स्थायी शक्ति कहाँ छ?

शुक्रबार, २९ असार २०७५, १० : २२ युवराज गौतम

47


पृथ्वीमण्डलबाट सूर्यमण्डल चार करोड पैँसठ्ठी लाख कोस टाढा छ भनेर हाम्रा प्राचीन खगोलवेत्ताहरूले लेखेका छन् । छ लाख पन्चानब्बे हजार, सातसय किलोमिटर आयतनको सूर्यलाई ‘बादलले छेक्यो’ भन्छौँ हामी । वास्तवमा त्यो दृष्टिभ्रम मात्र हो । बादलका टुक्राहरूले विशाल सूर्य छेकिँदैन । छेकिएको जस्तो मात्र देखिन्छ । बादलले हाम्रा आँखा भ्रमित तुल्याउँछ, सूर्य छेकिँदैन । तर गीत, कविता र बोलीचालीमा हामी भन्छौँ, ‘घाम छेक्यो बादलले ।’ स्थायी शक्ति सूर्य जस्तै हो । तर बादल स्थायी होइन।

पुराणमा दुर्जय र दुर्दमनीय दैत्य जालन्धरको कथा आउँछ । सबै देवतालाई युद्धमा परास्त गर्छ उसले । भगवान् महादेव (शंकर) तथा विष्णुको पनि जोर नचलेपछि देवताहरूले जालन्धरको एकाधिकार निरंकुश व्यवहार र सन्त्रासबाट उन्मुक्ति पाउने उपाय खोज्छन् । दैत्यराज जालन्धरकी रानी वृन्दा पतिव्रता (पतिबाहेक अरूसँग सहवास नगरेकी स्त्री) भएकी र सोही ‘पातिव्रत्य’ बलले जालन्धर शक्तिशाली भएको यथार्थ बुझेपछि वृन्दाको कमजोरी पत्ता लगाउन विष्णु भगवान्ले अनुसन्धान गरे । परपुरुषलाई स्पर्श नगर्ने वृन्दालाई छल गरेर जालन्धरलाई मारियो । वृन्दाले श्राप दिइन्, “हे विष्णु, तिमीले मेरा पतिको वध ग¥यौ । अर्को जन्ममा तिम्री पत्नीलाई मेरा पतिले हरण गर्नेछन् र तिमी पत्नी वियोगको विरहमा जल्नेछौँ ।” सोही श्रापका कारण अर्को जन्ममा भगवान् रामका रूपमा विष्णु भगवान्को जन्म भयो । जालन्धरले रावणका रूपमा पुनर्जन्म पाएर सीता हरण गरे । मर्यादापुरुषोत्तम राम त्रेतायुगका नायक भए । रावण भए खलनायक।

जनता सरकारी प्रहसन हेर्न बाध्य छन् । न सरकार गम्भीर देखिन्छ, न प्रतिपक्ष।

हरेक युग र कालखण्डमा विभिन्न रूपमा देवता र असुर (दैत्य) जन्मिन्छन् । अनाहकमा अरुको धन, ज्यान, खुसी र सुख हरण गर्नेहरू दैत्य हुन् भने त्यस्ता दैत्यको वध गरेर भए पनि सबैलाई सुरक्षाको अनुभूति गराउनु असल शासकको धर्म हो । जनहित नगर्ने, भ्रष्ट, स्वार्थी, पराधीन र नालायकहरूलाई अनुमोदन गरिरहेसम्म त्यसको दुष्परिणाम जनताले नै भोग्नुपर्छ । चुनावका बेला क्रुर कपुतहरूलाई मतदान गर्ने अनि पछि गएर पछुताउने प्रवृत्ति आधुनिक युगमा अल्पविकसित राष्ट्रहरूको समस्या बनिरहेको छ । विदेशी शक्तिको वरदान पाएपछि जालन्धरजस्ताहरू शक्तिशाली बन्न सक्छन् । तर त्यो शक्ति सूर्य जस्तो स्थायी होइन । बादल मात्र हो । बादल अर्थात् क्षणिक दृष्टिभ्रम।

