१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वरिष्ठता मिचेर वनविज्ञान डिन सिफारिस

काठमाडौं–नेपाली कांग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक संघ पोखरा क्याम्पस एकाइले प्राज्ञिक मर्यादा र प्रशासनिक कौशलभन्दा राजनीतिक पहुँचका आधारमा वनविज्ञान अध्ययन संस्थानको डिन सिफारिस गरेको भन्दै प्राध्यापकले विरोध जनाएका छन् ।

संघले एकाइ सभापति प्राडा कृष्णराज तिवारीलाई अनुकूल हुने छनोट आधार तयार गरी एकलौटी रूपमा डिन सिफारिस गरेको प्राध्यापकको आरोप छ । तिवारी त्रिवि उपकुलपति तीर्थराज खनियाँनिकट हुन् ।

आउँदो असोज २ गते डिन चिरञ्जीवीप्रसाद उपाध्यायको कार्यावधि सकिँदै छ । विगतदेखि नै संस्थानको डिनमा कांग्रेसकै दबदबा रहँदै आएको छ । यसपालि संघले अवधेश सिंहको संयोजकत्वमा पाँचसदस्यीय समिति गठन गरी मापदण्ड तोकेरै चार प्राध्यापकको नाम सिफारिस गरेको थियो ।

समितिले प्राडा कृष्णराज तिवारी, प्राडा सन्तोष रायमाझी, प्रा.अच्युतराज ज्ञवाली र सहप्राध्यापक डा.राजुराज रेग्मीलाई छनोट गरेकामा संघका सचिव राजन सुवेदीले एकलौटी रूपमा तिवारीको नाम सिफारिस गरेपछि विवाद चुलिएको हो । छनोट मापदण्डमा सबै प्राध्यापकको सहमति नभए पनि उम्मेदवार बनेका सबैका नाम पठाउने सर्त राखिएको थियो । सचिव सुवेदीले कार्यसमितिका अन्य सदस्यको बैठकसमेत नबोलाई आफूखुसी सिफारिस गरेको आरोप छ ।

संघले वरिष्ठता लत्याएर कृष्णराज तिवारीलाई वनविज्ञान अध्ययन संस्थानको डिन सिफारिस गरेको आरोप

मापदण्डमा पार्टीलाई सहयोग गरेकोमा ७.५ र पार्टीको विचार अँगालेकोमा ७.५ प्रतिशत अंक राखिएको छ । यसै गरी प्रशासनिक दखलको १० नम्बर, कार्यअवधिको १० नम्बर, प्रोजेक्ट व्यवस्थापनमा १० नम्बर, कार्यरत पदका लागि १० नम्बर, अनुसन्धानका लागि १० नम्बर, कांग्रेस पार्टीमा योगदान गरेबापत ५ नम्बर, संस्थालाई सहयोग गरेकोमा १० नम्बर राखिएको छ ।

‘तर, अन्तिममा संघकै सभापति तिवारीको नाम सिफारिस गरियो,’ एक प्राध्यापकले नागरिकसँग भने, ‘मापदण्ड पनि उनकै अनुकूल बनाएर वरिष्ठहरूलाई लत्याइयो ।’ उनका अनुसार वरिष्ठताका आधारमा तिवारी तेस्रो नम्बरमा पर्छन् । प्राध्यापक ज्ञवाली पहिलो र सन्तोष रायमाझी दोस्रो प्राथमिकताका हुन् ।

उपकुलपति खनियाँनिकट भएकै आधारमा तिवारीलाई डिन बनाउन लागिएको असन्तुष्टको आरोप छ । उनीहरूका अनुसार तिवारीले प्रोजेक्ट ल्याएर उपकुलपतिलाई नर्वे भ्रमणसमेत गराएका थिए । कलेजमा प्रोजेक्ट ल्याएको र सभापति भएकै नाताले उनलाई एकलौटी रुपमा डिन सिफारिस गरिनु उचित नभएको अन्य प्राध्यापकसमेत बताउँछन् । एक प्राध्यापकले भने, ‘डिन भनेको व्यवस्थापकीय पद हो । संस्था हाँक्न सक्ने क्षमता मुख्य हुन्छ तर मापदण्डमा यी विषय पछि पारिएको छ ।’

संघ सचिव सुवेदी भने त्रिविमा भागबन्डाको राजनीतिले शैक्षिक स्तर खस्किँदै गएको बताउँछन् । डिन सिफारिसमा संघले मापदण्ड बनाए पनि राजनीतिक हिसाबले पक्षपाती रहेको उनी स्विकार्छन् । ‘यस वर्ष भने संघले सिफारिस समिति बनाएर मापदण्डका आधारमा नाम सिफारिस गरेको छ,’ उनले भने । तर, उनको दाबीप्रति प्राध्यापकहरू सन्तुष्ट हुन सकेका छैनन् । 

विश्वविद्यालयका विभिन्न संस्थान र संकायमा डिन नियुक्ति गर्दा प्राज्ञिक मर्यादा, प्रशासनिक क्षमता र कार्यकौशल छाडेर राजनीतिक भनसुनका आधारमा कनिष्ठ व्यक्तिको नियुक्तिले शैक्षिक क्षेत्र धूमिल हुने प्राध्यापक बताउँछन् ।

‘पूर्वप्रधानमन्त्री ओलीको पालामा पनि त्रिवि सेवा आयोगमा सहप्राध्यापक चैतन्य शर्मालाई अध्यक्ष नियुक्ति गरियो,’ एक प्राध्यापकले भने, ‘प्राध्यापक नियुक्ति गर्नुपर्ने ठाउँमा सहप्राध्यापकले कसरी जज गर्न सक्छ ?’

प्रकाशित: २४ भाद्र २०७३ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App