१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

घटे ट्विटर फलोअर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको ट्विटरमा करिब चार लाख फलोअर थिए । तर, अहिले उनको फलोअर संख्या घटेर ७७ हजारको हाराहारीमा पुगेको छ । केही दिनमै उनको फलोअरको संख्यामा करिव ८० प्रतिशतले गिरावट आएको हो।

कार्की मात्र होइन, ट्विटरमा सबैभन्दा धेरै फलोअर रहेकी अमेरिकी गायिका केटी पेरी र अर्की गायिका लेडी गागाले पनि हालै मात्र करिव २५ लाखको हाराहारीमा फलोअरहरू गुमाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर फलोअरको संख्यामा केही कमी आएको छ । आफ्ना अनुयायी र आलोचक दुवैसँग प्रत्यक्षरूपमा ट्विटरबाट आफ्नो कुरा राख्दै आएका उनले करिब चार लाखको संख्यामा फलोअर गुमाएका हुन् । बुधबारसम्म पाँच करोड ३४ लाख फलोअर रहेको उनको ट्विटर खातामा फलोअरको संख्या घटेर बिहीबार पाँच करोड ३० लाख पुग्यो।

ट्रम्पभन्दा अगाडि अमेरिकाका राष्ट्रपति रहेका बाराक ओबामाले अझ धेरै फलोअर गुमाउनुपर्यो । १० करोड ४० लाखको हाराहारीमा फलोअरको संख्या रहेका उनले करिब २० लाख फलोअर गुमाए।

ट्विटरको सुरुवातदेखि नै प्रयोग गर्दै आइरहेका अमेरिकी अभिनेता एस्टन कुचरले पनि १० लाखभन्दा धेरै ट्विटर फलोअर गुमाए । अन्य धेरै सेलिब्रेटीहरूलाई ट्विटर प्रयोग गर्न प्रेरित गरेका उनको आधिकारिक ट्विटर खातामा बुधबार एक करोड ९१ लाखको हाराहारीमा फलोअर रहेकोमा बिहीबार बेलुकी यो संख्या एक करोड ८० लाखको हाराहारीमा पुग्यो । यो करिब ६ प्रतिशतले घटेको हो ।

ट्विटरले हालै मात्र ‘लक गरिएका’ करौडौं खाताहरू बन्द गर्न सुरु गरेपछि ट्विटर प्रयोगकर्ताहरूले फलोअर गुमाउन थालेका हुन् । ट्विटरले यसलाई ‘विश्वास बनाउन जारी विश्वव्यापी प्रयास’ भनेको छ ।

यीसँगै संसारभरका धेरै सेलिबे्रटीहरूले लाखौंको संख्यामा ट्विटर फलोअरहरू गुमाएका छन् । ट्विटरले हालै मात्र ‘लक गरिएका’ करौडौं खाताहरू बन्द गर्न सुरु गरेपछि ट्विटर प्रयोगकर्ताहरूले फलोअर गुमाउन थालेका हुन् । ट्विटरले यसलाई ‘विश्वास बनाउन जारी विश्वव्यापी प्रयास’ भनेको छ । यसले सामाजिक सञ्जालमा हुने गलत समाचार अर्थात् फेक न्यूज र फेक प्रयोगकर्तामाथि सुक्ष्म परीक्षण गर्ने नयाँ नीतिलाई कार्यान्वयन गरेको जनाएको छ ।

बिहीबार कार्यान्वयन सुरु गरिएको यो नीतिबाट धेरै प्रयोगकर्ताहरूले रातारात आफ्नो फलोअरको संख्यामा कमी आएको अवलोकन गरेका हुन् । ट्विटरको नयाँ नीतिले असामान्य गतिविधिका लागि लक गरिएका प्रयोगकर्ताहरूको खाता बन्द गर्न सक्नेछ । यस्ता गतिविधिमा धेरै जनाबाट ब्लक हुनु वा असामान्य मात्रामा ट्विट गर्नु, परिचय प्रमाणीकरणका लागि गरिएको प्रयासको जवाफ नदिनुलगायत पर्छन् ।

व्यक्तिगत मात्र नभई संस्थागत ट्विटर अकाउन्टमा पनि ठूलो संख्याले गिरावट आएको छ । फेक खाताहरूलाई बन्द गर्ने क्रममा ट्विटरको आफ्नै आधिकारिक कर्पोरेट खाताले नै करिव ८० लाखको हाराहारीमा फलोअर गुमाएको छ । यो ट्विटरको जम्मा फलोअरको संख्याको तुलनामा करिव १२ प्रतिशतले कमी हो । त्यस्तै, न्युयोर्क टाइम्सको मुख्य खाताको ट्विटर फलोअरको संख्या बुधबार चार करोड २३ लाख रहेकोमा बिहीबार सात लाखले घटेर चार करोड १६ लाख पुगेको थियो ।