दार्शनिक, विद्वान्–विदुषी तथा ज्ञानीजनहरूले देखाएको बाटो हिँड्न जान्यो भने जीवन व्यर्थ बन्दैन । सत्यको मार्ग अकन्टक र सजिलो छैन । हजारौँ बाधा–व्यवधान छिचोल्दै निरन्तर, अथक र अहर्निश यात्रामा अघि बढ्नेहरू लक्षमा पुग्छन् । नील आम्र्सट्रङ, तेन्जिङ शेर्पा, एडमन्ड हिलारी, जर्ज वासिङ्टन आदि धेरै उदाहरण छन् । बीस वर्षको उमेरमा राजा भएका पृथ्वीनारायण शाहले लगातार तीस–एकतीस वर्षसम्म राष्ट्रनिर्माणको महायज्ञमा जीवन समर्पण गरे । उनको मार्ग स्पष्ट थियो । अठोट बलियो थियो । विचार अदम्य थियो । साहस दुर्दमनीय थियो । वीर थिए उनी । त्यसैले ‘गोर्खा’ राज्यलाई ठूलो बनाए । इतिहासको सम्मान गर्दै उनले राष्ट्रको नाम नेपाल नै राखे । नत्र गोर्खाले जितेपछि सबै भूखण्ड ‘गोर्खा’ कहलिन्थ्यो होला।

यात्रामा अनेक साथी भेटिन्छन् । एकदिन विमानमा हेलसिन्की सहरका एक प्राध्यापकले इटलीका ग्यारीबाल्डी, मेजिनी र केभोरको प्रसंग सुनाए । ग्यारीबाल्डी कवि पनि थिए । नेपालका राजा वीरेन्द्र कुशल चित्रकार हुन् भन्ने धेरैलाई जानकारी नभएझँै वा प्रताप मल्लकै बारेमा धेरै कुरा प्रकाशमा नआए जस्तो ग्यारीबाल्डी जस्ता इटलीका प्रसिद्ध राजनेताका बारेमा पनि थप अनुसन्धान भइरहेको रहेछ । राष्ट्रको उत्थान चाहने असल मानिसका प्रयत्न इतिहासले सम्झिरहन्छ । सयौँ वर्षपछि पनि उनीहरूको मूल्यांकन र कदर हुन्छ । बादलहरू मौसमअनुसार परिवर्तन भएर रूप बदल्छन् । सूर्य शाश्वत हुन्छ । उदाउँदा रातो उदाउँछ, अस्ताउँदा पनि सूर्यको रूप बदलिँदैन । भनिन्छ, सूर्यझैँ महापुरुष पनि एकनास हुन्छन् । सम्पत्ति र विपत्तिमा उनीहरू फरक व्यवहार देखाउँदैनन् । अहंकार, दुर्वचन, दुव्र्यवहार, दुष्ट आचरण र दुर्बुद्धि छुद्र मानिसको पहिचान हो । विनम्रहरू झुकेकै हुन्छन् । कवि शिरोमणि लेखनाथ पौड्यालले लेखेका छन्, “फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र !” छुद्र व्यक्तिको वचन छुद्र हुन्छ । चाहे ऊ जुनसुकै पदमा पुगोस्।

