१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

हामी शिक्षित कि दीक्षित ?

एलपी भानु शर्मा 
प्राध्यापक पोखरा विश्वविद्यालय 
जीवन विकास विशेषज्ञ 

शिक्षा जीवनको सबैभन्दा मूल विषय हो । शिक्षा ठिक भयो भने मात्र व्यक्ति, परिवार, समाज र राष्ट्र ठिक हुन्छन् । शिक्षा ठिक भएन भने केही पनि ठिक हुँदैन । संस्कृतको एउटा भनाइ छ ‘शिक्षा विकारे सकल विकार, शिक्षा सुधारे सकल सुधार’ शिक्षा बिग्रियो भने सबै थोक बिग्रन्छ, शिक्षा सुध्रियो भने सबै थोक सुध्रिन्छ । 

हामी यदि विपन्न, अशान्त, अरूसँग मिलेर बस्न नसक्ने भएका छाैं भने हामीले के बुझ्नुपर्ने हुन्छ भने हाम्रो शिक्षाले हामीलाई विपन्नता, अशान्त र अरूसँग मिलेर बस्न नसक्ने कुराहरू सिकाइरहेको छ । हाम्रो अहिलेको समाज शिक्षाभन्दा बाहिर छैन । हामीले जस्तो शिक्षा पाएका छांै सोहीअनुरूप हाम्रो स्वभाव आनी–बानी विचारहरू प्रकट हुन्छन् । अहिले हाम्रो शिक्षाले अरूसँग मिलेर बस्न नसक्ने, सँगै काम गर्न नसक्ने बनाएको छ भने त्यो एउटै कारण भनेको शिक्षा हो । शिक्षाले हामीलाई वैमनश्यता, प्रतिस्पर्धा र स्वार्थ सिकायो । प्रतिस्पर्धा आफैँसँग हुने हो तर अरूसँग गर्न लगाएर हामीलाई स्वार्थी बनाएको छ । यसले व्यक्ति, समाज र राष्ट्रलाई नै प्रत्यक्ष अप्रत्यक्षरूपमा असर पारिरहेको हुन्छ । यस लेखमा समग्र शिक्षाको चर्चा गरिनेछ ।

शिक्षाले के गर्छ ?

हामीले बुझ्नुपर्ने कुरा के हो भने जीवनका सारा समस्या पनि शिक्षा हो र सारा सामाधान पनि शिक्षा नै हो । शिक्षाबाहेक अरू विषय छैन । हामी विश्व समुदायमा पछि परिरहेका छाँै भने यो प्रकारको शिक्षाले गर्दा नै हो  भनेर बुझ्नुपर्ने हुन्छ । यो भइरहेको शैक्षिक व्यवस्थाले आधुनिक बनाउन सकेन भन्ने निक्र्योलमा पुग्नुपर्ने हुन्छ । चालु शिक्षाले हामीलाई आधुनिक र फराकिलो सोचाइमा पु-याउन सकेको छैन । 

शिक्षा भनेको प्रमाण पत्र प्राप्त गर्नु मात्र होइन । शिक्षाले सोच, बुद्धि, विवेक, नैतिकता, इमानदारिता, सेवाभाव आदिको विकास गर्दै लैजान्छ । त्यसकारण समस्या प-यो भने शिक्षामा के खराबी छ भनेर खोतले हुन्छ । देश अशान्ति हुनुमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । किनभने देश मान्छेले चलाउने हो । मान्छेले जस्तो प्रकारको शिक्षा प्राप्त गरेको छ उसैअनुसारको व्यवहार गर्छ । त्यसकारण देशमा शान्ति, सुव्यवस्था ल्याउनु छ भने शिक्षामा जोड दिनुपर्ने हुन्छ । 

हाम्रो देशमा सबैभन्दा कम महŒवको मन्त्रालयको रूपमा शिक्षा मन्त्रालय पर्छ । व्यक्तिको सर्वाङ्गीण विकास र राष्ट्रको भविष्यको निर्धारणकर्ता मन्त्रालय कम रोजाइमा पर्नु र कम बजेटमा पर्नु अचम्मको कुरा हो । हाम्रोमा शिक्षा मन्त्रालयले नियुक्ति र केही सीमित काम मात्र गर्छ । अध्ययन अनुसन्धानतर्फ ध्यान दिएको पाइँदैन । राज्यले त्यतातर्फ ध्यान दिन सके साच्चै हामी समृद्धिको यात्रामा लाग्न सक्छौँ । 

