१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

२५ लाखकोे ‘चक्कर’ !

नेपाली फिल्मकोे बजेट निर्माताका लागि टाउको दुखाइको विषय बन्दै आएको छ । एक वर्षअगाडिसम्म पनि ५० लाखमा ठिकैका फिल्म बनाइरहेका निर्माता यो साल डेढ करोड खर्चंदा पनि फिल्मको काम सक्न असफल छन्।

‘ओभर बजेटिङ’कै कारण केही फिल्म सुटिङको बीचमै रोकिएका छन् त केही पोस्ट प्रडक्सनबाट बाहिर निस्कन सकेका छैनन् । तर नेपालमा फिल्म बनाउन डेढ दुई करोड नै खर्च लाग्छ भन्नु सोच्नु भयो भने तपाईं   गलत पनि हुन सक्नु हुन्छ । कारण, अहिले पनि नेपालमा २०÷३० लाखको बजेटमा फिल्म बन्छन्, जस्तो कि ‘चक्कर’ । आउँदो हप्ता रिलिज हुने यो फिल्मको बजेट २५ लाख पनि नकटेको यसका निर्माताको दाबी छ।  

फिल्मको अपत्यारिलो बजेट पछाडि धेरै कारण होलान् तर एउटा कारण चैं यो फिल्मका निर्देशक हुन्, अनुष्क रौनियार । उनले कथा अनुसार बजेट खोज्ने होइन कि बजेट अनुसार कथा लेखेका कारण सानो बजेटमा फिल्म तयार भएको बताउँछन् । निर्माताले सानो बजेटमा फिल्म बनाउने प्रस्ताव राखेपछि उनले सोही अनुसार फिल्म तयार भएको बताए।

‘हामीसँग थोरै पैसा थियो । तर जसरी पनि फिल्म बनाउनु थियो । बजेट अनुसार योजना बनाउँदै गर्दा तुलनात्मक रुपमा सानो बजेटमै फिल्म तयार भएको छ,’रौनियारले भने । त्यसो त बजेट हेरेर उनले कथा मात्र तयार पारेनन्, प्राविधिक कामका धेरै विधा पनि अनुष्क एक्लैले सम्हालेका छन् । अनुष्कले फिल्ममा निर्देशनका अलावा, लेखन, सम्पादन, पोस्टर डिजाइन, प्रडक्सन डिजाइन, फोटोग्राफीका काम पनि सम्हालेका छन् ।

नेपालबाट प्लस टु सकेपछि अनुष्क मुम्बईको जेजे कलेज अफ फाइन आर्टस्मा  फाइन आर्टस् पढ्न गएका थिए । तर त्यहाँ एडमिसन नपाएपछि  अनुष्क  पुनेको सिम्बोइसिस युनिभर्सिटी हान्निए र त्यहाँ फिल्म डिजाइनको कोर्स गर्न थाले ।  यो कोर्सको उद्देश्य विद्यार्थीलाई एड फिल्ममा पारङगत बनाउन थियो तर ४ वर्षपछि कलेजबाट निस्कँदा अनुष्क एक दुई मिनेटको फिल्ममा हैन, पुरै दुई घन्टाको फिल्म बनाउने जोश लिएर निस्किएका थिए । सन् २०१४ मा पुनाबाट काठमाडौं फर्किएका उनले यही जोशका साथ दुइटा लघु फिल्म र एउटा वेब सिरिज बनाए।

ड्रग एडिक्टकोे बारेमा बनेको ‘पेपर टावल’ र  चाल्र्स बुकोस्कीको कथामा बनेको ‘पागलपनको साधारण कथा’ छोटा फिल्म थिए भने जुत्ता चोरको विषयमा बनेका ‘वन्स अपन अ टाइम इन कालोपुल’ तीन भागकोे वेब सिरिज थियो । यी सबै फिल्म अनुष्कले सस्तोमा बनाएका थिए । ‘पागलपनको साधारण कथा’ जम्मा ८ हजारमा बनाएका थिए भने तीन भागको ‘वन्स अपन अ टाइम इन कालोपुल’ १५ सयमा । चोरले पुलिसको जुत्ता चोर्न जाँदा भेटिने बन्दुकको कथामा आधारित सिरिजमा १५ सयमध्ये १२ सय नक्कली बन्दुक किन्न  खर्चिएका थिए । 