जनताले केही हुन्छ कि भने आशा गरेको धेरै वर्ष भो । जनता अत्यन्त सहिष्णु (सहनशील) छन् । निम्न र मध्यमवर्गका जनताको जीवनशैली दिनहुँ कष्टकर बन्दै गएको कुरा जगजाहेर छ । मासिक तीस–चालीस हजार रुपियाँ आम्दानी गरेर सहरमा डेराको घरमा बस्नेहरू मात्र होइन, सुदूर गाउँमा सीमित उब्जनीले जीवननिर्वाह गर्ने नेपालीको पीडा झन् बढ्दै गएको पाइन्छ । राष्ट्र र जनताका नाममा केही सीमित व्यक्तिले प्रशस्त फाइदा लिइरहेका छन् । जनताको दुःखलाई एकादेशको कथा ठान्ने सुविधाभोगीहरूले अभावग्रस्त जनताका नाममा आज पनि ठगिरहेका छन् । यति हुँदाहुँदै पनि जब चुनावमा मतदान गर्ने बेला आउँछ, ‘आफ्नो दलको’ भन्दै प्रायः अयोग्यहरूलाई जनप्रतिनिधि बनाएर पठाइन्छ । गाउँ वा नगर तहमा पनि स्थानीय वासिन्दाले सक्षम, इमानदार, त्यागी प्रतिनिधि राम्ररी छान्न सक्थे । स्थानीय तहको निर्वाचन भएको एक वर्ष नाघे पनि धेरैजसो ठाउँमा विकासका कार्यक्रमहरू देख्न नसक्दा जनतामा निराशा बढ्न थालेको छ । काठमाडौँका मुख्य सहरदेखि कुनाकाप्चासम्म व्याप्त दुर्गति हेर्दा महानगरका मठाधीश कति सक्षम, कर्मठ र सक्रिय छन् भन्ने बुझ्न सकिन्छ । दुर्भाग्यको कुरा, फोहोर तह लगाउन नसक्ने र हरेक साल आठ दश हजार युवालाई रोजगारी दिन नसक्नेहरू स्मार्ट सिटीको कथा सुनाइरहेका छन्।

जनताले केही हुन्छ कि भने आशा गरेको धेरै वर्ष भो। जनता अत्यन्त सहिष्णु (सहनशील) छन् । निम्न र मध्यमवर्गका जनताको जीवनशैली दिनहुँ कष्टकर बन्दै गएको कुरा जगजाहेर छ।

सिंहदरबारभित्र र राजधानीका सरकारी कार्यालयहरू आज पनि फोहोर, झारपात, ढिलासुस्ती, नचाहिँदा गफ, काम ठग्ने प्रवृत्ति, ‘भोलि–भोलि’ र राजनीतिक दलका कार्यकर्ताको छायाँबाट ढाकिएका छन् । जनताले बितेका दश वर्षमा नौ–दशवटा सरकार देखे पनि परिवर्तन देख्न पाएनन् । ‘उनीहरूले मात्र करोडौँ रुपियाँ कमाए, हामीले केही पाएनौँ’ भन्ने प्रतिशोध, दुर्भावना, लालच र स्वार्थले पटकपटक सत्ता मात्र परिवर्तन भइरह्यो । पात्र फेरिए तर प्रवृत्ति उस्तै छ । धेरै आशा गर्ने ठाउँ कतै देखिँदैन । यसले केही वर्षभित्रै अर्को विद्रोह जन्माउन सक्छ । गणतन्त्र नै नेपालको अन्तिम राजनीतिक प्रणाली हो भनेर ढुक्क परेका राजनीतिक जमिनदार, तहबीलदार, मुखिया, थकाली, तालुकवाला र हुक्के–बैठकेहरू त्यो बेला छट्पटाउनेछन्, जब लाखौँ जनताले सडकमा आएर विदेशीको होइन, नेपाली जनताको मार्गचित्रअनुसार अघि बढ्नुपर्छ भन्र्दै विप्लवी आवाज बुलन्द गर्नेछन्।

सत्य त स्वीकार गर्नैपर्छ । समृद्धि चाहिने हो कि संघीयता ? दिनको पैँतीस–चालीस करोड अर्थात् हरेक साल अर्बाैं रुपियाँ खर्च गरेर संघीयता नामको दैत्य पाल्ने खर्चले लाखौँ गाउँ सुन्दर, समृद्ध बन्नेछन् । स्कुल, अस्पताल, बाटो, खानेपानी, रोजगारीलगायतका काममा खर्च गर्न सक्ने करोडौँ रुपियाँ बचाउने हो भने स्थानीय तह र संसद्बीचमा ‘फौबन्जार’ बनेर उभिएका सात प्रदेश हटाए हुन्छ । नेपाल जस्तो भौगोलिक दृष्टिले सानो राष्ट्रमा तल्लो तहमा सात सय ५३ सरकार छँदैछन् । केन्द्रमा राष्ट्रवादी बलियो, स्वच्छ, साहसी, इमानदार तथा जनप्रिय सरकार गठन भए पुग्छ । बीचमा बसेर प्रवचन दिने हजारौँ पण्डितहरूले ध्वनि प्रदूषण मात्र गरिरहेका छन् । सात–सात वटा मुख्यमन्त्री, सयौँ मन्त्री र सांसद (विधायक), हजारौँ कर्मचारी आदि निरर्थक साबित भएका छन्।

