२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आवास निर्माण अनुदानमा २१ अर्ब खर्च

सिन्धुपाल्चोक - बिनासकारी भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा पीडितका आवास (घर) निर्माणमा हालसम्म २१ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ।

सरकार र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले उपलब्ध गराएको आवास निर्माण अनुदानमा उक्त रकम खर्च भएको हो।

सहरी विकास तथा भवन निर्माण डिभिजन, जिल्ला आयोजना कार्यान्वयन एकाइ (डिएलपिआइयु) प्रमुख टंक कार्कीले निर्मित संरचनाका आधारमा पहिलो, दोस्रो र तेस्रो गरी तीन किस्तामा पीडितलाई हालसम्म २१ अर्ब ११ करोड ७३ लाख ५० हजार अनुदान निकासा भएको बताए । उनका अनुसार पुनर्निर्माण अभियान सुरु भएपछिको दुई वर्षमा उक्त रकम खर्च भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अख्तियारीका आधारममा डिएलपिआइयुको प्राविधिक जाँचपछि जिल्ला समन्वय समितिले पीडितलाई दोस्रो र तेस्रो किस्ता अनुदान उपलब्ध गराउँदै आएको छ । अनुदान सम्झौता गर्ने सबै पीडितलाई प्राधिकरणले घरको जग खन्न समन्वय समितिमार्फत नै पहिलो किस्ता उपलब्ध गराएको थियो ।

भूकम्पको एक वर्षपछि २०७३ वैशाख १२ गते पुनर्निर्माण अभियान थालिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले भूकम्बाट सबैभन्दा बढी मानवीय र भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोकबाटै अभियान आरम्भ गरेका थिए । पीडितले घडेरी खार्न र जग खन्न पहिलो किस्तामा ५० हजार, त्यसपछि छानो तहसम्मको संरचना निर्माण गर्न दोस्रो किस्तामा डेढ लाख र छानो छाउन अन्तिम अर्थात तेस्रो किस्तामा एक लाख रुपैयाँ अनुदान पाउँदै आएका छन् ।

पीडितले तेस्रो किस्ताबाट शौचालय निर्माण या सोलार प्यानलसमेत जडान गर्नुपर्ने व्यवस्था छ । भूकम्प अघिदेखि खुला दिसामुक्त अभियान थालनी गरिएकाले सिन्धुपाल्चोकमा भने तेस्रो किस्ता प्राप्त गर्न शौचालय निर्माण अनिवार्य गरिएको छ।

डिएलपिआइयु (भवन) र जिससको तथ्यांकअनुसार अनुदान सम्झौता गरेका सबै ८२ हजार चार सय १२ पीडितले पहिलो किस्ता अनुदान पाएका छन् । जग खन्न दिइएको पहिलो किस्ता अनुदानमा चार अर्ब १२ करोड पाँच लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

निर्माणाधीन ७३ हजार आठ सय १३ घरले दोस्रो किस्ता प्राप्त गरिसकेको डिभिजनका प्रमुख इन्जिनियर रहेका गौतमले जानकारी दिए । दोस्रो किस्तामा सबैभन्दा बढी ११ अर्ब सात करोड १९ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । निर्माणाधीन ३९ हजार चार सय ९९ घरका लागि तेस्रो किस्ता निकासा भइसकेको तथ्यांक छ । तेस्रो किस्तामा हालसम्म पाँच अर्ब ९२ करोड ४८ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

प्राधिकरणसँगको सम्झौतामा पाँच हजार चार सय तीन पीडितका घर निर्माणमा विभिन्न एनजिओ÷आइएनजिओले सघाइरहेका छन् । संघसंस्थाले हालसम्म अनुदानमा एक अर्ब ५० करोड १८ लाख रुपैयाँ खर्चिएका छन् । उनीहरुले चार हजार दुई सय २० घरका लागि दोस्रो र तीन हजार पाँच सय ९१ पीडितलाई तेस्रो किस्ता उपलब्ध गराइसकेका छन्।

