१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

नाफाको जिन्दगीमा घाटाको व्यापार

म मन हुँडलिएपछि मात्र लेख्ने तप्कामा पर्छु। कहिलेकाहीँ देशका ठूलाबडा नाम चलेका व्यक्तिले व्यक्त गरेका अभिव्यक्तिहरूले मनमा औडाहा भएर हुँडलिँदो रहेछ। नलेखी बस्नै नसकिने रहेछ।

देशमा ठूलाबडाको संख्या ठूलै छ र सबैसँग दोहोरो चिनजान पनि छैन र मेरो व्यवसायको सिलसिलामा भेटिएका ठूलाबडा सबैले  चिन्छन् भन्ने भ्रम पनि मलाई छैन।

तर, अरूले चिने नचिने पनि प्रधानमन्त्री केपी ओलीले मलाई चिन्छन् भन्नेमा म केही हदसम्म विश्वस्त छु।  यसरी दोहोरो चिनजान भएका व्यक्ति त्यसमाथि देशको अहिलेसम्मका शक्तिशाली प्रधानमन्त्रीले व्यक्त गरेका अभिव्यक्ति र भाषणले त औडाहलाई झन् दोब्बर बनाउँदो रहेछ । दोहोरो चिनजान भए पनि हामी जस्ताले प्रधानमन्त्री ओलीलाई भेटेर केही कुरा भन्न पाउनु भनेको कल्पनाभन्दा परको कुरा भइसकेको छ, आजभोलि।

अहिले कुनै पनि राजनीतिक वादभन्दा माथि उठेर देबे्र छातीमा हात राखेर प्रधानमन्त्री ओलीले निर्णय गर्ने बेला आएको छ।

यी शब्दहरूले प्रधानमन्त्री वरिपरिको घेरा नाघेर प्रधानमन्त्री ओलीसम्म पुग्ला भन्ने विश्वास त छैन।  तैपनि म जस्ता मनुवाको मनको भँडास शब्दकै माध्यमबाट भए पनि पोख्ने धृष्टता गर्दैछु, गल्ती भए माफ पाऊँ।

आजभोलि प्रधानमन्त्री ओली अरूबाट घेरिएको कुरा गर्दै छन् । अरू भनेको को ? जनताले त भोट हालेर शक्तिशाली प्रधानमन्त्री बनाइदिइ हाले । अब त बिचरा जनताले भनेको बेला राम्रोसँग हेर्न पनि नपाउने भएका ओली जनताबाट त पक्कै पनि घेरिएका होइन ।  अनि उनी कोबाट घेरिएका छन् त ? जसले उनको नजिक बसेर जायज नाजायज फाइदा लिन पल्केका छन् तिनैबाट घेरिएका छन् भन्ने कुरो उनका धेरै कार्यकर्ताले भने जस्तै म पनि भन्न सक्छु । र, तिनैको प्रभावमा परेर वा तिनैबाट घेरिएर उनी पनि तिनीहरूको स्वार्थ अभिप्रेरित प्रशंसामा हो अथवा अरू कुनै कुरामा हो रमाउन लागेका त छैनन्?

त्यसैले आजभोली जनताको हितका कुरा गर्नेसँग उनी चिढिने गर्छन् अनि बबुरो डाक्टरलाई प्रतिस्पर्धाका लागि लल्कार्छन्  । केही दिन यताका उनका अभिव्यक्तिले उनकै उचाइ घटाइरहेको मात्र नभई म जस्ताको उनीप्रतिको आकर्षण पनि कम हुँदै गइरहेको छ । 

डा. गोविन्द केसी १५ औँ पटकसम्म अनशन बस्दा कुन चाहिँ पार्टीको सरकार हुँदा बसेका छैनन् ? अनि अहिले कांग्रेसले बोक्यो भनेर कसैले पत्याउनेवाला पनि छैनन् । 

