१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

श्रीले पायो जहाज उडान अनुमति

काठमाडौं-सरकारले मुलुककै सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सलाई ‘फिक्स्ड विङ’ जहाजबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्न इजाजत दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्तरीय निर्णयअनुसार श्रीलाई जहाजबाट आन्तरिक र वाह्य दुवै सेक्टरमा उडान गर्ने अनुमति दिइएको हो । केही महिनादेखि गरिरहेको प्रयास सफल भएपछि श्रीले चाँडै उडान सुरु गर्ने गरी काम अगाडि बढाएको छ ।

‘पर्यटन मन्त्रालयबाट उडान इजाजत पाएका छौं,’ श्रीका प्रबन्ध निर्देशक सुधीर मित्तलले बुधबार नागरिकसँग भने, ‘अब हामी आगामी ६ महिनाभित्र आन्तरिक र त्यसको एक वर्षभित्र अन्तर्राष्ट्रिय उडान गर्ने छौं ।’

उनका अनुसार साना र ठूला गरी ६ थान जहाज ल्याएर आन्तरिक र अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने परियोजनाका लागि २ अर्ब रुपैयाँ लगानी गरिने छ । यसबाट थप करिब २ सय नयाँ रोजगारी सिर्जना हुने छ ।  

हाल साना र ठूला गरी १० वटा हेलिकोप्टर सञ्चालन गरिरहेको श्रीले पर्यटन मन्त्रालयबाट उडान इजाजत पाउनासाथ मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा ‘फिक्स्ड विङ’ जहाज थप गर्न निवेदन दिइसकेको छ ।

‘हामीसँग रहेको हेलिकोप्टरको वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) मा जहाज थप गर्न निवेदन दिइसकेका छौं,’ श्रीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले भने, ‘अब प्राधिकरणबाट पनि सक्दो सहयोग हुने विश्वास छ । जहाजबाट आन्तकिर र अन्तर्राष्ट्रिय उडान गर्ने भएपछि प्राधिकरणले पनि प्रोत्साहन गर्दै आएको छ ।’

श्रीले डेढ दशकभन्दा बढी अवधि हेलिकोप्टर सेवा सञ्चालनबाट बटुलेको अनुभवलाई जहाज उडानमा प्रयोग गर्न लागेको हो । जहाज उडान सँगसँगै हेलिकोप्टर सेवालाई पनि निरन्तरता दिने मानन्धरले जानकारी दिए ।

पर्यटन मन्त्रालयले श्रीलाई हेलिकोप्टरबाट अन्तर्राष्ट्रिय उडान गर्ने इजाजत भने विगतमै दिएको थियो । श्रीले जहाज कम्पनीको नाम नयाँ नराख्ने र पुरानै नामबाट जहाज सञ्चालन गर्ने जनाएको छ । नियामक निकाय प्राधिकरणबाट एओसी श्री एयरलाइन्सको नाममा जारी भएका कारण त्यही एओसीबाट जहाज सञ्चालन गर्ने श्रीले जनाएको छ ।  

मानन्धरका अनुसार जहाजबाट पहिलो चरणमा आन्तरिक उडान गर्ने र दोस्रो चरणमा मात्र अन्तर्राष्ट्रिय उडान गर्ने योजना छ । आन्तरिक उडानका लागि ५० सिटसम्मका जहाज सञ्चालन गरिने छ भने अन्तर्राष्ट्रियतर्फ सयदेखि १ सय १० सिट क्षमताका जहाजबाट सेवा सञ्चालन गरिने छ ।
भारतका विभिन्न सहरमा उडान गर्न १ सय १० सिटसम्मका र त्यसभन्दा पर जान १ सय ५० सिट क्षमताका जहाज प्रयोग गरिने मानन्धरले बताए । ‘श्रीकै नाममा जहाज कम्पनी सञ्चालन हुने भए पनि त्यसमा थप डेढ सयदेखि दुई सयजनाले नयाँ रोजगारी पाउनेछन्,’ उनले भने, ‘यसबाट रोजगारीसँगै पर्यटक आगमन पनि बढ्ने छ भने सरकारलाई राजस्वदेखि नेपाली यात्रुले सहज र सरल तरिकामा हवाई यात्रा गर्न पाउनेछन् ।’

उनका अनुसार आन्तरिक उडानका लागि क्यानेडियन जहाज निर्माता कम्पनी बम्बार्डियरमा निर्मित ५० सिट क्षमतायुक्त ‘सिआरजे–२००’ सिरिजका तीनथान जहाज पहिलो चरणमा ल्याइने छ । ती जहाजबाट काठमाडौंलाई आधार गरी सुरुमा भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीका लागि नियमित उडान गरिने छ ।

त्यसपछि अन्तर्राष्ट्रिय उडान गर्न ब्राजिली जहाज निर्माता कम्पनी एम्ब्रेयरमा निर्मित १ सय १० सिट क्षमतायुक्त ‘इआरजे–१९०’ सिरिजका तीनथान जहाज पहिलो चरणमा ल्याइने मानन्धरले जानकारी दिए । उड्डयन प्राधिकरणको नियमअनुसार आन्तरिक÷अन्तर्राष्ट्रिय उडान गर्न न्यूनतम दुई÷दुई थान जहाज चाहिने भएकाले दुइटै सेवाका लागि तीन÷तीन थान जहाज ल्याउन लागिएको उनले बताए ।

श्रीका अनुसार पहिलो चरणमा काठमाडौंबाट भारतका प्रमुख सहर नयाँदिल्ली, मुम्बई, बैंगलोर, कोलकाता, हैदराबाद र बनारस उडान गरिने छ । त्यसभन्दा टाढा डेढ सय सिटसम्मका जहाज ल्याई दुबई, साउदी अरब, बैंकक, क्वालालम्पुर लगायत गन्तव्यमा उडान गर्ने योजना छ ।

श्री ‘एमआई–१७’ सिरिजका ठूला हेलिकोप्टर धेरै भएको दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्पनी हो । अर्बौं लगानी गरिसकेको श्रीसँग करिब ५० लाख अमेरिकी डलर मूल्यका जगेडा इन्जिन पनि छ । यसले विश्व खाद्य कार्यक्रम र अन्य अन्तर्राष्ट्रिय संस्थाका कामसहित प्राकृतिक प्रकोप, उद्धार, खाद्यान्न ढुवानी, यात्रु ओसारपसारमा विश्वसनीयता कमाएको छ । त्यसबाहेक संयुक्त राष्ट्रसंघका लागि हेलिकोप्टर उडान गर्ने श्री दक्षिण एसिया र पूर्वी एसियाकै एकमात्र कम्पनी पनि हो ।

हेलिकोप्टर राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीको आफ्नै ‘ह्यांगर’ पनि छ । त्यहिँ नै जहाज राख्ने व्यवस्था मिलाइने श्रीले जनाएको छ । श्रीले १७ वर्षदेखि हेलिकोप्टर सेवा दिँदै आएको छ । कम्पनीसँग हाल रुसमा निर्मित २४ सिट क्षमताका ६ वटा एमआई–१७ तथा फ्रान्सको एयरबस हेलिकोप्टर्स कम्पनीले उत्पादन गरेका ६ सिट क्षमताका चारवटा ‘एएस३५० बिथ्रिई’ हेलिकोप्टर सञ्चालनमा छन् । विगतमा युरोकप्टर नामबाट परिचित एयरबस हेलिकोप्टर्स युरोपेली जहाज निर्माता कम्पनी एयरबसको सहायक कम्पनी हो ।

प्रकाशित: २४ भाद्र २०७३ ०५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App