१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाह्र हल गोरु एकै ठाउँमा नार्दा (फोटो फिचर)

संखुवासभा – पञ्चे बाजा अथवा नौमती बाजा बजाउँदै गरिने रोपाइँलाई बेठी भनिन्छ। बेठी लगाएर रोपाइँ गर्ने चलन निकै पुरानो हो। विशेषगरी मुखिया वा राईको खेतबारीमा रोपाइँ गर्दा बेठी लगाउने चलन थियो। मुख्यतः दर्जी समुदायले बाजा बजाउने र अरुले खेतमा काम गर्नु पर्ने चलन थियो। 

जुनबेला मुखिया र जमिनदारहरूले बेठी लगाउने दिन भनेपछि कृषकहरू आप्mना सम्पूर्ण काम त्यागेर बेठीमा सामेल हुने गर्दथे। त्यसरी सुरु भएको बेठी परम्परा अहिले हराउँदै गएको छ। मुखिया प्रथा हराउनु, पहिले जस्तो धेरै मात्रामा रोपाइँ नहुनु लगायतका कारण पछिल्लो समय बेठी हराउँदै गएको हो। 

असारे गीत गाउँदै, नौमती बाजाको तालमा हिलो छ्यापाछ्याप गरी रोपाइँ गरीने र रोपाइँ सकेपछी भोज खाने चलन रहेकाले यसलाई किसानहरूले पछिल्लो समय पर्वको रुपमा मनाउन थाले। बेठीको दिन आप्mना चेलीबेटीलाई समेत बोलाएर रोपाइँ गर्ने चलन छ। 

नौमती बाजा, दर्जनौ हलगोरु, सयौं रोपार र बाउसेहरूले एकै दिन रोपाइँ गरेर उनीहरूले यसलाई पर्वको रुपमा मनाउने गरेका थिए। अरुबेला गरिएको रोपाइँमा खेताला पर्म र बोलाइएकाहरूलाई पैसा दिनु पर्ने भएपनि बेठीमा आएकाहरूको पर्म तिर्नु पर्दैन। तर रोपाइँ सकिएपछि माटोको टिका र धानको बिउको फूल लगाएर रोपार र चेलिबेटीहरूलाई दक्षिणा स्वरुप पैसा दिने चलन छ। 

अहिले बेठी लगाएर रोपाइँ गर्ने चलन नौंलो विषय बनिसकेको छ। लोप भइसकेको बेठी परम्पराको जगेर्ना गर्ने सोचका साथ बुधबार पाँचखपन नगरपालिका ६ वानाका चार दाजुभाईले बेठी लगाएका थिए। नौमती बाजाको धुनसँगै छुपुछुपु धान रोपिरहेका रोपारहरू, हातमा फ्याउरी (काठले बनेको हिलो सम्याउन प्रयोग गरीने सामाग्री) लिएका बाउसेहरू र हलगोरु जोतिरहेकाको कृयाकलाप साँच्चै रोमाञ्चक देखिन्थ्यो। आधा उमेर कटिसकेकाहरूले कही कतै देखेको भएपनि अहिलेका युवा जमातहरूको लागि यो अत्यन्तै नौलो थियो। जुन नौलो दृश्य थियो बेठी सहितको रोपाई। 

चन्द्रबहादुर, मानबहादुर, भक्तबहादुर र यत्नकुमार श्रेष्ठ चार दाजुभाईले २० वर्षपछि लगाएको यो बेठी थुप्रैका लागि नौलो थियो। गाउँका अरुहरू पनि बेठी हेर्नकै लागि खेत वरिपरि उपस्थित थिए। हराउँनै लागेको बेठीको संरक्षण गर्नको लागि आफुहरूले यस वर्ष बेठी लगाएको चन्द्रबहादुर श्रेष्ठले बताए। धान रोपाइँमा बेठी संस्कारको लोप भइसकेको बेला पछिल्लो पुस्तामा बेठी रोपाइँको बारेमा जानकारी दिन र संस्कार, संस्कृति संरक्षणको लागि बेठीको आयोजना गरिएको विष्णु श्रेष्ठले बताए। उनले भने नेपालकै उत्कृष्ठ मानिएका यहाँको नौमती बाजा र बेठी संरक्षण गर्न बेठीको आयोजना गरेका हौं।

बेठी परम्परा जसरी सुरु भएपनि एक संस्कृतिको रुपमा रहेकाले यसको संरक्षण गर्नुपर्ने सरोकारवालाहरूले बताउने गरेका छन्। किसानले आफुले बेठीको व्यवस्था गर्न नसकेपनि स्थानीय सरकारले बेठीको संरक्षणमा ध्यान दिनु पर्ने धेरैले बताउने गरेका छन्। बेठीमा पुगेका पाँचखपन नगरपालिकाका मेयर बिपिन राईले आगामी वर्षदेखि नगरस्तरिय कार्यक्रममा बेठीलाई पनि समावेश गराइने बताए।

रोपाईको गहना बेठीको संरक्षण गर्न किसानहरुको पहुँच मात्र अपर्याप्त हुनसक्छ। त्यसैले सम्बन्धीत सरोकारवाला संघसंस्था र निकायले यसको संरक्षणमा ध्यान दिन जरुरी छ। 

तस्बिर सबै मेघराज तामाङ/नागरिक

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App