म प्रधानमन्त्री ओलीकोे शुभचिन्तक, प्रसंशक हुँ भन्न मलाई रत्तिभर पनि संकोच छैन । कारण भारतले नाकाबन्दी लगाएका बेला प्रधानमन्त्री ओलीले देखाएको अडान र देशलाई दिएको नेतृत्व नै हो ।

एक प्रशंसक भएकै नाताले प्रधानमन्त्री ओलीलाई एउटा सल्लाह दिन्छु, डा. केसीले उठाएका मागहरू पूरा यथाशीघ्र सम्बोधन गरिदिए कांग्रेसले भोलि कसलाई बोकेर हिँड्नेछ र ? सरकारको विरोध गर्ने बहाना पनि सकिन्छ । संसद्मा त कांग्रेसभन्दा एक कदम अगाडि बढेर प्रधानमन्त्री ओलीकै आफ्नै सांसदहरूले विरोध गरिरहेका छन् ।

ओली दुई तिहाइ बहुमतको प्रधानमन्त्री बन्दा मलाई पनि खुसी  लागेको थियो, कारण स्थिर र जनताको सरोकारमा ध्यान दिने सरकार बन्यो भनेर । प्रधानमन्त्री ओलीले दुई तिहाइको गर्व गर्ने हक छ, तर घमण्ड गर्न सुहाउँदैन । त्यसैले केसीलाई पार्टी खोलेर प्रतिस्पर्धा गरौँ भन्न प्रधानमन्त्री जस्तो उच्च पदमा आसिन व्यक्तिलाई शोभा दिँदैन । बरु गएर भेटेर हुन्छ वा बोलाएर हुन्छ समस्याको समाधानका विषयमा कुरा गरे त्यसले प्रधानमन्त्री ओलीकै उचाइ बढाउने नै छ । 

डा. केसी कुनै राजनीतिक दलका नेता होइनन् । न त उनी राजनीतिमा ओलीका प्रतिस्पर्धी नै हुन् । उनले उठाएका जनसरोकारका विषयहरूमा अहिले ओलीको पार्टीका केही कार्यकर्ताबाहेक सबैले समर्थन नै गरेका छन् । डा. केसीले भनेका मागहरू पूरा गर्दा ओलीको पार्टीको भोट घट्नुको सट्टा बढ्छ नै । हो, केसीका माग पूरा गर्दा के चाहिँ घट्न सक्छ भने नोटको भारी बोक्ने दुईचार जनाको समर्थन । दुईमध्ये के रोज्दा नाफाको जिन्दगीमा फाइदा हुन्छ, सायद मैले भनिराख्नु पर्दैन होला । रोजाइ प्रधानमन्त्री ओलीकै हो ।

एउटा जागिरे कर्मचारीलाई जागिर छाडेर राजनीति गर्न आइज भन्नु अगाडि प्रधानमन्त्री ओलीले नै दलीय राजनीतिमा उतारेका सरकारी कर्मचारीहरू नै हाँस्छन् भन्ने ख्याल गर्नसमेत गर्न सकेको जस्तो लाग्दैन ।

जनस्वास्थ्यसँग प्रत्यक्ष गाँसिएको कुरालाई लिएर १५ औँपटक आमरण अनशन बसिरहेको बिचरो एउटा डाक्टरलाई तर्साउन प्रधानमन्त्री ओलीले  प्रयोग गरेका शब्दहरू सुन्दा जनता होइन मेडिकल माफियाहरू चाहिँ दंग परेका मात्र छैनन् खुसीले नाचेका हुनुपर्छ । दुई तिहाइको दम्भ देखाउँदिनँ भन्दै दुई चार जनालाई फाइदा पुग्ने प्रधानमन्त्री ओलीको भाषण सुन्दा र उनले देखाएका  व्यवहार र अभिव्यक्तिले गर्दा हामी जस्तालाई विश्वास गर्न गाह्रो भइरहेको छ ।

