१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

एन्टिबायोटिक्सको घट्दो प्रभावकारिता

अणुवांशिक पदार्थ ‘जिन’ मा आउने खराबी, ब्याक्टेरियाको संक्रमण तथा भाइरसको आक्रमण रोगका मुख्य कारण हुन् । मातापिताका जिनमा रहेका खरावी सन्ततिमासर्दा अथवा वातावरणीय प्रभावले अणुवांशिक पदार्थ त्रुटिपूर्ण बन्दा व्यक्ति रोगी बन्छ । र, त्यस्ता रोगको निर्मुल सहज हुँदैन । आजन्म औषधिमूलो गर्नुपर्ने मधुमेह तथा असम्भवतुल्य इलाज देखिने क्यान्सर जस्ता रोग उक्त श्रेणीमा पर्छन् । इतिहासको पछिल्लो २०० वर्षमा सर्वाधिक मानिसलाई मार्ने महारोगका रूपमा रहेको क्षयरोगको कारक ब्याक्टेरिया हो । त्यस्तै, एड्स, इन्फ्ल्युएन्जा, हेपाटाइटिस जस्ता रोग भाइरसका कारण लाग्छन्।

ब्याक्टेरियाको अस्तित्व स्वतन्त्र एक कोषीय जीवकारूपमा रहने हुँदा औषधिको प्रयोगमार्फत यसलाई नियन्त्रण गर्न सकिन्छ । ब्याक्टेरिया नास गर्न प्रयोग गरिने औषधिलाई एन्टिबायोटिक्स भनिन्छ । तरब्याक्टेरियाभन्दा फरक भाइरसको आफ्नो स्वतन्त्र अस्तित्व हुँदैन । बरु परजीवीका रूपमा अन्य जनावरको कोषमा उसले आफ्नो जीवनचक्र चलाउँछ । आफ्नो स्वतन्त्र पहिचान नहुने भएकाले भाइरसको नियन्त्रण त्यति सहज हुँदैन । संक्रमणपछि इलाज कठिन हुने भएकाले खोपहरूमार्पmत भाइरसबाट जोगिने उपाय अवलम्बन गरिन्छ । जन्मनेबित्तिकै दादुरा, पोलियो जस्ता रोगविरुद्धको खोप दिनुको कारण भाइरसको नियन्त्रण कठिन भएरनै हो । अथाह पैसा खर्चिएर ४० वर्षको अनुसन्धानको अतिरिक्त एड्स निको पार्ने औषधि बन्न नसक्नुले भाइरसका कारण लाग्ने रोग कति जटिलछ भन्ने देखियो । ब्याक्टेरियाको नियन्त्रणमा एन्टिबायोटिक्सले खेल्ने भूमिका र त्यसको जटिलता आकलन गर्नु यो लेखको लक्ष्य रह्यो।

एन्टिबायोटिक्सको अत्यधिक उपभोग न्यून प्रयोगभन्दा अझ खराब हुने हुँदा त्यसको लेखाजोखामा समेत चनाखो हुन आवश्यक देखियो। त्यसैले एन्टिबायोटिक्सको दुरुपयोग रोक्न नेपालले समेत कदम चाल्न आवश्यक देखियो।

सर एलेक्जेन्डर फ्लेमिड्गले प्रथम एन्टिबायोटिक्सका रूपमा पेन्सिलिन आविष्कार गरेपश्चात भिन्न ब्याक्टेरियालाई नियन्त्रण गर्ने नवीन औषधि बनाउन अनुसन्धानकर्ता सफल भए। मुख्य त फोक्सोमा संक्रमण गर्ने क्षयरोग माइकोब्याक्टेरियम ट्युबरकोलोसिस भन्ने ब्याक्टेरियाका कारण लाग्नेहो । स्वास÷प्रस्वासमार्फत ब्याक्टेरिया एक ब्यक्तिबाट अर्को मानिसमा सजिलै सर्ने भएपछि गाउँको एक व्यक्ति रोगको सिकार भए अन्ततः गाउँका सबै बासिन्दा सखाप हुन्थे । हावाबाट सर्ने रोगको संक्रमण भयानक हुनु अन्यथा भएन । हालसम्म एक अरबभन्दा अधिक मानिसको ज्यान लिने क्षयरोग (टिबी) का कारण अहिले पनि संसारमा धेरै मानिस मरिरहेकाछन्।

