१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जसले योजनाको बचेको रकम नगरलाई फिर्ता गरे

हलेसीगढी प्रवेशद्वार निर्माणका क्रममा बाँकी रहेको रकम मेयर इवन राईलाई फिर्ता गर्दै उपभोक्ता समितिका अध्यक्ष अंगरसिं राई (बायाँ) । तस्बिर - सौजन्य : इवन राई

खोटाङ – विभिन्न विकास निर्माणका उपभोक्ता समितिका पदाधिकारी आर्थिक लाभमा फस्ने गरेको प्रशस्त उदाहरणहरू छन्।

उपभोक्ता समितिको नाममा हुने केही अनियमितताका कारण अरू उपभोक्ता समिति पनि बदनाम हुन पुगेका छन् । यही कारण राम्रो नतिजामुलक काम गर्ने उपभोक्ता समितिलाई पनि जस छैन । उपभोक्ता समितिमा बस्न लडाईं गर्ने र समितिको आवरणमा व्यक्तिगत लाभ लिने प्रवृत्ति जताततै मौलाउँदो छ।

तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा एक उपभोक्ता समितिले योजना सञ्चालनका क्रममा बचेको रकम  नगरलाई नै फिर्ता गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित ३५० वर्षे इतिहास बोकेको ऐतिहासिक स्थल हलेसीगढी पुग्ने प्रवेशद्वार निर्माण उपभोक्ता समितिले हलेसीगढी प्रवेशद्धार निर्माणका क्रममा बचेको रकम नगरपालिकामा लगेर फिर्ता गरेका हो ।

बिहीबार उपभोक्ता समितिका अध्यक्ष अंगरसिं राई र होलेसुङ समुहका सदस्य भूपेन्द्रकुमार राईले नगरपालिकामा पुगेर बाँकी रहेको ८७ हजार ७४० रुपैयाँ रकमको चेक र निवेदन नगर प्रमुख इवन राईलाई हस्तान्तरण गरेका छन् । जनसहभागीताका लागि उपभोक्ताबाट जुटाइएको श्रमदानबाट बचेको रकम नगरपालिकालाई फिर्ता गरिएको हलेसीगढी प्रवेशद्वार उपभोक्ता समितिका अध्यक्ष राईले बताए ।

अहिले अधिकांश स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई असारे कामको चटारो छ । बिहीबार हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिममा नगर प्रमुख राई, उप प्रमुख बिमला राई, प्रमुख प्रशासकीय अधिकृत अनिल किराँती लगायत कार्यालयमा व्यस्त थिए । हलेसीगढी प्रवेशद्वार उपभोक्ता समितिका अध्यक्ष अंगरसिं र होलेसुङ समुहका सदस्य भूपेन्द्रकुमार प्रमुखको कार्यकक्षमा प्रवेश गर्दा अन्य केही कामले आएको अनुमान गरिएको थियो । तर, उनीहरुले हलेसीगढी प्रवेशद्वार निर्माणकाक्रममा बचेको रकम फिर्ता गर्न आएको बताएपछि सबैलाई अचम्मित बनाएको प्रमुख प्रशासकीय अधिकृत किराँतीले बताए । ‘
 
हलेसी क्षेत्रका प्रथम कविला स्थानीय शासक होलेसुङका छोराहरूले ३५० वर्ष अघि रावाचुङमा निर्माण गरेको पुरानो दरबारको भग्नावशेष पुग्ने बाटोमा प्रवेशद्वार निर्माणका लागि नगरपालिकाले आर्थिक वर्ष २०७४-०७५ मा १० लाख बजेट विनियोजन गरेको थियो।

 

प्रकाशित: २९ असार २०७५ ०४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App