१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

बिपीको समाजवाद

नेपाली कांग्रेसको सपना र जपनामा सधैँसधैँ आउँछन्, महामानव बिपी । कुनै समय उनी नेपाली जनताका लागि वीर विश्वेश्वरप्रसाद कोइराला थिए । त्यो रूपक अब खासै उच्चारित हुँदैन । सपना र जपनामा जति आए पनि कांग्रेसको जीवनमा बिपी र उनको सपनामाथि निर्दयतापूर्वक दमन जारी छ । संसदीय सत्तामा रमाएका कम्युनिस्टले गरिबको राज्य ल्याउने सपना देखाएजस्तै भएको छ कांग्रेसको बिपी जपना ।

समाजवादको सपना
 अंग्रेजको चाकरीका भरमा देश लुटिरहेका क्रूर राणा शासकलाई धुलो चटाउन बिपीको नेतृत्वमा कांग्रेसको लडाइँ युगान्तकारी क्रान्ति थियो । यो गौरवमय इतिहासलाई सिँच्न बिपीले प्रजातान्त्रिक समाजवादको सपना देखेका थिए । उनी हरेक नेपालीका घरमा एउटा दुहुनो गाई, एक हल गोरु, गरिखान पुग्ने जमिन, ओषधिमूलो गर्न र सन्तानलाई शिक्षा दिन सक्ने अवस्था होस् भन्ने चाहन्थे । हलो जोतिरहेको किसानको तस्बिर हेरेर योजना बनाउनू भन्ने उनको निर्देशनको अर्थ थियो, नेपाली जनसाधारणको मर्म र हितलाई सर्वोपरि राख्नु ।

आज पनि कांग्रेसमा बिपी र उनको प्रजातान्त्रिक समाजवादको हाईहाई नै छ । शब्दमा महामानव भने त्यहाँ बीपीलाई ईश्वरजस्तै मानिन्छ । सायद त्यहाँ ईश्वर र उनको आदर्र्श अनुशरण गर्नु जरुरी छैन । तिनलाई धुलो चटाए पनि हुन्छ ।

बिपीको प्रजातान्त्रिक समाजवाद पुँजीवादलाई मानवीय बनाउने प्रयास थियो । चरम पुँजीवाद भन्नुस्, वा नवउदारवाद अथवा खुलाबजार अर्थतन्त्रमा धन हुनेलाई धनमाथि धनै हुन्छ । महाराज इन्द्रलाई जस्तै स्वर्गीय सुखभोग यहीँ प्राप्त हुन्छ । विश्वामित्रसामु मेनका उभिएझैँ अप्सरा, रम्भा, तिलोत्तमा यहीँ उपलब्ध हुन्छन् । गौतम ऋषि पत्नी अहल्यामाथि बलात्कार गर्दा इन्द्रले श्राप पाएका थिए । अहिले धन हुने इन्द्रहरूले सामान्य सजायबाट समेत मुक्ति पाउँछन् ।

किनभने अधिवक्ता र न्यायाधीशहरू नै सुविधाअनुसार मात्र सत्य र न्यायका पक्षमा उभिन्छन् । कानुनी राज्यमा कानुनतः बाँच्न पाउने अधिकार सबैलाई हुन्छ तर धन नहुनेलाई जीवनको क्रूर रंगमञ्चमा बाँच्ने अधिकार हुँदैन । पैसा छैन त बाँच र बचाऊ भन्ने मानवीय मन्त्र पुस्तकका पाना र गीत–संगीतमा सीमित हुन्छ । पैसाको अभावमा कति होनाहारले क्यान्सर, मिर्गौला वा मुटु रोगबाट अकालमै ज्यान गुमाएका छन् । अस्पतालहरू मानवताविहीन विश्वबजारका नाफाखोर साहुजी भइदिन्छन् । स्वास्थ्य क्षेत्रमा मात्र होइन, नाफाखोर साहुजीहरू हाम्रो जीवनका हरेक मोडमा छन् ।