कुनै पनि रोगको निदानका लागि त्यसको कारक पत्ता लगाउन आवश्यक पर्छ। उन्नाइसौ शताब्दीको उत्तरार्धमा आवश्यक उपकरणको अभावमा सूक्ष्म जीवाणुको अध्ययन सहज थिएन। प्रारम्भिक चरणमा रहेका माइक्रोस्कोपको सहायतालेसूक्ष्म ब्याक्टेरियाको चिरफार गर्न सजिलो थिएन। त्यस्तो प्रतिकूल अवस्थामाजर्मनका अनुसन्धानकर्ता  रोवर्ट कोचले सन् १८८२ मा क्षयरोगको जीवाणुका बारेमा बृहत् अध्ययन गरेर आफ्नो निचोड संसारलाई प्रष्ट्याए। पछिक्षयरोगका कारण र जीवाणु पत्ता लगाएबापत वैज्ञानिक कोचले सन् १९०५मा नोबल पुरस्कार पाए।

प्रारम्भिक चरणमा सूक्ष्म जीवको अध्ययन गरेकाले ब्याक्टेरियोलोजीका पिता कहलिए उनी। उनको आविष्कारको जगमा टेकेर ब्याक्टेरियाको औषधि पत्ता लगाउन सजिलो हुने भएकाले उनको उत्खनन्लाई त्यसबेला मेडिकल साइन्सको महान् आविष्कार मानियो । क्रमबद्धरूपले टिबी रोगको औषधिहरु बन्दै गए। सन् १९४५ मा स्ट्रेप्टोमाइसिनको आविष्कार भयो । क्षयरोगको क्रान्तिकारीऔषधिका रूपमा बजारमा भित्रियो । उक्त औषधि बनाउने अमेरिकी वैज्ञानिक सेलम्यान वाक्समानले नोबल पुरस्कार पाए १९५२मा। तर आविष्कारकले पुरस्कार पाएको केही वर्षपछि नै उक्त औषधिले टिबीको बिरामीलाई निको पार्न नसक्ने अवस्थामा पुग्यो । विगतमा सन्चो पार्ने त्यही औषधि प्रयोग गर्दासमेत मरिजलाई निको नहुनुको मतलब उक्त औषधिले टिबीको ब्याक्टेरियालाई मार्न नसक्नु नै हो । त्यस्तो अवस्थालाई वैज्ञानिक भाषामा एन्टिबायोटिक रेसिस्टेन्ट भनिन्छ।

इतिहासको पछिल्लो २०० वर्षमा सर्वाधिक मानिसलाई मार्ने महारोगका रूपमा रहेको क्षयरोगको कारक ब्याक्टेरिया हो। त्यस्तै, एड्स, इन्फ्ल्युएन्जा, हेपाटाइटिस जस्ता रोग भाइरसका कारण लाग्छन्।

एउटा एन्टिबायोटिक्सले रोग नियन्त्रण गर्न नसक्ने भएपछि अर्को ओखती बनाउनु अनुसन्धानकर्ताको दायित्व बन्छ । औषधि विकासको धेरै चरण पार गर्दै सन् १९७० को मध्यतिर रिफ्याम्पिन भन्ने अर्को ओखती बजारमा आयो टिबी निको पार्न । उक्त औषधिले धेरै वर्षसम्म क्षयरोगीलाई निको पा¥यो । पछिल्ला दिनमा उक्त औषधि पनि विगतका मेडिसिनझैँ टिबी नियन्त्रणमा प्रभावकारी हुन सकेन । पहिले नियमितरूपमा केबल एउटा औषधि ६ महिना सेवन गर्दा ठीक हुने क्षयरोग बिसेक पार्न अहिले बिरामीले दुईदेखि चारवटा भिन्न भिन्न औषधिको मिश्रण झण्डै २ वर्षसम्म नियमितरूपमा सेवन गर्नुपर्ने देखियो । अझ कतिपय अवस्थामा लामो समयसम्म औषधिहरूको ककटेल दिँदासमेत क्षयरोग अनियन्त्रित भएको देखियो । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१६मा मात्र १६ लाख मानिस क्षयरोगका कारण मरे । आजभन्दा ७० वर्षअघिनै औषधि बनेको क्षयरोग अहिलेसम्म किन निर्मूल गर्न सकिएन भनी सर्वसाधारणले प्रश्न उठाउनु अन्यथा होइन।