फिल्मकर्मीसँगै अनुष्कको बाहिर नआएको अर्कोे परिचय पनि छ । त्यो परिचय हो, अनुष्क पूर्व सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताका छोरा हुन् । फिल्म सेन्सर पास भएपछि गुप्ताले ट्वीट गरेर बधाइदिएपछि  धेरैले अनुष्क र गुप्ताको सम्बन्धका बारेमा थाहा पाएका थिए । तर अनुष्कले बुबाको परिचयलाई फिल्मभन्दा टाढै राख्ने गरेका छन् ।

यति मात्र होइन, डेढघन्टा अवधिको ‘केटीएम ककटेल’ शीर्षकको फिल्म अनुष्कले जम्मा डेढ लाखमा तयार गरेका थिए । त्यसैले अनुष्कलाई ‘चक्कर’मा लागेको खर्च पनि बढी नै जस्तो लागेको छ ।‘अर्पण ऋचा जस्तो सिनियर एक्टर पनि हुनुहुन्छ । अलिकति खर्च त कास्टिङका कारण पनि बढेको छ । नत्र हामी यो फिल्म अझ कम खर्चमा सक्थ्यौं,’ अनुष्कको दाबी छ।

‘चक्कर’लाई अनुष्कलाई अमेरिकातिर बन्ने बिग्रेड फिल्म जस्तै बताए ।  अमेरिकामा क्राइम र सेक्सलाई विषय बनाएर बीचको बजेटमा फिल्म बनाउन प्रचलन छ । यस्ता फिल्मको लगानी कम हुन्छ र दुईचार दिन चल्दा मात्र पनि निर्माताको पैसा फिर्ता आउँछ । अनुष्कले यो फिल्म पनि त्यसरी नै बनेको बताए ।‘यो मासलाई मन पर्ने फिल्म होइन, जसले यो जनराका फिल्म हेरेको छ, उसलाई मन पर्न सक्छ । अनि यो आर्ट फिल्म पनि होइन, किनकि यसमा यथार्थ कथा र प्रस्तुति पनि छैन,’ अनुष्कले भने, ‘ यसमा हरेक चरित्र खराब छन् त्यही नै यो फिल्मकोे विशेषता हो जस्तो लाग्छ।’

आउँदा दिनमा पनि अनुष्कले निर्माताको माग अनुसार नै फिल्म बनाउने सोच बनाएका छन् । नेपाली फिल्मको वातावरणमा अझै भिज्न नसकेका उनलाई तत्कालै कुनै मूलधारका निर्माताले ठूलो प्रोजेक्टमा निर्देशनको मौका देलान् भन्ने पनि लागेको छैन । त्यसैले उनले थोरै बजेटमा मन लागेको कथा भन्नुमा नै कल्याण देखेका छन् ।
‘नेपालको बजार अनुसार यस्ता फिल्म झन् उपयुक्त हो भन्ने लाग्छ । पहिलो पल्ट आफूले निर्देशन गरेको फिल्म हलमा रिलिज हुँदैछ । यसको परिणामले मेरो फिल्मयात्रा निर्धारण गर्छ,’अनुष्कले सशंकित हुँदै भने।

फिल्मकर्मीसँगै अनुष्कको बाहिर नआएको अर्कोे परिचय पनि छ । त्यो परिचय हो, अनुष्क पूर्व सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताका छोरा हुन् । फिल्म सेन्सर पास भएपछि गुप्ताले ट्वीट गरेर बधाइदिएपछि  धेरैले अनुष्कको अर्को परिचयका  बारेमा थाहा पाएका थिए । तर अनुष्कले बुबाको परिचयलाई फिल्मभन्दा टाढै राख्ने गरेका छन् । उनले पहिलो फिल्म कलेजको विज्ञापन बनाएको पैसा जम्मा गरेर बनाएका थिए भने त्यसपछिका फिल्मका लागि पनि घरबाट एक पैसा लिएका छैनन्।

‘डाक्टर र फिल्ममेकरमध्ये एक छान्न पर्यो भने पक्कै पनि सबै बुबाले डाक्टर नै छान्छन्  । तर बुबाले मलाई आफ्ना बाटो हिंड्न छुट दिनु भएको छ, यो पनि सानो सहयोग हो जस्तो लाग्दैन,’ अनुष्कको बुझाइ छ ।  
फिल्ममा अर्पण थापा, ऋचा शर्मा, एवन राज उप्रेति, भोला सापकोटा, सिर्जना सुब्बा, स्मृति पोखरेल आदि कलाकारको अभिनय रहेको छ ।

प्रकाशित: १ श्रावण २०७५ ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App