१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

टीकापुर अस्पतालको आफ्नै अवस्था अस्वस्थ

टीकापुर अस्पतालमा बिरामीको लाईन। तस्बिर : योगेश रावल/नागरिक

टीकापुर – टीकापुर अस्पताल दुईवटा जिल्लाका बासिन्दाको उपचार गर्ने थलो हो। यहाँ कैलालीको पूर्वी क्षेत्रका मात्रै नभई बर्दियाको पश्चिमी भेगका बासिन्दा समेत उपचारका लागि आउने गर्छन्।

दुईवटा जिल्लाका बिरामीको उपचार गर्ने अस्पताल स्वयम्को अवस्था भने अस्वस्थ छ। अस्पताल विकास समितिका अध्यक्ष रतनबहादुर खड्काले सोमबार पत्रकार सम्मेलनमा अस्पतालको दयनीय अवस्थाबारे बताएका छन्।

एक विज्ञप्ति समेत जारी गरेका अध्यक्ष खड्काले १५ वटा महत्वपूर्ण समस्या उल्लेख गरेका छन्। जसमध्ये आवश्यक जनशक्तिको अभावमा आकष्मिक सेवा सञ्चालन हुन नसकेको कुरा प्रमुख छ। अस्पतालले आकष्मिक सेवा सञ्चालनका लागि दक्ष चिकित्सक सहित कार्यालय सहयोगी समेत थप्नुपर्ने देखिन्छ। यसका लागि एक बालरोग, एक प्रसुती तथा स्त्रीरोग र एक हड्डीरोग विशेषज्ञ चिकित्सक हुन जरुरी छ।

‘अस्पतालको आम्दानीले आकष्मिक सेवा सञ्चालन गर्न सक्ने अवस्था छैन’ अध्यक्ष खड्काले भने, ‘अरु कसैले चासो दिँदैनन्।’

कोरीयाली संस्था कोइकाले अस्पतालमा आकष्मिक सेवा सहितको भवन निर्माण गरिदिएको छ। जहाँ अत्याधुनिक उपकरण समेत रहेका छन्। कोइकाले सन् २०१२ देखी २०१५ सम्म यहाँको स्वास्थ्य क्षेत्रमा काम गरेको थियो।

कोइकाले निर्माण गरिदिएको आकष्मिक सेवा सहितको भवन सञ्चालनमा ल्याउन सके उपचारका लागि अन्यत्र जाने ८० प्रतिशत बिरामी रोक्न सकिने मेसु डा. नरेन्द्रकुमार खनाल बताउँछन्। उनले आकष्मिक सेवा सञ्चालन पश्चात अस्पतालको आम्दानीमा समेत वृद्धी हुने बताए।

अस्पतालको अर्को समस्याका रुपमा विशेषज्ञ चिकित्सक नहुनु हो। ११ जनाको दरबन्दी मध्ये १ जना मेसु डा. खनाल मात्रै विशेषज्ञ चिकित्सकका रुपमा कार्यरत छन्। अस्पतालमा अन्य ६ मेडिकल अफिसर र १ जना डेण्टल कार्यरत छन्। अस्पतालमा विशेषज्ञ चिकित्सकको मात्रै नभई दरबन्दी अनुसारका कर्मचारीको समेत अभाव छ। सरकारले ५९ जनाको दरबन्दी कायम गरेको भएपनि ४१ जना मात्रै कार्यरत छन्।

अस्पताललाई थप आवश्यक ४२ जना कर्मचारी अस्पताल विकास समितिले आफ्नै स्रोत साधनमा नियुक्त गरेको छ। उनीहरु मध्ये करारमा रहेका नौ जना कर्मचारीको जागिर अन्यौलमा छ। सरकारले करारमा रहेका कर्मचारीको पदावधी साउन १ गतेबाट नथप्न निर्देशन दिएको अध्यक्ष खड्काले बताए। जसमध्ये ३ जना ल्याब, ३ जना कार्यालय सहयोगी, २ जना आमा सुरक्षा कार्यक्रम र १ जना चालक रहेका छन्।

अस्पतालले लामो समयदेखी विद्युत महशुल समेत तिर्न सकेको छैन। अध्यक्ष खड्काले ३८ लाख ८० हजार ४२८ रुपैयाँ तिर्न बाँकी रहेको जानकारी दिए। यसका साथै डाक्टर बस्ने घर, औषधी खरिद, शव घर, शव बाहन, फार्मेसीमा आवश्यक औषधीको व्यवस्था लगायतका थुप्रै समस्या विज्ञप्तीमा छन्।

अध्यक्ष खड्काले आफू अध्यक्ष नियुक्त भएको झण्डै डेढ वर्षको अवधिमा अस्पतालका थुप्रै समस्या समाधान गर्ने प्रयत्न गरेपनि सफल हुन नसकेको बताए। उनले अस्पतालको समस्या प्रति सरोकारवाला निकाय गम्भीर नभएकोमा चिन्ता व्यक्त गरे।

‘राज्यले नै गम्भीरता नदेखाएपछि एउटा अध्यक्षले मात्रै गरेर केही नहुने रहेछ’ उनले भने, ‘सबैभन्दा पहिले नागरिकको स्वास्थ्य प्रति राज्य नै गम्भीर हुनुपर्छ ।’ उनले अस्पतालमा बेथितिका रुपमा रहेका केही काममा भने सुधार ल्याएको दावी गरे।

मेसु डा. खनालका अनुसार अस्पतालमा वर्षमा करिव ५६ हजार बिरामीले उपचार सेवा लिनेगरेका छन्। जसमध्ये करिव १२ हजार आकष्मिक सेवाका बिरामी छन्। उनले ४ हजार ४०० बिरामीले अन्तरंग सेवा लिएको जानकारी दिए।

२०३४ सालमा हेल्थ पोष्टका रुपमा स्थापना भएको अस्पतालसँग १३ विगाह जमिन छ। यो जमिन तत्कालिन टीकापुर विकास समितिले निशुल्क प्रदान गरेको हो।

२०५० सालमा हेल्थ पोष्ट प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नती गरिएको थियो। सरकारी स्तरबाट ३ शैया स्विकृत पाएको अस्पतालमा तत्कालिन टीकापुर विकास समितिले १२ शैया आफ्नै पहलमा थप गरेको थियो।

२०६० सालमा सरकारले प्राथमिक स्वास्थ्य केन्द्र टीकापुरलाई १५ शैयाको अस्पतालका रुपमा घोषणा गरेको थियो। २०६१ साल असारमा अस्पताल विकास समिति गठन गरियो। अस्पताल विकास समितिका तर्फबाट १० शैया थप गरेर अस्पताल सञ्चालनमा ल्याइएको थियो। २०७२ सालमा सरकारले ५१ शैयाको अस्पतालका रुपमा दरबन्दी स्विकार गरेपछि जिल्ला अस्पताल सरह मान्यता पाएको थिया ।

प्रकाशित: १ श्रावण २०७५ ०५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App