१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘टाइप टु मधुमेह बढिरहेको छ’

हाम्रो खानपान र जीवनशैलीसँग मधुमेहको सीधा सम्बन्ध छ । नेपालीहरू मधुमेहको जोखिममा कति छन् ? यो रोग लाग्नै नदिन के गर्ने ? यस विषयमा काठमाडौं मधुमेह तथा थाइराइड उपचार केन्द्रका   इन्डोक्राइनोलोजिस्ट डा.अंशुमाली जोशीसँग नागरिक दैनिककी पवित्रा सुनारले कुराकानी गरेकी छन्।  

नेपालमा प्रत्येक वर्ष मधुमेहका रोगीहरू बढ्दै गएका छन् भन्ने सुनिन्छ, वास्तविकता के हो ?
यो रोग नेपालमा मात्र होइन, विश्वभरि नै बढेको छ । हाल विश्वमा कुल जनसंख्याको ८.६ प्रतिशत मानिस मधुमेहका रोगी छन् । त्यो भनेको ४४ करोड मानिसलाई मधु्मेह छ । नेपालमा कुल जनसंख्याको औसत ८ प्रतिशत मानिसलाई मधुमेह छ ।

पहिला विदेशमा अनि हामीकहाँ देखिएको हो ?
हामीकहाँ पहिला पनि थियो । त्यतिबेला रोगको परीक्षण हुन्थेन । लक्षणका आधारमा मात्र पहिचान हुने हैन । पहिला बेला–बेलामा मधुमेह जाँच गर्नुपर्छ भन्ने चेतना थिएन । अहिले सहरी जीवनशैली बढेसँगै मधुमेहका बिरामी पनि बढेका छन्।

सहरी जीवनशैली बढेको चाहिँ कहिलदेखि हो ?
दश-पन्ध्र वर्षदेखि नेपालीमा सहरी जीवनशैली बढेको देखिन्छ । जब बसाइँसराइ बढ्यो, खुला अर्थनीतिका कारण सहरीकरण बढ्यो र मानिसमा सहरमै काम गर्ने बानीको विकास हुँदै गयो । यो भनेको मान्छेको जीवनशैली सहरीकरण हुँदै जानु हो । यस्तो जीवनशैलीले मधुमेह निम्त्याएको देखिन्छ।

जीवनशैलीको मधुमेहसंग के सम्बन्ध छ ?
धेरै देखिने मधुमेह टाइप टु (दोस्रो प्रकारको) मधुमेह हो । दुई कारणले यो मधुमेह हुन्छ । एउटा वंशाणुगत, अर्को जीवनशैली । आफ्नो वंश तथा नजिकका नातेदारलाई मधुमेह छ भने त्यो आफूलाई पनि हुन सक्छ ।

बढी क्यालोरी, बढी चिल्लोयुक्त खाना खाने,  बढी तनाव लिने तथा व्यायाम नगर्ने व्यक्तिलाई मधुमेह लाग्छ ।
शरीरभित्र प्याङ्क्रियाज भन्ने अंग हुन्छ । त्यो अंगले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गरी विभिन्न कोषमा पठाउने काम गर्छ । तनावका कारण इन्सुलिनविरोधी हार्मोनहरू बढ्छन् र शरीरमा इन्सुलिनको मात्रा कमी हुन हुन्छ ।

जसका कारण पनि मधुमेह लाग्ने संभावना हुन्छ । इन्सुलिन भन्ने हार्माेन प्याङ्क्रियाजबाट उत्पादन हुन्छ । यो हार्मोनले ग्लुकोजलाई शरीरका सबै कोषमा पठाउँछ । इन्सुलिन उत्पादन हुन सकेन भने या कम भयो भने शरीरका अन्य कोषहरूमा ग्लुकोज पठाउन सक्दैन । मानिसले तनाव लिँदा इन्सुलिन कम उत्पादन हुन्छ । त्यसले काम गर्न सकेन भने मधुमेह हुन्छ ।