शिक्षाका प्रकार

शिक्षा मूलभूतरूपमा २ प्रकारको हुन्छ । पहिलोमा बाहिरी संसारको बारे शिक्षा । भुगोल, गणित, विज्ञान, अर्थशास्त्र, व्यवस्थापन भाषा साहित्य आदि इत्यादि हुन्छन् । त्यस्तै अर्काे हुन्छ आफ्नो विषयमा शिक्षा । आफ्नो विषयमा बुझ्नुलाई दीक्षा भनिन्छ । शिक्षाको अर्काे महत्वपूर्ण के कुरा हो भने हामी आफूलाई समाजलाई कति बुभ्mछांै के गरिरहेका छौं भन्नेमा सचेतना हुनु हो । 
अहिले हाम्रो राज्यले पनि जानकारीमूलक शिक्षामा जोड दिएको छ । व्यवहारमूलक र चरित्रमूलक शिक्षामा पटक्कै जोड दिएको छैन । र हामीले पनि दीक्षालाई बेवास्ता गरिरहेका छाैं । 

दीक्षा भनेको आन्तरिक हुन्छ । आफू के गर्दा खुसी भइन्छ, राम्रो भइन्छ, के गर्दा सम्पन्न हुन सकिन्छ, कसरी मनको व्यस्थापन गर्न सकिन्छ, संसारका लागि म के हुँ यस्ता खाले प्रश्नको उत्तरको खोजी गरिन्छ र शिक्षाबाट यस्तो प्रकारको सूचना आउँदैन शिक्षाले बाहिरी विषयमा जानकारी तथा सूचना दिन्छ । तर आफ्नो विषयमा जानकारी दिँदैन । अहिलेको शिक्षामा जानकारीमूलक शिक्षा त छ तर दीक्षाको सर्वथा अभाव छ । अहिले हामीले शिक्षा हैन जानकारी लिइरहेका छाैं । त्यसकारण मनुष्यमा यति धेरै समस्या छ । जब हामीले आफूलाई चिन्न थाल्छाँै । म हुनु भनेको के हो ? खुसी के कारणले हुन्छु ? दुःखी के कारणले हुन्छु ? मेरो कर्तव्य के हो ? जाने कता हो ? मैले के गर्न लायक छ के गर्न लायक छैन जस्ता कुरा जानेपछि मात्रै हाम्रो चरित्र र व्यक्तित्वको निर्माण हुन्छ । 
बाहिरको सूचनाले चरित्र निर्माण त हुँदै हुँदैन । त्यो त प्रविधि मात्र हो । विधि त अन्तर्मनमा हुन्छ । त्यसकारण शिक्षाले अहिले सम्म अँगाल्न नसकेको पाटोलाई उजागार गर्न अत्यन्त धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । 

शिक्षा केको विषयमा कसरी लिने ?

म यस विषयमा कुन विषय पढ्ने भन्ने विषयमा चर्चा गर्दिन । त्यो त आफ्नो रोजाइमा पर्ने कुरा भयो त्यसकारण यस लेखमा समग्र जीवनलाई हेर्ने शिक्षा र दीक्षाको बारेमा उल्लेख गर्छु । शिक्षा के को विषयमा लिने त ? विशेष गरी शिक्षा लिँदा मूलभूतरूपमा तीन कुरामा लिनुपर्छ । जीवनका लागि यो शिक्षा अनिवार्य छ । तीन शिक्षामा सत्यम्, शिवम्, सुन्दरम् अब यसबारे चर्चा गराैं । 

सत्यम्

सत्य के हो ? असत्य के हो ? अथात् सत्यको पहिचान गर्नु । यसैलाई विज्ञान भनिन्छ । विज्ञान भन्नु, अनुसन्धान भन्नु अथवा पढेर लेखेर जान्ने विषयहरू जुन तथ्यपरक हुन्छन् । यो एउटा पाटो हो । हामीले जीवन के हो ? जगत के हो ? प्रकृति के हो ? जन्म के हो ? मृत्यु के हो ? यी विषयमा ठोसरूपमा बुझ्नै पर्छ । 