क्षयरोग लगाउने ब्याक्टेरिया हिजो पनि ‘माइकोब्याक्टेरियम ट्युबरकोलोसिस’ थियो र आज पनि त्यही नै । तर हिजो ठीक हुने औषधिले आजका दिनमा किन टिबीको बिरामीलाई निको पार्न सकेन त? उक्त परिस्थिति थप प्रष्ट्याउन एउटा उदाहरण प्रस्तुत गर्ने अनुमति लिएँ : ब्याक्टेरिया वृद्धिका लागि सबैभन्दा अनुकूल तापक्रम ३७ डिग्री सेल्सियसहो । मानव तापमानसमेत त्यतिनै हुने हुँदा हाम्रो शरीरमा सूक्ष्म कीटाणु अत्यधिक खुसी हुन्छ, वितण्डा मच्चाउँछ । यदि ब्याक्टेरियाको तापक्रम हामीले बढाएर ४५ डिग्री सेल्सियस पु-यायाैँभने अधिकांश जीवाणु मर्छन्। तर करोडौँ ब्याक्टेरियामा एक/दुईजीवाणुले उक्त तापक्रममा समेत जीउन सक्ने क्षमता विकास गर्छन् । प्रतिकूल अवस्थामा समेत बाँच्नका लागि ती जीवाणुले आफ्ना अणुवांशिक पदार्थ जिनमा आवश्यक परिवर्तन गर्छन् । त्यसरी उच्च तापक्रममा समेत बाँच्न सफल भएका ब्याक्टेरियाका सन्तानहरू विगतभन्दा फरक उच्च तापक्रममा समेत सहजै रमाउने र जनसंख्या वृद्धि गर्न सक्ने हैसियतमा पुग्छन् । वातावरणीय परिवर्तनले हिजोको सामान्य ब्याक्टेरियालाई विशेष चरित्रको जीवाणु बनायो।

अब एन्टिबायोटिक रेसिस्टेन्सको भयानकता हेरौँ : कुनै पनि ब्याक्टेरियाको संक्रमणबाट रोग लागेमा डाक्टरले निश्चित समय सेवन गर्नकालागि एन्टिबायोटिक्स दिन्छन् । रोगको प्रकृति हेरी केही दिनदेखि क्षयरोग जस्ता जटिल रोगका लागि २ वर्षसम्म नियमितरूपमा औषधि खानुपर्ने हुनसक्छ । लामो अनुसन्धानमार्फत फलानो मात्राको औषधि यति समय खाँदा शरीरमा भएका सम्पूर्ण जीवाणु निर्मूल हुन्छन् भन्ने ठहर गरेरनै डाक्टरले मेडिसिनको मात्रा तोक्नेहो । डाक्टरको सल्लाहलाई अवज्ञा गरेर पूर्ण मात्रामा ओखती नखाँदा कस्तो असर पर्छ? त्यता पनि हेरौँ :

तापक्रम बढाउनेबित्तिकै अधिकांश ब्याक्टेरिया मरेझै औषधिको केही खुराक लिनेबित्तिकै शरीरमा भएका जीवाणुको ठूलो हिस्सा मर्छन् तर सबै भने नासिन्नन् । त्यसरी औषधिका प्रारम्भिक खुराकबाट बचेका ब्याक्टेरियालाई तत्कालै पर्याप्त एन्टिबायोटिक्स दिएर सर्वनाशनपार्दा बाँचेका जीवाणुमा प्रारम्भमा दिइएको ओखती निस्प्रभाव बन्छ । पुर्खा ब्याक्टेरियालाई काम गरेको औषधि सन्तति जीवाणुहरूलाई नियन्त्रण गर्न नसक्ने बन्छ । ब्याक्टेरिया एन्टिबायोटिक रेसिस्टेन्स बन्छ । यसरी पहिलो पुस्ताको औषधिले लक्षित परिणाम दिन नसकेपछि रोग नियन्त्रण गर्नकालागि अर्को पुस्ताको औषधि बनाउनुपर्ने हुन्छ।