संघीयताको प्राण बचाउन प्रान्त (प्रदेश) चाहिने र प्रदेशमा ठूलो बथानलाई जनताको पसिनाले पाल्नुपर्ने के बाध्यता छ ? के जनताले संघीयता नभए सामूहिक आत्महत्या गर्छन् ? भोलि संघीयता खारेज भयो भने ठूला दलका नेता पनि प्रसन्न हुनेछन् । किनभने त्यो उनीहरूको गुप्ताङ्गको घाउ बनेको छ । त्यसको पीडा भोग्न बाध्य छन् उनीहरू । तर संघीयता ‘विश्वकप’ नै हो भन्ने भ्रममा परेका केही मुढाग्रही, शठ र लाछीहरू घाउ फ्याँक्न तयार देखिँदैनन् । बरू गुप्ताङ्ग काटेर नालामा मिल्काउन तयार छन् । संघीयता फ्याँक्दा पश्चिमाहरू रिसाउँछन् । हरेक साल पश्चिमाहरूले सरकार, आइएनजिओ आदिमार्फत दान दिने गरेको अर्बौं रुपियाँको धारा बन्द हुन्छ । त्यसैले जनतालाई नचाहिएको संघीयता आठ÷दश जना नेतालाई चाहिएको हो।

कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, पेसागत संगठनहरू, मानव अधिकारवादी संघसंस्थादेखि लिएर धेरै ठाउँमा विदेशीको  ‘एड्’ एडस् जस्तै फैलेकोे पाइन्छ । यस्तो परिस्थिति रहेसम्म राष्ट्रवादको गीत ‘झम्झमी इस्टकोट’ मात्र हो । स्वदेशी श्रम, सीप, साधन, ऊर्जा, जाँगर र युवाशक्ति विदेश पठाएर नेपाललाई रोगी, भ्रष्ट, अल्छी, कर्तव्यच्युत, कुरौटे र पानीमरुवाहरूको संग्रहालय बनाउने हो भने विदेशी दानले मात्र राष्ट्र बलियो हुँदैन । सन् १९४८ मा स्थापित इजरायलले प्रगति गर्नुका मुख्य आधार राष्ट्रवाद, स्वाभिमान, कठोर मेहनत र साहस नै हुन् । राष्ट्रप्रति समर्पण, निष्ठा, अठोट र सत्कर्म सिञ्चित भयो भने राजनीतिक दलहरू बेगर पनि राष्ट्रनिर्माण हुन सक्छ । जात, धर्म, सम्प्रदाय र क्षेत्रको विवादलाई मलजल गर्नेहरूले आफू र गुट मात्र बलियो भएको देख्न चाहेका छन्।

हरेक सभ्य, सुसंस्कृत र सबल राष्ट्रमा स्थायी शक्तिको सम्मान गरिन्छ । नेपालमा ‘स्थायी शक्ति’ नहुँदा गम्भीर समस्या देखिएको कुरा भारतीय लेखक ब्रह्मा चेलानीदेखि चीनका प्राध्यापक हुँ सिसेङलगायत धेरैले बताएका छन् । हालै प्रकाशित लेखमा रणनीतिक विश्लेषक चेलानीले नेपालको स्थायी शक्ति राजसंस्था उन्मूलन गर्नु भारतको भूल भएको स्वीकार गरेका छन् । (जुलाई ६, २०१८ हिन्दुस्तान टाइम्स) ब्रम्हा चेलानीले माओवादीलाई नेपाली राजनीतिमा ल्याउने काम भारतले गरेको स्वीकार गरेका छन् । यस्तै संविधानका विरुद्ध तराईमा भारतले विद्रोह गराएको समेत खुलासा गरेका छन् । मनमोहन सिंहको सरकारले आफ्नो स्वार्थका निम्ति नेपालमा कम्युनिस्टहरूलाई प्रयोग गरेको उनको आरोप छ । ‘परिवर्तन’ कसले ल्याएको रहेछ भन्ने कुरा यसबाट स्पष्ट हुन्छ।