व्यापारी र मेडिकल माफियाको हितमा नियम कानुन बनाउँदा सार्वभौम संसद्को गरिमा नघट्ने अनि जनताको हितमा कानुन बनाउभन्दा संसद्को स्वतन्त्रा हनन ग¥यो डा. केसीले भन्दै कुर्लने सासंदहरू जनताले होइन मेडिकल माफियाले चुनेर पठाएको जस्तो लाग्छ । जनताको दैनिक जीवनमा सरोकार राख्ने विषयमा, देशमा चुलिएको भ्रष्टचारका विषयमा यसै गरी गर्जिदिए कम्तीमा अलिकति भए पनि संसद्मा आवाज उठाइदिए भनेर जनता खुसी हुने थिए ।

यता प्रधानमन्त्री ओलीको सरकार चुरोट कारखाना खोल्न ज्यान फालेर लागेको छ । उता एउटा निरीह डा. जनताको अस्पतालसम्मको सर्वसुलभ पहुँच, सस्तो सेवा र गुणस्तरीय स्वास्थ्य शिक्षाका लागि आफ्नो ज्यान फाल्न खोज्दै छ भने अब प्रधानमन्त्री आफैँले भन्नुप-यो आम जनताले कसको पक्ष लिने ?

डा. केसीको अनशनले मार्सी चामलको भातको स्वाद चाख्न नपाएकाको जिब्रोमा भातको सट्टा शब्दको स्वाद चाहिँ राम्रैसँग पुग्यो, यसपालि । यस विषयमा भन्नु यति नै मात्र होे मार्सी चामलको भात र जनताको स्वास्थ्यमा धेरै नै ठूलो फरक हुन्छ । यो कुरा मैले भन्दा पनि प्रधानमन्त्री ओली आफैँले धेरै बुझेका छन् । त्यसैले प्रधानमन्त्री ओलीका विरोधीहरूले जे भने पनि जनताको स्वास्थ्य मार्सी चामलको भातसँग साट्ने हिम्मत प्रधानमन्त्री आफैँले गर्लान् जस्तो लाग्दैन।

यी त भए डा. केसी १५ औँ अनशन बसेयताका केही विषय । डा. केसी सरकार परिवर्तनसँगै जहिले पनि किन अनशन बसिरहेका छन् त ? कुनै पनि स्वार्थविना एउटा निरीह मान्छे घरिघरि किन अनशन बस्दै छ ? प्रधानमन्त्री आफैँले केसीका विषयमा यति धेरै भनिसकेपछि यसको निकास जति छिटो निस्कियो त्यति नै राम्रो हुन्छ । यदि डा. केसीको माग गलत छ भने सरकारले सही के हो भनेर सार्वजनिक गर्नुप¥यो । होइन उनका माग सही छन् भने माग पूरा गर्न सरकार किन हिच्किचाइरहेको छ ? दुई तिहाइका प्रधानमन्त्रीलाई निर्णय गर्न कसको डरले रोकिरहेको छ?

अहिले कुनै पनि राजनीतिक वादभन्दा माथि उठेर देबे्र छातीमा हात राखेर प्रधानमन्त्री ओलीले निर्णय गर्ने बेला आएको छ।

कथंकदाचित उमेरमा ओरालो लागेका डा. केसीलाई केही भइहाल्यो भने पहिलो दोषको भागी प्रधानमन्त्री ओली नै हुनुपर्ने छ । अनावश्यक दबाब र प्रभावमा पार्न खोज्नेहरू कुन दुलोमा पुग्नेछन् प्रधानमन्त्री ओलीको सरकारी संयन्त्रसमेतले खोज्न सक्नेछैन त्यतिबेला। अनि प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म आर्जन गरेको राजनीतिक जीवनबारेमा त म यसै केही भन्न सक्दिनँ तर, एउटा कुरा चाहिँ ठोकुवा गरेर भन्न सक्छु फाइदा जति मेडिकल माफियाहरूको पोल्टामा पुग्नेछ भने प्रधानमन्त्री आफैँले भन्ने गरेको नाफाको जीन्दगीमा घाटाको व्यापार चाहिँ प्रधानमन्त्री ओलीकै भागमा पर्ने निश्चित छ।

प्रकाशित: ३२ असार २०७५ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App