कसैको मृत्यु देखेको आधारमा हुँदैन त्यसकारण माता–पिताले पहिले नै ध्यान दिनुपर्छ । सम्बन्ध के हो ? विवाह के हो ? यौन के हो ? प्रेम के हो ? सबै कुरा थाहा पाउनु प-यो जुन शिक्षाको पहिलो जानकारी हो । सत्य एवं तथ्यको जानकारी हो । 
सत्यको ज्ञान नभएको व्यक्ति बडो अधुरो हुन्छ । उसको काम पनि अधुरो हुन्छ । 

शिवम्

यसमा कला, साहित्य, राजनीति सेवा तथा संगीत आदि पर्छ । यो शिक्षाको दोस्रो पाटो हो । यसमा व्यक्ति–व्यक्तिबीच सम्बन्ध कसरी बनाउने ? कसरी सँगै मिलेर काम गर्ने ? हामीले प्रतिस्पर्धामा सिकाएका छौँ । सहकार्य सिकाएका छैनाैं । सहकार्य सबैभन्दा ठूलो कुरा हो । आजसम्म जे–जति कुराको विकास भएको छ ती सहकार्यको कारण सम्भव भएको छ । सहकार्य प्रतिस्पर्धा भन्दा सयौँ गुना ठूलो कुरा हो । 

सहकार्यले हामीलाई सेवामुखी हुन सिकाउँछ । हामी जुन पेशामा आबद्ध छौँ ।त्यही पेशामार्फत सेवा गर्न सक्छाैं । यदि हामी पत्रकार हाैं भने कसैको बारेमा लेखेर उद्धार गर्न सक्छाैं। प्राध्यापक, वकिल, डाक्टर इन्जिनियर के के छौं आ–आफ्नो क्षेत्रबाट सेवा भावका आधारमा कार्य गर्न सक्छाैं । 

सेवाले हामीलाई जिम्मेवार हुन सिकाउँछ । अहिले हाम्रो शिक्षाले सेवा भाव नसिकाएकै कारण व्यक्तिहरू जिम्मेवार नभएका हुन् । कुनै पद पायो भने त्यही पदको दुरुपयोगमा बढी ध्यान दिएका हुन् । यदि सेवा भाव हुन्थ्यो भने पदको दुरुपयोग हैन सदुपयोग हुन्थ्यो । सेवा भाव कसरी आउँछ त ? यदि हामीमा आफूमा अरूलाई समाहित गरेर हेर्न सकियो भने सेवा भाव जागृत हुन्छ । अरूको दुःख पीडा अपमान आफ्नै जस्तो लाग्न थाल्छ । अनि हामी जो त्यस्तो समस्यामा परेका छौँ । उनीहरूको मद्दतमा लाग्न थाल्छांै । मैले अरूलाई कसरी मद्दत गर्न सक्छु भन्ने बारेमा चिन्तन आउन थालेपछि बल्ल सेवा भाव आउँछ । सेवा भाव भएको व्यक्ति सधैँ आफ्नो र अरूको हित चिताउने हुन्छ । 

सुन्दरम् 

शिक्षाको तेस्रो पाटोमा सुन्दरम् पर्छ । यसमा सबै किसिमका व्यवसायहरू पर्छन् । कस्तो व्यवसाय गर्ने । आर्थिक तथा सामाजिक पाटो कसरी मजबुत बनाउने र यो संसारलाई अझ बढी सुन्दर कसरी बनाउने भन्ने पर्छ । जीवनलाई पनि सुन्दर बनाउनुप-यो । हाम्रो सोच बुद्धि विवेक आन्तरिक एवं बाह्य पाटो पुरापुर परिवर्तन गर्न सकिने पहिलेभन्दा राम्रो बनाउनुपर्ने हुन्छ । जीवनलाई पनि निरन्तर सुन्दर बनाउने र जगत्लाई पनि निरन्तर सुन्दर बनाउनेतर्फ लाग्ने गर्नु पर्छ । यो सुन्दरम् हो । शिक्षामा यी तीन कुरा अनिवार्य रूपमा चाहिन्छ। 

अब हामी दीक्षाको बारे चर्चा गराैं । दीक्षा पनि ३ किसिमको रहेको हुन्छ । आफूलाई जान्ने कला नै दीक्षा हो । 