मधुमेह कति प्रकारका हुन्छन् ?
मधुमेह चार प्रकारका हुन्छन् । टाइप वान (पहिलो प्रकारको) मधुमेह बच्चाहरूमा बढी हुन्छ । विभिन्न भाइरसका कारणले हुने मधुमेह, (यद्यपि एकिन कारण छैन) यसलाई अटोइम्युन रोग भनिन्छ ।

दोस्रो, टाइप टु मधुेमह (खानपान तथा गलत जीवनशैलीका कारण युवा उमेरमै देखिने मधुमेह)।तेस्रो, गर्भावस्थामा देखिने मधुमेह (गर्भवती अवस्थामा देखिने बच्चा जन्मेपछि हराउने या पछि गएर फेरी देखिन सक्छ) । जसलाई जेसस्नल मधुमेह भनिन्छ । र, चौथो सकेन्डरी मधुमेह (कुनै औषधि लामो समय प्रयोग हुँदा, प्याङ्क्रियाजमा ट्युमर पलायो भने हुने अवस्था इन्सुलिन उत्पादनै नहुने मधुमेह) हो । यीमध्ये सबैभन्दा बढी देखिने मधुमेह हो, टाइप टु।

महिलामा बढी देखिन्छ कि पुरुषमा ?
मधुमेह महिला या पुरुषमा बढी भन्ने छैन । दुबैमा बराबर देखिन्छ । मधुमेह पहिला धनीलाई हुने रोगका रूपमा पनि चिनिन्थ्यो । तर अहिले सबैलाई हुन्छ।

गाउँमा कि सहरमा बढी देखिन्छ ?
सहरको तुलनामा गाउँमा कम देखिन्छ । गाउँमा प्राकृतिक फाइबर भएका ताजा खानेकुरा खाने चलन बढी छ भने सहरमा पुराना र बट्टामा राखिएका खानाहरू खाने चलन छ । यी खानाहरूमा फाइबर हुँदैन भने चिल्लोको मात्रा बढी हुन्छ । गाउँका खानामा फाइबर नष्ट भएको हुँदैन । फाइबरले मधुमेह लाग्न दिँदैन ।  जसले गर्दा गाउँमा मधुमेह कम छ ।

मधुमेह यही गतिमा बढ्यो भने जनस्वास्थ्यमा कस्तो असर पर्ला ?
यही गतिमा मधुमेह बढेमा जनस्वास्थ्यमा ठूलो असर पर्छ । उत्पादक उमेरको जनशक्ति कमजोर बन्छ नै ।  यो रोग जटिल भई उपचार खर्च बढी हुन्छ ।

यो दीर्घ रोग भएकाले नियमित उपचारका क्रममा व्यक्ति र देश दुबैलाई आर्थिक भार पर्छ । बढी देखिएको टाइप टु मधुेमह सक्रिय उमेरको जनशक्तिलाई लाग्दा उनीहरूको उत्पादन क्षमता स्वतः घट्छ । जसले समग्रमा देशकै अर्थतन्त्रमा भार पर्छ ।  

शारीरिक स्वास्थ्यमा अन्य कस्ता जटिलता आउँछन् ?
लामो समय मधुमेह नियन्त्रण भएन भने आँखाको दृष्टिपर्दामा असर गर्छ । आँखामा रगत जम्ने, अन्धोपना बढ्ने हुन्छ । त्यसैगरी मिर्गौला फेल भई डायलासिस गर्नुपर्ने, खुट्टाको नसामा असर गरेर पक्षघात हुने, खुट्टाका भागहरू काट्नुपर्नेजस्ता जटिलता आउन सक्छन् ।

गलत जीवनशैलीको कारण कम उमेरमै पनि मधुमेह भएको सुनिन्छ ? कसरी हो ?
टाइप वान मधुमेह बच्चामा हुने नै हो । तर वयस्कमा देखिने टाइप टुसमेत बच्चाहरूमा देखिन्छ । गलत जीवनशैलीका कारण दश ÷बाह्र वर्षका बच्चाहरूमा समेत टाइप टु मधुमेह देखिएका छन् ।

