१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल–भारत सीमा बैठक : पहिरो हटाउने र विपद् व्यस्थापन सूचना आदानप्रदानकाे सहमति

दार्चुला– नेपाल र भारतका अधिकारीहरु सम्मिलित सुरक्षा समन्वय समितिको बैठक दार्चुलामा सम्पन्न भएको छ। दुबै देशको तर्फबाट बैठकमा प्रस्तुत भएका एजेण्डाहरुमा छलफल आपसी समझदारी कायम गरिएको छ। दार्चुलाका तर्फबाट गत फागुन २१ गते भारतको पिथौरागढमा सम्पन्न बैठकको समिक्षा, सीमा सुरक्षाको अवस्था, सीमामा हुने अपराध, वन्यजन्तु तस्करी, मानव वेचबिखन, लागू औषध ओसारपसार, सीमा जोडिएका क्षेत्रमा सुरक्षा समन्वय, सूचना आदानप्रदान, प्रस्तावित झोलुंगे पूल र खोतिला पहिरो लगायतका विषयमा नेपाली पक्षले बैठकमा प्रस्तुत एजेण्डाहरुमा छलफल गर्दा भारतीय पक्ष सकारात्मक रहेको र यस्तै भारतीय पक्षले सीमा अपराध, अवैध चोरी शिकार, नसालु पदार्थ ओसार पसार, वेचबिखन, सीमा क्षेत्रमा समन्वय, शान्ति सुरक्षा, पूल खोल्ने विषय लगायतमा छलफल समेत छलफल भई बैठकमा स्थनीय स्तरमा केही विषय केन्द्र स्तरमा सहमतिको लागि माग गर्ने निर्णय भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुम्कान्त आचार्यले बताएका छन्।

यसअघिको बैठकमा सहमति भएको महाकाली नदीमा आएको भारतीय तर्फको खोतिला पहिरो हटाउने निर्णयमा काम नभएको गुनासो नेपाली पक्षबाट बैठकका प्रस्तुत भएको र भारतीय पक्षले ठेकोदारले सन्तोषजनक काम नगरेको स्वीकार गरेको र अब सेप्टेम्बर १५ देखी काम सुरु गरी आगामी वर्षको जुलाई १५ भित्रै सक्ने  भारतीय पक्षले प्रतिवद्धता जनाएको भारत सरकारको तर्फबाट बैठकमा नेतृत्व गरेका पिथौरागढ जिल्लाका जिलाधिकारी (डीएम) सी.रविशंकरले जानकारी दिएका छन्। 

‘अहिले मनसुनका कारण महाकाली नदीमा जलस्तर बढी रहेको छ। जलस्तर घट्ने वितिक्कै काम सुचारु गर्न सम्बन्धित निकायलाई निर्देशन समेत भइसकेको छ’, बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा डिएम रविशंकरले भने, ‘सीमामा हुने अपराधिक गतिविधि नियन्त्रण तथा सूचना आदान प्रदानका लागि संयुक्त संयन्त्र निर्माण गर्ने र विपदको पूर्व सूचना समेत आदान प्रदान गर्ने सहमति भएको छ।’ 

नेपालको तर्फबाट महाकाली नदीको भारतीय सहायक नदी धौलीगंगा नदीमा बनेको जलविद्युत आयोजनाको बांधको कारण महाकाली तटीय क्षेत्रमा बाढी आउने गरेको र उक्त बाधको पानीको ढोका खोल्ने समय र मात्रा बारे सुचना प्रवाहको माग गरिएको नियमित सुचना नेपाली पक्षलाई जानकारी गराउन भारतीय पक्ष तथा आयोजना तयार भएको छ।

नेपालको तर्फबाट महाकाली नदीमा बन्ने चारवटा झोलुगेंपुल निर्माणको भारत सरकारको सहमतिको लागि माग भएको र भारतीय पक्षले केन्द्र सरकारसंग यो विषयमा लेखी पठाउने प्रतिवद्धता जाहेर गरेको छ। खुल्ला सीमाका कारण सीमामा हुने चोरी तस्करी, लागु औषध, मानव बेचबिखन र अपराधिक गतिविधि न्युनिकरण गर्न दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन्। सीमा क्षेत्रमा हुने विभिन्न किसिमका अपराधिक गतिविधिलाई न्युनिकरण गर्न दुवै देशका सुरक्षा अधिकारीबीच सहमति भएको छ। 

बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले भने, ‘बैठकमा खुल्ला सीमा क्षेत्रमा हुने मानव वेचविखनका घट्नाहरुलाई पूर्णरुपमा नियन्त्रण तथा न्युनिकरण गर्ने विषयमा सहमति भएको छ। विपद आइ परेका बेला दुई देशका सुरक्षाकर्मीहरुले मिलेर खोज तथा उद्धार गर्ने बारेमा समेत सहमति भएको छ।’

प्रकाशित: २८ असार २०७५ १५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App