सत्

दीक्षामा पहिलो के चाहिन्छ भने यो संसारमा स्थायी के छ अस्थायी के छ ? यसको जानकारी चाहिन्छ । जस्तो हाम्रो मन अहिले छ एकछिन पछि रहँदैन यो अस्थायी हो । तर मनभित्र पनि गहिराइमा कुनै भाव रहन्छ भने त्यो स्थायी हो । कुनै गुणको विकास ग-याैं भने त्यो गुण पनि स्थायी हुन्छ । सबैभन्दा पहिले के कुरा टिक्छ, के कुरा टिक्दैन थाहा पाउनुपर्छ। 

अहिले देखिएको मूल समस्यानै टिक्ने कुरातिर हाम्रो ध्यानै छैन । नटिक्ने कुरा तिर हाम्रो ध्यान छ । हामीसँग भएका सामग्रीहरू, वस्तुहरू सुखसुविधाहरूप्रति ज्यादा ध्यान छ तर यी स्थायी होइनन् । प्रेम छ भने टिक्छ । जीवनका मूलभूत विषयहरू जानकारीहरू टिक्छन् । आफू भित्रको जानकारी पाउनु दीक्षाको पहिलो भाग हो । यो नै सत् हो । 

चित् 

दोस्रो चित भनेको चेतना हो । यो हाम्रो आन्तरिक चेतनासँग सम्बन्धित छ । हामी हिजोभन्दा बढी सजग, चेतनशील भइरहेका छौँ कि छैनौं । होस् सजगता कम भइरहेको पो छ कि चेतनशील बढेको छ कि छैन । कसरी बढाउने ? हाम्रो चेतनालाई बढाएनांै, थाहा पाउने क्षमतालाई बढाएनाैं भने त के अर्थ भयो र ? धन सम्पत्ति थुपै्रे भएर पनि विचार पुरानै छ भने उल्टो धन सम्पत्तिको दुरुपयोग हुन्छ ।

आनन्द

हामीले आफ्नो खुसीयाली सँगै अरूको खुसियाली कसरी बढाउने ? के गरे आनन्द हुन्छ ? यस्तै अन्धाधुन्ध रूपमा अगाडि गइयो भने खुसी भइन्छ कि अरू केही परिवर्तन गरियो भने भइन्छ ?

दीक्षित व्यक्तिलाई सत्य के हो ?असत्य के हो ? के टिक्छ के टिक्दैन त्यो कुराको पनि ज्ञान हुन्छ । र कुन कुराले चेतना बढाउँछ कुन कुराले बढाउँदैन त्यो कुराको पनि ज्ञान हुन्छ । दीक्षित व्यक्ति कहिले पनि नशा सेवन गर्न सक्दैन, कुलतमा फस्दैन किनभने नशाले चेतनालाई कमी गराउँछ । दीक्षित व्यक्तिको बोलीमा भरोसा गर्न सकिन्छ । त्यस्तो व्यक्तिले आफू खुसी हुन्छ र अरूलाई खुसी बनाउँछ । आनन्द व्यक्तिको स्वभाव हो । दीक्षित व्यक्तिको स्वभाव नै आनन्दित हुन्छ । 

 म शिक्षित मात्र हो कि दीक्षित पनि हुँ त ? यो कुरा आफूले आफूलाई निरन्तर सोध्ने गर्नुपर्छ । आज हाम्रो घर, परिवार, समाज, राष्ट्र र विश्वको आवश्यकता भनेकै शिक्षित र दीक्षित हुनु हो । यस्तो व्यक्ति साच्चीकै सच्चिदानन्द हुन्छ । यसका लागि अध्यात्म चाहिन्छ । अध्यात्मका लागि ध्यान चाहिन्छ । आफूभित्रको ज्ञानलाई चिन्नुपर्छ । आफूभित्रको ज्ञानलाई चिनिएन भने अशान्त, लोभी, कामवासनामा लिप्त, डर भय र त्रासले जित्छ त्यसकारण यी सबै कुराबाट मुक्त हुनका निमित्त शिक्षित र दीक्षित हुन जरुरी छ । 

प्रजु पन्तसँग कुराकानीमा आधारित 

प्रकाशित: १ श्रावण २०७५ ०९:१५ मंगलबार

हामी शिक्षित कि दीक्षित नागरिक परिवार