अलजजिरा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा तत्कालीन भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले भारतले नेपालका माओवादीलाई राजनीतिको मूल प्रवाहमा ल्याएको बताएका थिए । भारतका माओवादी आतंकवादी र नेपालका माओवादी लोकतन्त्रवादी देख्ने भारतको संस्थापन पक्षले नेपालको राष्ट्रिय सुरक्षा र परराष्ट्रको बागडोर दिल्लीले सम्हाल्न पाउनुपर्ने दबाब दिँदै आए पनि राजाहरूले त्यो स्वीकार गरेनन् । त्यसपछि राजा वीरेन्द्रको हत्या भयो भने राजा ज्ञानेन्द्रलाई गद्दीच्युत गरियो । दलहरूलाई खरिद बिक्री गर्न सकिन्छ भन्ने परीक्षण महाकाली सन्धिमै भइसकेका थियो । त्यसैले भारतको स्वार्थमा हिँड्न राजी भएको भुटानको राजतन्त्र सुरक्षित राखिए पनि नेपालमा राजतन्त्र हटाइयो।

राष्ट्रहित विरुद्ध काम गरिरहेका आइएनजिओ र एनजिओ तह लगाउन नसक्ने, असारको दोस्रो हप्तामा गोबर लिपेझैँ सडकमा अलकत्रा छर्केर बजेट पचाउने, मन्त्रीले बजार अनुगमनका नाममा किसानका घिरौँला छाम्दै हिड्ने, यत्रतत्र–सर्वत्र लुट देख्दा पनि गफ गरेरै आफू प्रबल भएको भ्रम छर्नेजस्ता प्रवृत्तिले जनता सरकारी प्रहसन हेर्न बाध्य छन् । न सरकार गम्भीर देखिन्छ, न प्रतिपक्षी । रेफ्रीको भूमिकामा बस्नुपर्ने प्रेस जगत् कति तटस्थ छ, तपाईं–हामीले देखिरहेकै कुरा हो । विदेशी हस्तक्षेपबारे अधिकांश सञ्चारमाध्यम खोजी गर्दैनन्।

हिटलरले भनेका थिए, “कूटनीतिको मृत्यु भएपछि युद्धको जन्म हुन्छ ।” नेपालमा विदेशीको हैकम नहोस् भनेर पृथ्वीनारायण शाह, राजा महेन्द्र, राजा वीरेन्द्रदेखि राजा ज्ञानेन्द्रसम्मले चिन्ता र चिन्तन गरेकै हुन् । २०६२/६३ सालपछि ‘स्थायी’ शक्ति रहेन । दश वर्षे प्रायोजित द्वन्द्व त नाटकको रिहर्सल मात्र थियो । त्यसपछि नेपाललाई इराक, सुडान, अफगानिस्तान, लेबनान वा इथियोपिया बनाउने प्रयत्न भइरहेका छन् । पहलमान पनि झाडापखालाले मर्छ भनेझैँ ‘राजा फ्याँक्ने’ पहलमानहरूले आफ्नै दलको लुतो, खुजली र पिलो फ्याँक्न सकिरहेका छैन्न । जंगी, निजामती, प्रहरीलगायतका अंगहरूलाई बिथोल्ने प्रयत्न भइरहेकै छ । यी सबै चानचुने कुरा होइनन् तर सरकार हिलो, धुलो र सिंहदरबारभित्रकै झारपात सफा गर्न सकिरहेको छैन । कूटनीति प्रभावहीन देखिएको छ।