मानवीय गरिमासाथ बाँच्न पाउने जनताको मौलिक हक, शिक्षा, स्वास्थ्य र रोजगारको हक पूरा गर्न राज्यले नै दायित्व लिनु पर्छ । तब मात्र पुँजीवादलाई मानवीय अनुहार दिन सकिन्छ । यही अभ्यास अहिले नर्वे, डेनमार्क, फिनल्यान्डजस्ता स्कान्डिनेभियन देशहरूमा भइरहेको छ । तर, हाम्रो देशमा के भइरहेको छ ? पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपचारका लागि सरकारले तीन करोड रुपियाँ दिएर अमेरिका पठाउने तयारी गरेको छ । अमेरिका रहुन्जेल उनलाई दैनिक तीन सय अमेरिकी डलर र तीन जना सहयोगीलाई दैनिक १ सय ५० अमेरिकी डलर भत्ताको व्यवस्था गरिनेछ । यता, एक राष्ट्रिय दैनिकका अनुसार हप्तामा ३ हजार रुपियाँ जुटाउन नसक्दा दोलखा मालुका मिर्गौला पीडित विजय खड्काले १९ वर्षको रहरलाग्दो उमेरमै अस्पतालको छतबाट फाल हालेर आत्महत्या गरेका छन् ।

गम्भीर प्रकृतिका केही रोगको उपचारमा सरकारले थोरै भए पनि जनसाधारणलाई अनुदान राहत नदिएको होइन । ओली सरकारले मिर्गौला रोगीको निःशुल्क हेमोडाइलासिसको सुविधा दिएर प्रशंसनीय काम गरेकै हो । तर, गरिब जनसाधारणले त बाँकी खर्च पनि जुटाउन सक्दैन । फेरि पनि तिनले अकालमै ज्यान गुमाउनुपर्छ । यता, सत्ता सुखभोग गरिसकेका सुविधा सम्पन्न रामवरण यादवहरू भने हरेक रोगको निःशुल्क उपचार गराउन पाउँछन् । बिपीको समाजवाद त यहाँ शासक र सत्तासीनहरूलाई मात्र आएजस्तो भयो ।

बिपीले आफ्नो आदर्शलाई साकार पार्न भरिसक्य प्रयास अवश्य गरेका हुन् । २०१२ सालमा वीरगन्जमा सम्पन्न कांग्रेसको महाधिवेशनले बिपीको प्रजातान्त्रिक समाजवादलाई आधारभूत निर्देशक सिद्धान्त मानेको थियो । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले पूर्ण बहुमत पाएपछि २०१६ जेठ १३ गते बिपीको नेतृत्वमा नयाँ सरकार गठन भयो । महाधिवेशनले पारित गरेको सिद्धान्त कार्यान्यवन गर्ने प्रारम्भिक प्रयासस्वरूप उसले २०१६ सालमा बिर्ता तथा राजारजौटा उन्मूलन ग¥यो । कर्मचारीको तलब बढायो तर मन्त्रीहरूको घटायो । वनको राष्ट्रियकरण, मोही हक रक्षा, भूमिहीनलाई बसोबासको व्यवस्था, भूमिसुधार, छुवाछुत अन्त्यलगायत सामाजिक आर्थिक परिवर्तनको रेखा कोर्यो । तर, त्यसले आकार लिन नपाउँदै तत्कालीन राजा महेन्द्रले कु गरेर देशमा फेरि निरंकुश हावा फर्काए ।

बिपी र ईश्वर
कांग्रेस लोकतन्त्रप्रति ‘सबैभन्दा प्रतिबद्ध’ पार्टी हो । यसकै कारण उसलाई अन्तर्राष्ट्रिय मान्यता र विश्वास पनि प्राप्त छ । तर, उसका लागि आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष रहने संसदीय व्यवस्था, प्रेस स्वतन्त्रता, मानवअधिकारको व्यवस्था नै लोकतन्त्र हो । गणतन्त्र र संघीयतामा ऊ थेगिनसक्नु जनदबाबले मात्र पुगेको हो ।

आर्थिक क्रान्ति, सामाजिक र सांस्कृतिक परिवर्तनका लागि ऊसँग खास एजेन्डा छैन । बिपीको सपनालाई त जीपीको नेतृत्व र  रामशरण महतको आर्किटेक्चरमा २४ वर्षअघि नै वनवास पठाइएको हो । हवाई यातायातजस्ता अर्थतन्त्रका कतिपय क्षेत्र निजी क्षेत्रका लागि खोल्नमा महतले भूमिका खेले । नोक्सानमा गएका र जान लागेका सरकारी संस्थालाई कौडीको मूल्यमा निजीकरण गरिए । विदेशी सहयोगको प्रतिबद्धतालाई आर्थिक नीतिको सफलता मान्ने परिपाटीका सुरुवात पनि उनकै नेतृत्वमा भयो । बुझ्नेहरू भन्छन्, आज भारतमाथि नेपालको पूर्ण निर्भरता महतकै नीतिहरूको परिणाम हो ।

तथापि, आज पनि कांग्रेसमा बिपी र उनको प्रजातान्त्रिक समाजवादको हाईहाई नै छ । शब्दमा महामानव भने त्यहाँ बीपीलाई ईश्वरजस्तै मानिन्छ । सायद त्यहाँ ईश्वर र उनको आदर्र्श अनुशरण गर्नु जरुरी छैन । तिनलाई धुलो चटाए पनि हुन्छ । आलोचनाचाहिँ कहीँकतैबाट हुनु हुँदैन । बीपीका कतिपय आलोच्य पक्ष नभएका होइनन् । उनीसँग अपेक्षित राजनीतिक दूरदृष्टि थिएन ।

कम्युनिस्टलाई उनी अछुतजस्तै छुवाछुत स्तरमा व्यवहार गर्थे । गणेशराज शर्माद्वारा सम्पादित आत्मकथामा बिपीले कम्युनिस्टप्रति व्यक्त गरेका असहिष्णु शब्द अगणित छन् । पञ्चायतविरुद्ध संयुक्त संघर्ष गर्न पुष्पलाल श्रेष्ठले गरेको प्रस्तावलाई उनले सधैँ अस्वीकार गरे । उनको यस्तो हठलाई खण्डन गरेर अगाडि बढ्न बरु गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई सफल भए ।

फलस्वरूप प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन सफल भयो । पहिले बिपीकै जस्तो हठ गर्ने गिरिजाप्रसादले पनि कम्युनिस्टसँग सहकार्यमा दोस्रो जनआन्दोलनको सफल नेतृत्व गरे । गणतन्त्र स्थापना र संविधानसभा चुनाव पनि त्यसबाटै सम्भव भयो । त्यसैलाई सुशीलले निरन्तरता दिएर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गराए । बिपीले त्यो हठ नगरेको भए उनकै जीवनकालमा प्रजातन्त्र पुनस्र्थापना सम्भव हुने थियो ।

राजनीतिशास्त्री लोकराज बरालका अनुसार राजा महेन्द्रको कुपछि कति मामलामा बिपीले द्वैध चरित्र देखाए, (आत्मचिन्तन रहेछ जिन्दगी, नयाँ पत्रिका, २०७३ वैशाख १८) । बरालका अनुसार ०१७ सालपछि सुवर्णशमशेरको पत्रका आधारमा बिपी जेलबाट छुटेका थिए । पत्रमा ‘राजालाई सहयोग गर्ने संविधानको विकास गर्न’ उल्लेख थियो ।

प्रजातन्त्रवादी भएकैले जेल परेका बिपी यसरी छुट्नु उनको द्वैध चरित्र थियो । जेलबाट छुटेको एक महिनापछि उनले फेरि विराटनगरमा ‘जेल जान तयार छु’ भनेर भाषण गरे । तर, पक्राउबाट बच्न बनारस पुगे । त्यहाँ सशस्त्र संघर्षदेखि हाइज्याकिङको  योजना बनाए । सन् १८७५ मा भारतमा सिक्किम विलयपछि इन्दिरा गान्धीले संकटकाल लगाइन् । अनि त्यहाँ टिक्न नसकी उनी राष्ट्रियता खतरामा प¥यो भन्दै नेपाल आए । यहाँ आएर भने, ‘राजासँग मेरो घाँटी जोडिएको छ ।’ बीपीले कांग्रेसले उठाउँदै आएको संविधानसभाको नारा छाडेकै कारण राजाले त्यसलाई लत्याएर आम निर्वाचन गराएका थिए ।

अन्त्यमा
कांग्रेसले बिपीलाई ईश्वरजस्तै जपना गर्नु अन्यथा होइन । त्यसो गर्दा उसले प्रजातान्त्रिक समाजवादलाई पनि आत्मसात गर्नु जरुरी छ । होइन, महतको खुला बजार अर्थतन्त्र ठीक हो भने बिपीको प्रजातान्त्रिक समाजवाद गलत थियो भन्ने आँट गर्नुपर्छ । बिपी जपेर महतलाई कांग्रेसको आर्किटेक्ट बनाउनु कहाँको नैतिकता हो ?

 

प्रकाशित: २४ भाद्र २०७३ ०४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App