा विभेदीकरण नदेखियोस्, स्वच्छ हावा, हरियाली, शान्त र सबैखाले सेवा–सुविधायुक्त हौंन । यति भयो भने सहरमा बसेको छु भन्ने महसुस हुन्छ।

उपत्यकाको सबैभन्दा मन पर्ने पक्ष केहो ?
यहाँको मनपर्ने पक्ष हावापानी नै हो । गर्मीमा ठिक्क गर्मी र जाडोमा ठिक्क जाडो हुन्छ । यहाँका पूराना मठ–मन्दिरले पनि नेपालको मौलिकता झल्काएको छ । यहाँ सेवा सुविधा पनि छन् । उपत्यका पाइने यी कुरा विश्वमै पाइन्न।

नपर्ने पक्ष केहो ?
ढल, बिजुलीका तार पनि अव्यवस्थित छन् । सहरको विकासका सरकारी निकायबीच समन्वय भएको छैन।

उपत्यकाभित्र कतै घुम्न जानुपर्यो भने कुन ठाउँ रोज्नुहुन्छ ?

सहर त के भनौं, कहिलेकाहीँ समय मिल्यो भने डाँडाकाडाँतिर गइन्छ । चन्द्रागिरी, नगरकोट, धुलिखेल, ककनी लगायत ठाउँहरु रमाइलो छन्।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
धेरै ठाउँमा पुगेको छु । नेपालकै केही जिल्ला घुम्न बाँकी छ । ७७ वटै जिल्ला घुम्छु।

काठमाडौं कहिले छिर्नुभयो ?

२०४७ सालमा छिरेको थिएँ । त्यतिबेला यहाँको बातावरण राम्रो थियो । घर कम थिए ।
पछिल्लो समय पुगेको सहर ?

जनकपुर पुगेको थिए । त्यो भन्दा अघि अमेरिका पुगेको थिएँ ।
सहरको किनमेल ?
सुपरमार्केट र सामान्य पसलमा नै जान्छु।

सहरको मिठो लाग्ने खानेकुरा के हो ?
म गाउँमा जन्मेको मान्छे । गाउँको खानेकुरा मिठो लाग्छ । सहरको कुनै पनि खानेकुरा स्वास्थ्यको लागि लाभदायक छैन । सहरमा मिठो लागेर खाएको कुनै कुरा छैन । बाध्यताले खाइएको छ । सबैतिर विषादी प्रयोग भएको छ ।
 प्रस्तुतिः शिवहरि घिमिरे

 

प्रकाशित: ४ श्रावण २०७५ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App