२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

पानामाका प्रशिक्षकको राजीनामा

पानामा सिटी – पानामालाई इतिहासमै पहिलो पटक विश्वकपसम्म डोर्याएका प्रशिक्षक हर्नान डारियो गोमेजले मंगलबार टिमबाट राजीनामा दिने बताएका छन्।

‘मेरा लागि अब आफ्नो मुटु राखेको ठाउँबाट पाइला सार्नुपर्ने कठिन बेला आएको छ,’ बोलिलोको उपनामबाट परिचित कोलम्बियाली प्रशिक्षक गोमेजले पानामा फुटबल संघको बुलेटिनमा लेखेका छन्।

पानामाका सञ्चारमाध्यमका अनुसार गोमेजले रूस विश्वकपलाई छनोट हुन असफल भएको इक्वेडरको टोली सम्हाल्ने पक्का भइसकेको छ । १० टोली सम्मिलित विश्वकप छनोट प्रतियोगितामा आठौं स्थानमा सीमित भएपछि इक्वेडरले रूसको टिकट काट्न सकेको थिएन।

१९९९ देखि २००४ सम्म इक्वेडरको प्रशिक्षक रहेका गोमेजले २००२ मा टिमलाई विश्वकप पुर्याएका थिए । त्यसको चार वर्षअघि उनले आफ्नै देश कोलम्बियालाई पनि विश्वकपसम्म डोर्याएका थिए । उनले २०१४ मा पानामाको राष्ट्रिय टोलीको नेतृत्व जिम्मा लिएका थिए।

पानामाको टोलीमा इतिहासकै सबभन्दा सफल प्रशिक्षकका रूपमा नाम लेखाउन उनले क्षेत्रीय छनोट प्रतियोगितामा तेस्रो बनाउँदै टोलीलाई रूस पुर्याएका थिए । छनोट चरणको अन्तिम खेल सकिन दुई मिनेट बाँकी रहँदा गरेको गोलमा हन्डुरसलाई गोलअन्तर तथा अमेरिकालाई एक अंकमा पछि पार्दै पानामा पहिलो पटक विश्वकपका लागि छनोट भएको थियो।

रूसमा भने नवप्रवेशी पानामाको प्रदर्शन स्मरणीय रहेन । प्रत्येक खेलमा संघर्ष गरेको टोली समूह ‘जी’ का सबै तीन खेलमा पराजित भयो । पहिलो खेलमा बेल्जियमलाई ३–० ले नतिजा सुम्पिएको पानामा दोस्रो खेलमा इङ्ल्यान्डसँग ६–१ को नतिजामा पराजित भएको थियो । पहिलो दुई खेलबाटै अगाडि बढ्ने सम्भावना समाप्त भएको टोली अन्तिम खेलमा ट्युनिसियासँग २–१ को नतिजामा पराजित भएको थियो । समूहचरणका तीन खेलमा ११ गोल खाएको टोलीले विपक्षीको पोस्टमा दुई गोल मात्र गर्न सक्यो।

‘रूस २०१८ पानामाको लागि सुरुआत मात्र थियो । पानामालाई पहिलो पटक विश्वकपसम्म पुर्याउने वाचा मैले पूरा गरेको छु । यो यात्रा जीवनभर म र सम्पूर्ण पानामा समर्थकको मनमा रहिरहनेछ,’ ६२ वर्षे प्रशिक्षकले लेखेका छन्, ‘पानामाले भविष्यमा अन्तर्राष्ट्रिय फुटबलमा अझै धेरै इतिहास बनाउनेछ । किनकि भर्खर सुरुआत भएको छ।’

 

प्रकाशित: ३ श्रावण २०७५ ०५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App