ट्विटरको यो कदमले संसारभरका उच्च सरकारी कार्यालय र अधिकारीहरूका ट्विटर खाताहरूको फलोअरको संख्यामा निकै परिवर्तन भएको देखाएको छ ।रुवाण्डाका राष्ट्रपति पल कागामेले एकै दिनमा उनका एक तिहाई फलोअर गुमाएका छन् । दुई दशकदेखि रुवाण्डाको शीर्ष नेताका रूपमा रहेका कागामेको बुधबार करिव १८ लाख फलोअर थिए । बिहीबार भने यो संख्या एक तिहाइले घटेर १२ लाखमा झरेको थियो । जोर्डनको रानीको पनि तीन लाख फलोअर र टर्कीका राष्ट्रपतिको दुई लाख फलोअर घटेका छन् । भ्याटिकन सिटीका पोप फ्रान्सिसले पनि एक लाख फलोअर गुमाएका छन् ।

जर्ज डब्लु. बुस राष्ट्रपति हुँदा ह्वाइट हाउसको प्रेस सचिवको रूपमा काम गरेका एरि फ्लेइस्चरले पनि फलोअर घटेको अनुभव गरेका छन् । ‘तपाईं मलाई फलो गरिरहेको फेक व्यक्ति हुनुहुन्छ भने कृपया आफ्नो हात उठाउनुहोस्,’ उनले ठट्टा गर्दै भनेका छन् ।

यो साताको ट्विटरको फलोअरमाथिको काँटछाँटले सोसल मिडिया प्लेटफर्महरूका सेलिबे्रटी स्टाटस बनाएकाहरूलाई पनि लक्षित गरेको छ । क्यानेडियन गायक तथा कलाकार जस्टिन बिबरले ३० लाखजति फलोअर गुमाएका छन् भने अमेरिकी गायिका एरिना ग्रान्डेले करिब १० लाख फलोअर गुमाएकी छन् ।

केही सेलिबे्रटीहरूको सोसल मिडिया अवस्थामा अझ ठूलो धक्का लागेको छ । आधा अर्ब डलरको व्यवसायको प्रमुख रहेकी कुनै समयकी मोडल क्याथे आयरल्याण्डले बुधबारदेखि बिहीबारसम्म एक दिनमा ७७ प्रतिशत ट्विटर फलोअर गुमाएकी छन् ।

ट्विटरको कानुनी टोली प्रमुख विजया गडेले नयाँ नीतिका कारण धेरैजसो प्रयोगकर्ताले करिब चार वटा फलोअर गुमाउन सक्ने बिबिसीलाई बताएकी छन् । तर, उनले धेरै फलोअर भएका खाताहरूमा भने गुमाउने संख्या धेरै हुने चेतावनी दिएकी छन् । ट्विटरले आफ्नो यो पछिल्लो कदम प्रयोगकर्ताको आत्मविश्वास निर्माण गर्ने उद्देश्यले चालिएको जनाएको छ ।

जनवरीमा ‘दी टाइम्स’ले गरेको एक अनुसन्धानमा अमेरिकाको फ्लोरिडा राज्यमा रहेको एउटा सानो कम्पनीले फेक फलोअरहरू र अन्य सामाजिक सञ्जाल अभ्यासहरू संसारभरका हजारौं मानिसहरूलाई बिक्री गरेको पत्ता लगाएको थियो । यस्ता फेक फलोअरहरू राजनीतिक नेताहरू, मोडलहरू, कलाकारहरू र लेखकहरूले खरिद गरेको पाइएको थियो । गत जनवरीमा न्युयोर्कका प्रमुख न्यायाधिवक्ताले पनि ट्विटरले लाखौंको संख्यामा फेक फलोअरहरू सामाजिक सञ्जाल प्रयोगकर्तालाई बिक्री गरेको भन्दै आफूहरूले अनुसन्धान सुरु गरेको बताएका थिए ।ट्विटरका प्रवक्ता एली पाभेलाले प्रयोगकर्ताको फलोअरको सूचीबाट शंकास्पद खाताहरूलाई लक गर्ने र हटाउने काम आगामी दिनमा पनि निरन्तर हुने बताएकी छन् ।

कम्पनीले पछिल्लो समयमा केही मात्रामा गुमाएको विश्वास पुनस्र्थापना गर्न प्रयास गरिरहेको छ । धेरै प्रयोगकर्ताहरूले स्वचालित वा फेक खाताले उनीहरूको फलोअरको संख्या बढाएको र त्यसलाई उनीहरूले उनीहरूको राजनीतिक सक्रियता, व्यापार व्यवसाय र मनोरञ्जनको क्षेत्रको करियरका लागि प्रयोग गरिरहेको भन्दै ट्विटरमाथि आरोप लाग्दै आएको छ । धेरै फलोअर हुनेहरूले आफ्नो फलोअरको संख्याको आधारमा सामाजिकरूपमा प्रभावशाली रहेको दाबी गर्ने भएकाले पनि यस्तो आरोप लाग्दै आइरहेको थियो ।

कटौतीको क्रम पूरा भएपछि ट्विटरले आफ्नो प्लेटफर्ममा जम्मा प्रयोगकर्ताको संख्या ६ प्रतिशतले घट्ने अनुमान गरेको छ, जुन निकै धेरै हो ।

(एजेन्सीहरूको सहयोगमा)

 

 

प्रकाशित: ३० असार २०७५ ०३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App