नवीन ब्याक्टेरियालाई लक्षित गरी औषधि बनाउन त्यति सहजछैन । त्यसकालागि पर्याप्त समय र धन खर्चनुपर्ने हुन्छ । संक्रमणकारी जीवाणुको विकास स्थिर नभई गतिशील हुने भएकाले लक्षित औषधि बजारमा नआउँदैहिजोका ब्याक्टेरियाका सन्ततिले नवीन चरित्र धारण गर्न पुग्छन् । परिणामस्वरूप नयाँ औषधिसमेत छोटो समयमै रोग निदानका लागि अक्षम बन्न पुग्छ । लामो समय र ठूलो रकम खर्चिएर बजारमा ल्याएको औषधिले पर्याप्त प्रतिफल दिन नसक्ने अवस्थामा दबाइ कम्पनीहरू एन्टिबायोटिक्स बनाउन शिथिल देखिए । औषधि उत्पादन कम्पनी एस्ट्राजेनिकाका पूर्वकार्यकारी जोन रेक्सको विचारमा एन्टिबायोटिक रेसिस्टेन्सका कारण नया एन्टिबायोटिक्स बजारमा ल्याएर नाफा कमाउने अवस्थामा औषधि कम्पनीहरू छैनन् । आर्थिक मुनाफा हुने सम्भावना न्यून हुँदा नयाँ एन्टिबायोटिक्स बजारमा आउने सम्भाव्यता खस्कँदो देखियो । ब्याक्टेरियाहरू एन्टिबायोटिक्स रेसिस्टेन्स बन्ने क्रम नरोकिने अनि औषधि कम्पनीहरू नवीन औषधि बनाउन अनिच्छुक भएको अवस्थामा विगतमाझैँ क्षयरोग अथवा त्यस्तै अन्य रोगले महामारीको रूप लिने सम्भाव्यता देख्छ विश्वव्यापी स्वास्थ्यअनुगमन निकाय विश्व स्वास्थ्य संघ।

ब्याक्टेरियाहरू एक स्थानबाट अर्को ठाउँमा सहजै सर्ने भएकाले विश्वव्यापी अभियानबिना एन्टिबायोटिक रेसिस्टेन्ट ब्याक्टेरियाको वृद्धि रोक्न नसकिने भएकाले विश्व स्वास्थ्य संघले सबै राष्ट्रलाई आवश्यक कदम चाल्न अनुरोध ग-यो । तद्नुरूप ब्याक्टेरियाको संक्रमणबाट जोगिन शुद्ध खानपिन तथा स्वच्छ वातावरणको प्रत्याभूति गर्नुपर्ने हुन्छ । ब्याक्टेरियाबाट संक्रमित बिरामीलाई एन्टिबायोटिक्सको उचित मात्रा दिएर पूर्णरूपमा कीटाणुरहित बनाउन नसकिए एन्टिबायोटिक रेसिस्टेन्सले भयाबह रूप लिन सक्छ।

एकातिर बिरामीले तोकिएको मात्रामा एन्टिबायोटिक सेवन नगरेका कारण एन्टिबायोटिक रेसिस्टेन्सको समस्या देखियो भने अर्कोतिर अत्यधिक नाफा कमाउन दबाइ बनाउने कम्पनीले तोकिएभन्दा कम मात्रामा ओखती वितरण गरी सोही भयानकतालाई निम्त्याएको पाइयो। विपन्न मुलुकमा सहजैरूपमा एन्टिबायोटिक्स खरिद गर्न सकिने भएकाले बिरामीले केही खुराकमात्र औषधि सेवन गरी रोग अलि कम हुनेबित्तिकै मेडिसिन खान छाड्छन् । यस्ता परिस्थितिले एन्टिबायोटिक्स रेसिस्टेन्सको सम्भाव्यता ल्याउन सक्ने भएकाले एन्टिबायोटिक्सको बिक्री वितरणलाई अनुगमन गर्नुपर्ने देखियो । एन्टिबायोटिक्सको अत्यधिक उपभोग न्यून प्रयोगभन्दा अझ खराब हुने हुँदा त्यसको लेखाजोखामा समेत चनाखो हुन आवश्यक देखियो । विश्वव्यापी समस्याका रूपमा रहेको एन्टिबायोटिक्सको दुरुपयोग रोक्न नेपालले समेत आवश्यक कदम चाल्न आवश्यक देखियो।

प्रकाशित: १ श्रावण २०७५ ०४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App