सन् २०१२ को जनवरीमा चीनका प्रधानमन्त्री वेन जियाबाओ दक्षिण एसिया भ्रमणका क्रममा केही घन्टा काठमाडौँ आएका थिए । त्यसपछि चीनका प्रधानमन्त्री र राष्ट्रपति जस्ता महत्वपूर्ण व्यक्तिबाट नेपाल भ्रमण भएको छैन । स्थायी शक्ति नहुँदा कूटनीति एकपक्षीय र खल्बलिएको अवस्था छ भनेर भेषबहादुर थापा, जयराज आचार्यलगायतका कूटनीतिज्ञहरूले स्वीकार गरेका छन् । असंलग्न परराष्ट्र नीति कति असंलग्न छ भन्ने कुरा घामजस्तै छर्लंग छ । पैसा तिरेर वा दलको कार्यकर्ता बनेर राजदूत बन्न पाइने र सडकका खाल्डाखुल्डी पुर्न स्थानीय सरकार वा प्रदेश होइन, प्रधानमन्त्रीकै आदेश चाहिने राष्ट्रमा कूटनीतिदेखि संघीयताले झुलको पोसाक लगाएर लाज छोपेका छन् । सरकार मिसाइलले झिँगा मार्दैछ।

‘द क्ल्यास अफ सिभिलाइजेन्स एन्ड द रिमेकिङ् द वल्र्ड अर्डर’ ग्रन्थमा स्यामुअल पी. हन्डिङ्टनले घतलाग्दो कुरा लेखेका छन्, “पश्चिमाहरूले विचार उच्च राखेर विश्व जितेका होइनन् । संगठित हिंसा मच्चाएर जितेका हुन् । जुन कुरा गैरपश्चिमाहरूले गर्न सक्दैनन्।”

संगठित हिंसा फैलाउन संघीयता चाहिन्छ । सुडान, नाइजेरिया, इथियोपिया, कंगो, बुरुन्डी, सोमालिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, इराक, अफगानिस्तान, लेबनान आदिमा पश्चिमाहरूले प्रयोग गरेका शस्त्र–अस्त्र नेपालमा प्रयोग गरिरहेका छन् । स्थायी शक्ति नहुँदा ‘भत्केको घरको झ्याल न ढोका’ जस्तो भयो कूटनीति र राजनीति।

आज देखिएको चित्र पानीको भाँडामा देखिएको मान्छेको छाया (आकृति) जस्तै छ । हामी त्यसलाई दिव्यरूप भनिरहेका छौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्झनामा पुस २७ गते दिइएको सार्वजनिक बिदासमेत रद्द गर्नेहरूले स्थायी शक्तिको ठाउँ लिन सक्दैनन् । दिल्लीमा गरिएको बाह्रबुँदे आत्मघाती कायलनामा रद्द गर्ने साहस नगरुन्जेल ‘ठूला’ दलहरू विदेशी शक्तिको चक्रव्युहबाट बाहिर आउन सक्ने देखिँदैन । कटु भए पनि सत्य यही हो।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

श्रीशको ‘अठोट’ बजारमा

श्रीशको ‘अठोट’ बजारमा

पत्रकार श्रीश भण्डारीले बाल र किशोर मनोविज्ञानमा आधारित रहेर नयाँ पुस्तक ‘अठोट’ बजारमा ल्याएका छन् । ...

चन्द्रागिरीमा ‘रोमियो एन्ड मुना’

चन्द्रागिरीमा ‘रोमियो एन्ड मुना’

आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘रोमियो एन्ड मुना’ले चन्द्रागिरी हिल्समा फिल्मको प्रमोसन कार्यक्रम आयोजना गरेको छ । चन्द्रागिरीमा...

‘स्क्रिप्ट सुन्दा सासै लिन गाह्रो भयो .....’

‘स्क्रिप्ट सुन्दा सासै लिन गाह्रो भयो .....’

फिल्म ‘किस्मत’देखि पछिल्लो फिल्म ‘रुद्रप्रिया’सम्म आइपुग्दा नायक आर्यन सिग्देलले थुप्रै चरित्र निभाए । तर उनको करिअर ग्राफ हेर्ने हो ज्यादाजसो...

सलमान ल्याउने भनेर ठग्ने दुई पक्राउ

सलमान ल्याउने भनेर ठग्ने दुई पक्राउ

आवर ड्रिम्स कम्पनीमार्फत भारतीय कलाकार सलमान खानको टुँडिखेलमा कार्यक्रम गर्ने भनि विभिन्न दरका टिकट बिक्री गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा...