१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विपत् व्यवस्थापन गर्न स्थानीय तह उदासीन

दमक - यसपटक बर्खायामको सुरुवातमै झापामा बाढीले नराम्रो क्षति पुर्यायो । झापाका सबै स्थानीय तहमा बाढीको प्रभाव देखियो । बाढीकै कारण आधा दर्जन व्यक्तिको ज्यान समेत गयो ।

बस्तीमा खोला पस्दा धेरै विस्थापित बने । झापामा मुख्य नदीहरू कन्काइ, रतुवा, बिरिङ्ग, मावा, गेउरियाका कारण बर्सेनि ठूलो क्षति हुन्छ । सबैजसो स्थानीय तह बाढीको जोखिममा छन् । झापाका मुख्य ८ वटा नदीका कारण ८५ वटा बस्ती जोखिममा छन्, तर प्रत्येक वर्ष आउने बाढीको जोखिम न्युनीकरणका लागि खासै काम हुन सकेको छैन ।एक साताअघि गेउरिया खोलाको बाढी सडक सतहभन्दा माथि आएपछि गौरादह नगरपालिकाको आधा भाग सम्पर्कविच्छेद भयो ।

हरेक वर्ष अलिक ठूलो बाढी आउनासाथ होचो स्थानमा रहेको पुल प्रत्येक वर्ष डुबानमा पर्छ । सडक अवरुद्ध हुन्छ । ‘जनताले बर्सेनि यस्तै समस्या भोगिरहे पनि पुल मर्मत गर्न र जोखिम कम गर्नका लागि स्थानीय सरकारले ध्यान दिन सकेन,’ गौरादह जेसिजका पूर्वअध्यक्ष क्रान्तिदीप काफ्लेले भने, ‘बाढीकै कारण गेउरिया नदीमा बर्सेनि एकजनाको ज्यान जाने गरेको छ ।’ उनले अर्को पुल बनाउन पटकपटक दबाब दिए पनि सुनुवाइ नभएको उल्लेख गरे । गेउरिया नदीमा पानीको सतह बढेसँगै त्यस क्षेत्रका विद्यालय बन्द हुने गरेका छन् । सार्वजनिक सवारीसाधन ठप्प हुन्छ । ‘पुल होचो भएका कारण सवारीसाधन आवतजावत गर्न सक्दैनन्,’ काफ्लेले भने, ‘तर, स्थानीय सरकारले भने त्यतातिर पटक्कै चासो दिएको छैन ।’

असारको पहिलो साता झापाको कमल गाउँपालिका ५ गुह्ेश्वरी टोलमा धमाधम रतुवा नदीमा बाँसको अस्थायी तटबन्ध बनाइयो । बर्सेनि नदी कटान भोग्दै आएका त्यस क्षेत्रका बासिन्दाले केही राहत महसुस गरे । यसपटकको बाढीले त्यतापट्टि खासै क्षति नगरेको वडाध्यक्ष डम्बर निरौलाले बताए । दमकको रतुवाले बहाव परिवर्तन गरेर कैयौं परिवारको उठीबास लगायो । अघिल्लो साता गौरादह नगरपालिका ७ का फागो ऋषिदेवको पानीमा डुबेर मृत्यु भयो । न स्थानीय सरकारले राहत दिन सक्यो न त जोखिम न्यूनीकरणका लागि कुनै काम गर्यो ।

गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले यस वर्षको नगरसभा भर्खरै सकिएको र प्रकोप न्यूनीकरणका लागि काम गर्न बाँकी रहेको बताए । ‘नगरसभाले क्षति न्यूनीकरणका लागि यस वर्ष २५ लाख रुपैयाँ विनियोजन गरेको छ,’ उनले भने, ‘यसले क्षति क्षति न्यूनीकरण र पुनस्र्थापनाका लागि पहल गर्ने हो ।’गौरीगन्ज गाउँपालिका झापामा सबैभन्दा बढी बाढीबाट जोखिमयुक्त गाउँपालिका हो । यस वर्ष बाढीकै कारण ८ परिवार विस्थापित भएका छन् ।

वर्षासँगै कन्काई नदीमा आएको बाढीले गौरीगन्ज २ भाकुरमारीका ८ परिवारका ४० जना विस्थापित भए । तर, उनीहरूलाई तत्काल राहत र पुनर्वासको काम हुन सकेन । विस्थापित परिवारलाई नेपाल–भारत सिमाना दरघाहा कञ्चनबारीमा रेडक्रसले राख्यो । गौरीगन्ज गाउँपालिकाका उपाध्यक्ष दीपेन्द्र थापाले अघिल्लो वर्ष सम्पूर्ण प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको बताए । ‘यस वर्ष गाउँपरिषद् चलिरहेको छ,’ उनले भने, ‘यसमा केही रकम थप गरेर योजना ल्याउने तयारी गरेका छौं ।’

गाउँपालिकाले यस वर्ष प्राकृतिक विपत्ति न्यूनीकरणका लागि भनेर ७ थान टर्च र ३० थान लाइफ ज्याकेट प्रहरीलाई हस्तान्तरण गरेको छ।

दमक नगरपालिका ३ दमकको सबैभन्दा बढी बाढीबाट जोखिमयुक्त वार्ड हो । प्रत्येक वर्ष मावा नदीका कारण यस ठाउँमा ठूलो क्षति हुने गरेको छ । यस वर्ष पनि असार लाग्दै आएको बाढीले ठूलो क्षति पुगेको छ । दमक ३ स्थित दूधे बस्तीनजिकैको जमिन कटान गर्न थालेको छ । धार परिवर्तन गरेर मावा खोलाले अघिल्लो साता एक बिघा जमिन कटान गरेको वडाध्यक्ष नवीन बरालले बताए । ‘अहिलेसम्म अस्थायी रूपमा नदी नियन्त्रणका लागि ढुंगा र तारजाली लगाइएको छ,’ उनले भने, ‘अरू थप काम गर्न सकिएको छैन । खोलाले स्थानीय राजु श्रेष्ठ र बालकृष्ण भट्टराईको एक बिघा जमिन कटान गरेको छ । खोलाले कटान तीव्र पारेपछि दूधे बस्तीका ५० घर उच्च जोखिममा छन् ।

शिवसताक्षी सबैभन्दा बढी नदीको जोखिममा रहेको नगरपालिका हो । नगरपालिकाले बर्सेनि विपत् व्यवस्थापनमा रकम छुट्याउने गरेको छ । तर, त्यो रकमको प्रभाव देखिएको छैन । अझ पीडितसम्म रकम पुगेको अवस्था छैन । शिवसताक्षी ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले विपत् व्यवस्थापनमा केही रकम छुट्याएको भनिए पनि अहिलेसम्म पीडितले पाउन नसकेको बताए । कन्काइ, सतासी, कमलडुब्बा, कमल बनियानी खोलाका कारण बर्सेनि डुबानमा पर्ने यो वडाका विस्थापितले राहत नपाएको उनले बताए ।

‘बाढी आउँछ, अस्थायी कटान नियन्त्रणमा लाग्नुपर्छ, विस्थापितको सधैं बिजोग नै हुन्छ,’ उनले भने, ‘सधैं रेडक्रसको भर परेका छौं ।’झापामा बाढीका कारण पछिल्लो दुई वर्षमा १७ जनाको मृत्यु भइसकेको छ । पाँचजना अझै बेपत्ता छन् । जिल्लामा अघिल्लो वर्ष बाढीमा परी १६ जनाले ज्यान गुमाएका थिए भने २ जना अझै बेपत्ता छन् । गत वर्ष जिल्लाका ८ सय ११ घर बाढीबाट पूर्ण रूपमा विस्थापित बनेको जिल्ला रेडक्रसको तथ्यांक छ । झापाको कमल, गौरीगन्ज, झापा, कचनकवल र बाह्रदशी गाउँपालिका तथा शिवसताक्षी नगरपालिका बाढीको उच्च जोखिममा छन्।

 

प्रकाशित: ३० असार २०७५ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App