सिन्धुपाल्चोकका कुल लाभग्राही ८३ हजार ६ सय ६३ मध्ये झन्डै आधा पीडितका घर बनाउन जाइका (जापानी सरकार सहयोग नियाग)को ऋण सहयोग छ ।

जाइकाको ऋणमा तत्कालीन ३१ गाविसमा ४० हजार ९६ घर पुनर्निर्माण भइरहेको हो । सिन्धुपाल्चोक र गोरखामा ५५ हजार घर बनाउन सघाइरहेको जाइकाले हालसम्म पाँच अर्ब ८६ करोड रुपैयाँ ऋण नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ । जाइका र नेपाल सरकारबीच ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण सम्झौता भएको थियो ।

थपिए भूकम्पपीडित लाभग्राही
छुट र पुनः सर्भेबाट भूकम्पपीडित लाभग्राही थपिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पछिल्लो निर्णयअनुसार छुट र पुनः सर्भेबाट तीन हजार तीन सय सात पीडित लाभग्राहीमा थपिएका हुन् ।

पीडितको गुनासोपछि प्राधिकरणले गत वर्षको भदौमा छुट र पुनः सर्भे गरेको थियो । प्राधिकरण, जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख माधवजंग कार्कीले विभिन्न चरणमा भइरहेको गुनासो सम्बोधन, छुट र पुनः सर्भेबाट लाभग्राही थपिइरहेको बताए ।

यससँगै भूकम्पबाट सबैभन्दा बढी क्षतिग्रस्त सिन्धुपाल्चोकमा आवास निर्माण अनुदान पाउने लाभग्राही संख्या बढेर ८६ हजार नौ सय ७१ पुगेको छ । भूकम्पपछि गरिएको क्षति सर्भेबाट पहिलो चरणमा ७८ हजार पाँच सय ३७ लाभग्राहीमा समेटिएका थिए । गुनासो, छुट र पुनः सर्भेबाट थप आठ हजार चार सय ३४ पीडित लाभग्राहीमा समेटिएका छन् । छुट र पुनः सर्भेबाहेक प्राधिकरणले विभिन्न समयमा गरेको गुनासो फछ्र्यौबाट पाँच हजार एक सय २२ लाभग्राही थप भएका थिए।

सचिवालयका अनुसार पीडित लाभग्राहीमा नपरेको भन्दै छुट र पुनः सर्भेसमेत २३ हजार नौ सय ५४ ले गुनासो भरेका थिए । हालसम्म १० हजार दुई सय २८ गुनासो फछ्र्योट हुँदा एक हजार आठ सय लाभग्राहीमा समेटिएनन् ।

छुट र पुनः सर्भेबाट लाभग्राहीमा समेटिएका पीडितले सम्बन्धित वडा कार्यालयमार्फत धमाधम अनुदान सम्झौता गरिरहेको जिल्ला समन्वय समितिका सूचना अधिकृत युगबहादुर खड्काले बताए । ‘उनीहरुलाई आइतबारदेखि बैंकमार्फत पहिलो किस्ता ५० हजार रुपैयाँ अनुदान निकासा गर्दैछौँ,’ उनले भने।

पाँच सय ६२ ले मर्मत अनुदान पाउने

भूकम्पले घरमा क्षति पुगेका जिल्लाका पाँच सय ६२ पीडितले रेट्रोफिट (मर्मत) गर्न अनुदान पाउने भएका छन् । प्राधिकरणले उनीहरुलाई प्रवलीकरण (घर मर्मत) सूचीमा समेटेको छ । भूकम्पबाट क्षतिग्रस्त घर रेट्रोफिट गर्न पीडितले एक लाख रुपैयाँ अनुदान पाउँछन्।

यसअघि प्रवलीकरण सूचीमा परेकामध्ये २५ पीडितले मात्र अनुदान सम्झौता गरेर पहिलो किस्ता लगेका छन् । अधिकांश छुट र पुनः सर्भे र गुनासोमार्फत प्रवलीकरणमा समेटिएको हुँदा उनीहरुले अनुदान सम्झौताको प्रक्रियामा छन् ।

प्रकाशित: ३२ असार २०७५ ०१:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App