१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘स्क्रिप्ट सुन्दा सासै लिन गाह्रो भयो .....’

काठमाडौं - फिल्म ‘किस्मत’देखि पछिल्लो फिल्म ‘रुद्रप्रिया’सम्म आइपुग्दा नायक आर्यन सिग्देलले थुप्रै चरित्र निभाए । तर उनको करिअर ग्राफ हेर्ने हो ज्यादाजसो फिल्ममा उनलाई लथालिंग प्रेमीको चरित्रमा देखिन्छ। 

आर्यन वास्तविक जीवनमा पनि उस्तै छन्, ‘विन्दास’ । फिल्ममा ‘लभरब्वाइ’को ट्याग पाएका आर्यनले बीचका केही फिल्मबाहेक अन्यमा सोही ट्यागलाई नै बोकिरहेका छन् । आफ्नै ब्यानरमा निर्मित फिल्म ‘कायरा’ पनि फेरि एकपटक आफूलाई उस्तै चरित्रमा प्रस्तुत गर्दैछन् । फरक छ त उनीसँग रोमान्स गर्ने हिरोइन ।

पछिल्लो समय नम्रता श्रेष्ठसँग जोडी सुहाउने टिप्पणी खेप्दै आएका उनले पछिल्लो फिल्ममा भने उदीयमान अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधेका छन् । शनिबार नागरिकसँगको भेटमा उनले साम्राज्ञी पनि आफू जस्तै भएको बताए । ‘फिल्म क्षेत्रमा आउँदा मेरो जुन व्यवहार थियो । साम्राज्ञीमा पनि त्यही व्यवहार पाएँ ।

आफूले प्रतिबद्धता जनाएको काम जसरी पनि गरेरै छाड्ने शैली साम्राज्ञीमा पनि रहेछ । साम्राज्ञी मेरो रिप्लिका नै रहिछन्,’ सञ्चारकर्मीमाझ शनिबार आर्यन गफिरहँदा उनको छेउमै रहेकी साम्राज्ञीतिर हेर्दै उनले भने, ‘मेरो र उसको काम गर्ने बानी मिल्यो । मैले साम्राज्ञीसँग ‘कायरा’को सम्झौता गरेर सुटिङको समय बताउँदा उनले त्यो समयमा दिदीको बिहे हुँदैछ भनिन् । केहीअघि दिदीको बिहेको कुरा गरेकी उनले एकछिनमै तुरुन्तै ‘ल म सुटिङका लागि तयार छु’ भनिन् । घरमा विवाह उत्सव हुने बेलामा पनि आफूले समय दिएर फिल्मको सुटिङ गर्छु भन्ने उनको शैली हेर्दा मैले आफ्नो काम गर्ने बानीलाई सम्झिएँ।’

साम्राज्ञीले पनि आर्यनको काम गर्ने शैलीको तारिफ गरिन् । ‘मैले अहिलेसम्म काम गरेका फिल्मको कलाकारहरू शारीरिक हाउभाउले अभिनयको आइडिया दिन्थे । तर आर्यन दाइ चाहीं आँखाको संकेतले अभिनयको तरिका सिकाउनुहुन्थ्यो,’ उनले भनिन्, ‘‘ड्रिम्स’देखि ‘इन्टु मिन्टु लन्डन’सम्म आइपुग्दा सहकर्मीलाई अभिनयको तरिका सिकाउनुपथ्र्यो । तर ‘कायरा’मा आर्यन दाइबाट मैले धेरै कुरा सिकें । किनकि उहाँको काम गर्ने शैली र सहकर्मीलाई काम सिकाउने शैली पृथक लाग्यो।’

सांगीतिक प्रेमकथाको फिल्म ‘कायरा’मा आर्यन जयको भूमिकामा छन् । प्रेममा असफल भएपछि जय कसैले नभेट्ने ठाउँमा जाने अठोटका साथ फिलिपिन्स पुग्छन् । गीतसंगीतमा हुरुक्कै हुने जय फिलिपिन्सको एक रेस्टुरेन्टमा गीत गाउँछन् । त्यहाँ उनको भेट कायरासँग हुन्छ, जसको भूमिकामा साम्राज्ञी छिन् । ‘मेरो एउटा साथी’ मा पनि आर्यन जय नामक चरित्रमा थिए।

