१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

गुणस्तरीय सेवा विस्तार गर्दै शिक्षण अस्पताल

काठमाडाैं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले थप गुणस्तरीय सेवा विस्तार गर्न सफल भएको बताएको छ। ३६ वर्षअघि जापानले नमुनाको रूपमा सुरु गरेको यो अस्पतालले हाल गुणस्तरीय सेवा, भौतिक पूर्वाधार, उपकरण विस्तारलगायतमा फड्को मार्दै गएको अस्पतालको ३६ औं वार्षिक उत्सवको अवसरमा अस्पतालका निर्देशक डा.दीपक महराले बताए।

पछिल्लो पाँच वर्षभित्रमा अस्पतालले गुणस्तरीय सेवा, अस्पतालको आर्थिक आत्मनिर्भरता, आधुनिक उपकरण तथा सौर्य ऊर्जा जडान गरेको छ। भूकम्पपछि जापानले दिएको १ अर्ब बराबरको सहयोगमध्ये अस्पतालले ७० करोड मूल्य बराबरको उपकरण किनेको छ। सोही अवधिमा पुरानो अक्सिजन पलान्टको सट्टा १५ सय लिटरको अक्सिजन रिफिलिङ कार्यक्रम जडान गरेको छ। त्यसैगरी बाल– शल्यक्रिया अपे्रसन थिएटर, सौर्यबत्तीसहित सिसिटिभी क्यामेरा जडान गरेको छ। ऋणात्मक रहेको आर्थिक अवस्थालाई यही कालमा उकास्न सफल भएको अस्पतालले जनाएको छ।

भूकम्पका बेला प्राप्त भएको १ करोड रुपैयाँ निश्चित बजेटमा राखी व्याजबाट विपन्न बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था गरेको छ। यो अवधिमा नेपाल सरकार र जापान सरकारको सहयोगले अस्पतालको गुणस्तरीय सेवा विस्तारमा अघि बढ्न सहयोग मिलेको अस्पतालका निर्देशक महराले बताए। ‘हाम्रो उद्देश्यमा सरकारले साथ दिएमा मात्र सम्भव भएको हो,’ निर्देशक महराले भने।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले टिचिङ अस्पतालले गुणस्तरीय सेवालाई प्रभावकारी बनाउन सकेमा जनताको निजी र विदेशका अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताए। उनले नेपालमा दुषित पानी, अस्वस्थ खाना, औषधिको जथाभावी प्रयोगलगायतले नसर्ने रोग भयावह बनेको बताए। उनले भने, ‘नसर्ने रोग भयावह बन्दै गएको छ, अब सरकारले बजारमा वस्तुको गुणस्तरबारे अनुगमन गर्न आवश्यक छ,’ मन्त्री यादवले भने। अस्पताललाई थप गुणस्तरीय बनाउन सरकारले सक्दो साथ दिने उनले प्रतिबद्धता जनाए। उनले भारतवाट आउने कतिपय गुणस्तरहीन औषधि बिक्रीमा नियन्त्रण गर्नुपर्ने बताए।

कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री गगन थापाले अस्पतालले विस्तार गर्दै गएको गुणस्तरीय सेवामा सघन उपचार कक्षको कमी रहेको इंगित गरे। यसका लागि स्वास्थ्य मन्त्रालयले पहल गर्नुपर्ने उनको भनाइ थियो। अस्पतालमा मिर्गौला प्रत्यारोपण, हाडजोर्नी, कलेजो, ग्यास्टोलोजी, आँखा, दाँत, मुटु, मिर्गौला, हेमोडायालोसिस सेवा, मधुमेह,जनरल सेवालगायतका सेवा उपलब्ध छन्। साथै आधुनिक प्रयोगशाला, एक्सरे, एमआरआइ, सिटिस्क्यान, शल्यक्रिया, प्रसूति केन्द्रलगायतका सेवा उपलब्ध छन्।

कलेजो प्रत्यारोपण आइसियू तयार
टिचिङ अस्पतालले छिट्टै सुरु हुन लागेको कलेजो प्रत्यारोपण आइसियुको उट्घाटन गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सो आइसियुको उट्घाटन गरे। चारवटा शैया रहेको सो आइसियुमा एकपटकमा दुईजनाका लागि प्रत्यारोपण आइसियू तयार भएको छ। दुईजनाको प्रत्यारोपण क्षमता भए पनि सुरुमा एउटाबाट मात्र सुरु गर्ने प्रत्यारोपण युनिटका संयोजक डा. रमेशसिंह भण्डारीले भने। सरकारबाट पाउनुपर्ने अनुमति प्रक्रियामा ढिला भएको कारण प्रत्यारोपण सुरु हुन नसकेको डा.भण्डारीले बताए। ‘ अनुमति मिल्ने बित्तिकै हामी सुरु गर्र्छाैं’ उनले भने। अस्पतालमा आवश्यक धेरै जसो उपकरण र जनशक्ति तयारी अवस्थामा रहेको भण्डारीले बताए।

प्रकाशित: १ श्रावण २०७५ ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App