१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

किशोेर अवस्थामै गर्भवती हुनेको संख्या घटेन

बिरा गडाल

बैतडी–बैतडीमा किशोराअस्थामा गर्भवती हुने किशोरीको संख्या घटन नसकेको एक अध्ययनले देखाएको छ।  बालविवाह गर्नेक्रम नरोकिँदा किशोरावस्थामा गर्भवतीको संख्या घटन नसकेको हो। उमेर नपुगी बिवाह गर्ने क्रम नघटेपछि किशोरवस्थामै गर्भवती हुनेको संख्या बढेको हो।
जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गत वर्षको साउनदेखि असारसम्म ५ हजार ५० जना गर्भवती महिलाहरुले गर्भजाँच गराएका थिए, जस मध्ये ६ सय ३६ जना २० वर्षमूनिका किशोरी रहेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ।

अघिल्लो वर्ष १७ प्रतिशत किशोरावस्थामा गर्भवती हुनेको संख्या थियो भने यो वर्षको १२ दशमलव ५९ रहेको छ । अघिल्लो वर्षभन्दा केही सुधार भएपनि अझै कशोरावस्थामा गर्भवती हुने किशोरीको संख्या घटन सकेको छैन।
सानै उमेरमा बिवाहपछि गर्भधारण गर्दा आमा र शिशुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएपनि किशोरावस्थामा गर्भधारण गर्नेको संख्या घटन नसकेको हो।

उमेर नपुग्दै विवाह गर्नु कानुनी रुपमा दण्डनीय भएपनि जिल्लामा बाल बिवाह  रोकिएको छैन। जिल्लाका  दुर्गम बिशालपुर, रुद्रेश्वर, थलागाडा, ढुगांड,  न्वादेउ, सित्तड, गोकुलेश्वर, श्रीकोट लगायतका गाविसमा बढी बाल बिवाह हुने गरेको छ। केही बर्षदेखि बालमैत्री गाविस घोषणालागि पहल चालिएको बिशालपुर गाविसमै सबैभन्दा बढी २० बर्षमूनिका किशोरी गर्भवती भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार ७१ जना गर्भजाँच गर्न आएका गर्भवतीमभ्ये २२ जना २० वर्षमूनिका छन्। प्रतिशतका हिसावले यो संख्या ३० दशमलव ९९ हुन आउछ, जुन जिल्लाकै सबैभन्दा बढी हो।

त्यस्तै रुद्रेश्वर गाविसमा ३० दशमलव ७७, थालाकाडाँमा २६ दशमलव ४७,  ढुगांडमा २६ दशमलव ४७,  श्रीकोटमा २५, सित्तडमा २५, गोकुलेश्वरमा २४ दशमलव ७१, न्वादेउमा २४ दशमलव ३९ प्रतिशत  २० वर्षमुनिका किशोरी गर्भवती भएको तथ्यांकले देखाएको छ ।

बालमैत्री गाविस घोषणाकालागि बाल विवाह रोक्न महिला बालबालिका, जिविस लगायतका संघसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रम गरेको दाबी गरेपनि बालबिवाह नरोकिएको तथ्यांकले देखाएको छ। यस्तै  बालमैत्री गाविस घोषणाको अन्तिम चरणमा पुगेको सिद्धेश्वर गाविसमा समेत २० बर्षमुनीका गर्भवतीको संख्या १० दशमलव १७ प्रतिशत देखिएको छ। गर्भजाँच गर्न आएका १ सय १८ जनामध्ये १२ जना २० बर्षमुनीका किशोरी रहेको तथ्यांकले देखाएको छ ।

बालमैत्री नगरपालिका बनाउन पहल चालेको दशरथचन्द नगरपालिकामा पनि बालविवाह हुने क्रम जारी छ । नगरपालिकाको बस्कोट स्वास्थ्यचौकीमा गत बर्ष १८ दशमलव ५२ प्रतिशत, दशरथचन्द स्वास्थ्य चौकीमा ९ दशमलव ७६, जिल्ला अस्पतालमा ९ दशमलव ६२ प्रतिशत २० बर्षमुनकिा किशोरीले गर्भजाँच गरेका थिए ।

जिल्लामा ५९ दशमलव ५  प्रतिशत किशोरीहरुको बाल बिवाह हुने गरेको संयुक्त राष्ट्र जनसंख्या कोष बैतडीको तथ्यांकले देखाएको छ।  केही बर्ष अघि बालिका दुलही होइनन भन्ने राष्ट्रिय संजालले जिल्लाका ४  गाविसमा गरेको अध्ययनअनुसार १५ बर्षमुनिका किशोरीको १२ प्रतिशत  र १५ देखि १९ वर्ष उमेरका ४७ दशमलव ५ किशोरीको बाल बिवाह हुने गरेको देखाएको थियो। बाल बिवाह नरोकिएसम्म किशोरावस्थामै गर्भवती हुनेको संख्या कम नहुने संयुक्त राष्ट्र जनसंख्या कोषका जिल्ला अधिकृत गणेश शाहीले बताए।

 

प्रकाशित: २३ भाद्र २०७३ १०:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App