‘यो फिल्ममा नोभेम्बर रेन र क्लासिकको आर्यन सिग्देल दोहोरिएको छैन,’ आर्यनले दाबी गरे, ‘पुरानो आर्यन सिग्देल नभएकाले पनि यो फिल्म भिन्न छ ।’ आफ्ना लागि अहिलेसम्म प्रेमकथाका फिल्म नै ‘लक्की’ रहेकाले ‘कायरा’मा पनि प्रेमकथानै प्रस्तुत गरेको उनले बताए।

आर्यनले साम्राज्ञी अभिनित फिल्म ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ हेरेका छन् । यी दुई फिल्म हेरेरै साम्राज्ञीको अभिनयबाट प्रभावित भएका रहेछन् । त्यही कारणले आर्यन र फिल्म निर्देशक लक्ष्मण रिजालले साम्राज्ञीलाई नै पहिलो प्राथकितामा राखेका थिए । ‘साम्राज्ञीको अभिनय गर्ने शैली र संवाद बोल्ने शैली देखेर नै कायरा लेख्यौं,’ आर्यन बताए, ‘यी दुई फिल्मभन्दा ‘कायरा’मा साम्राज्ञीको भूमिका अपोजिट छ । अर्थात उनी पृथक भूमिकामा छिन्।’

साम्राज्ञीले कक्षा ७ मा पढ्ताका आमासँग बसेर आर्यन अभिनित फिल्म ‘मेरो एउटा साथी छ’ हेरेको बताइन् । ‘म जनसुकै फिल्म हेर्दा पनि फिल्म हेरिसकेपछि त्यहाँको चरित्रलाई सम्झेर अन्तरसंवाद गर्थे । मैले आर्यन दाइको फिल्म हेरेपछि नायिका नम्रता श्रेष्ठको चरित्र सम्झेर ऊसँग कुराकानी गरें,’ साम्राज्ञीले हाँस्दै भनिन्, ‘एक्लै बर्बराएको देख्दा घरमा मामुले के भयो तलाईं भनेर गाली पनि गर्नुहुन्थ्यो । त्यो समयमा स्कुलको विद्यार्थी भएकाले मेरो दिमागमा न त हिरोनी बन्छु भन्ने नै थियो न त कुनै दिन आर्यन दाइसँग फिल्म खेल्छु भन्ने सोच थियो ।’आर्यन र साम्राज्ञीको प्रत्यक्ष भेट भने मलेसिया आयोजित नेफ्टा अवार्डमा भएको रहेछ । आर्यनलाई देख्दा डराउँदै ‘नमस्कार’ गरेकी साम्राज्ञी त्यो ‘डर’ सम्मानको ‘डर’ मान्छिन्।

साम्राज्ञी अभिनेत्री बनेपछि उनकोमा स्क्रिप्टको चांग लाग्यो। कति स्क्रिप्ट ‘झुर’ थिए त कति ‘ठिकै’ । स्क्रिप्टमा ‘चुजी’ साम्राज्ञीलाई ‘कायरा’को स्क्रिप्टले भने निकै सकस दियो ।  ‘स्क्रिप्ट सुन्दा मेरो मन भारी भयो । एउटा कोठामा आर्यन दाइले मलाई स्क्रिप्ट सुनाउँदा मेरो मन भारी भयो । आर्यन दाइबाट टाढा बसेर स्क्रिप्ट सुनिरहँदा कतिबेर दाइको छेउमा पुगेछु थाहा नै पाइन् । यो स्क्रिप्ट सुन्दा मलाई सास लिनै गाह्रो भयो ।’आर्यन सिग्देल इन्टरटेनमेन्ट र आर एन्ड आर प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा आर्यन र साम्राज्ञीसँगै शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने र मरिष श्रेष्ठलगायतको  अभिनय छ । फिल्ममा लक्ष्मण रिजालको निर्माण तथा निर्देशन छ । फिल्म साउन १८ मा प्रदर्शन हुँदैछ ।

आर्यन दाइको फिल्म हेरेपछि नायिका नम्रता श्रेष्ठको चरित्र सम्झेर ऊसँग कुराकानी गरे । एक्लै बर्बराएको देख्दा घरमा मामुले के भयो भनेर गाली पनि गर्नुहुन्थ्यो । मेरो दिमागमा न त हिरोइन बन्छु भन्ने थियो न त कुनै दिन आर्यन दाइसँग फिल्म खेल्छु भन्ने नै थियो ।

प्रकाशित: ३२ असार २०७५ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App