मोटोपनका कारण दश वर्षकै उमेरमा पनि देखिने गरेको छ । व्यायमाको कमी, बढी क्यालोरीको खाना र कोठाभित्रै बसेर खेल खेल्ने चलनले बच्चाहरूमा यो मधुमेह देखिने गरेको हो । हाम्रो क्लिनिकमा मात्रै महिनामा औसत ३० बच्चा टाइप टु मधुमेह लागेर आउँछन् ।

मधुमेह नियन्त्रण भएन भने अन्य अंगमा कस्तो असर पर्छ ?
पाँच वर्षसम्म निरन्तर मधुमेह नियन्त्रण भएन भने आँखा, मिर्गौला र मुटुमा समेत असर गर्न सक्छ ।

मधुमेह लागिहाल्यो भने के गर्ने ?
लागिहालेमा मधुमेह नियन्त्रणमै ध्यान दिनुपर्यो । यसका लागि मुख्य  पाँच कुरामा ध्यान दिनुपर्छ । पहिलो कुरा, क्यालोरी मिलाएर ठीक समयमा खाना खाने । जुन खानामा फाइबर भएको हुनुपर्छ ।

दोस्रो, औषधि नियमित खाने । तेस्रो, नियमित स्वास्थ्य परीक्षण गर्ने, चौथो नियमित व्यायाम गर्ने, पाँचौ, तनाव नलिने ।यी पाँच सूत्र दैनिक जीवनमा अपनाएमा मधुमेह बढ्न पाउँदैन । मधुमेह नबढेपछि अन्य रोगहरू थपिँदैनन् र मधुमेहका रोगीको आयु बढ्छ । नियन्त्रण भएन भने जटिल रोगहरू लागेर मानिसको आयु घट्छ ।

मधुमेह लाग्नै नदिन के गर्ने ?
व्यायाम, खानपान, प्रणायम, योग गर्ने, तनाव नलिने तथा उचित खानपान र जीवनशैली अपनाएमा यो रोगबाट बच्न सकिन्छ । मुख्य कुरा, गलत जीवनशैलमा सुधार ल्याउन सक्यौं मधुमेहबाट बच्न सकिन्छ ।

मधुमेहका बिरामीले खान हुने र नहुने खाना के–के हुन् ?
मधुमेहका रोगीले धेरै कुरा खान हुँदैन भनेको सुनिन्छ । त्यो गलत कुरा हो । सबै खानेकुरा खान हुन्छ तर, कोर्बोहाइडे«ट, भिटामिन, प्रोटिन मिलाएर खानुपर्छ । मुख्य कुरा, क्यालोरी मिलाएर ठीक समयमा जे पनि खानु हुन्छ ।

मधुमेह लागेकाले गर्नुपर्ने व्यायाम कस्तो हुन्छ ?
आजकल कतिपय मानिसले सामान्य योगलाई व्यायाम मानेको देखिन्छ । त्यतिले मात्र पुग्दैन । मुख्यगरी पसिना आउने गरी गरिने व्यायाम कम्तीमा आधा घण्टा छिटो–छिटो हिँड्ने, पसिना आउने काम गर्ने, एरोबिक व्यायाम, नृत्य, ब्याडमिन्टनजस्ता खेलले पनि राम्रो व्यायाम हुन्छ ।

नेपालमा मधुमेह उपचारको स्थिति के छ ?
नेपालमा फास्टिङ पिपी परीक्षण सुविधा, स्वास्थ्य चौकीमै उपलब्ध छन् । सरकारले स्वास्थ्य बिमा लागू गरेको छ । बिमाले मधुमेहको औषधि पनि वितरण गर्दैछ । टाइप टु मधुमेह भएकाले नियमित औषधि खानुपर्छ । सरकारले यो औषधि बिमामार्फत नै वितरण गर्दैछ ।

 

प्रकाशित: ३० असार २०७५ ०३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App