१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘तौल घटाउ वा जागिर छोड’

नयाँ दिल्ली– मोटोपनको समस्या हटाउन विश्वमा विभिन्न तरिका अपनाइएको खबर बेलाबेला आइरहन्छन्।

चुस्त दुरुस्त हुनुपर्ने देशको प्रहरी संगठनभित्रका सदस्य मोटाउन थालेपछि भारतको कर्नाटक राज्य प्रहरीले त्यसलाई नियन्त्रण गर्ने नयाँ जुक्ति सोचेको छ । भारतीय प्रहरी फौजले आफू मातहतमा काम गर्ने सम्पूर्ण अधिकारीहरुलाई तौल घटाउन वा जागिरबाट निलम्बन हुन तयारी अवस्थामा बस्न भनेको छ ।प्रहरी संगठनमा मोटा सदस्यको संख्या बढ्दै गएपछि आफू चिन्तित भएको कर्नाटक स्टेट रिजर्भ पुलिस (केएसआरपी)का प्रमुख भास्कर रावले बिबिसीलाई बताएका छन्।

जीवनशैलीसम्बन्धी रोगका कारण पछिल्ला १८ महिनामा मात्रै सयभन्दा बढि प्रहरी अधिकारीको मृत्यु भएपछि आफूले यस्तो निर्णय लिएको कर्नाटक प्रहरी प्रमुख रावलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । पछिल्लो निर्णयअनुसार अब कर्नाटक प्रहरीको जीवनशैली र खानपिन परिवर्तन गर्न सहयो गरिनेछ।

१४ हजार प्रहरी भएको कर्नाटक स्टेट रिजर्भ पुलिस (केएसआरपी) ठूला कार्यक्रमहरुका सुरक्षा दिनका लागि विशेष दख्खल राख्ने प्रहरी संगठन हो । यसले दंगा र हिंसात्मक आन्दोलनको समेत नियन्त्रण गर्ने गरेको छ ।
कर्नाटक स्टेट रिजर्भ पुलिस (केएसआरपी)का वरिष्ठ अधिकारीहरुलाई संगठनभित्रका मोटा प्रहरी पहिचान गर्न र उनीहरुको तौल घटाउनका लागि दैनिक अभ्यासको तालिका बनाउन निर्देशन दिइएको बिबिसीले जनाएको छ ।

‘केएसआरपीका अधिकारीहरुको सुगरलगायत अन्य रोगबारे हामीले छ महिनाअघिदेखि हामीले निरीक्षण गर्न सुरु गरेका हौं । जागिरबाट निकालिने वा निलम्बन गरिनेबारेको पछिल्लो सर्कुलर आफ्नो स्वास्थ्यको ख्याल नगर्ने प्रहरीहरुका लागि हो,’ केएसआरपी प्रमुख रावलाई उद्धृत गर्दै बिबिसीले हिन्दीले जनाएको छ । भारतमा तौल घटाउन संघर्षरत प्रहरी अधिकारीबारेको समाचार नौलो भने हैन ।

‘पछिल्लो १८ महिनाभित्र एक सय ५३ प्रहरीको मृत्यु भएको छ । जसमा २४ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ भने अन्य नौ जनाले आत्महत्या गरेका छन् । बाँकी रहेका सबैको भने आफ्नो जीवनशैली र अव्यवस्थित खानपिनका कारण मुटु र डायबिटिसलगायतका रोगका कारण मृत्यु भएको थियो,’ रावले बताए । प्रहरी अधिकारीहरुले प्रायजसो चामलबाट बनेको सुख्खा खानेकुरा खाने गरेको, धुम्रपान गर्ने गरेको, मदिरापान गर्ने गरेको र नियमित अभ्यास नगर्ने गरेको उनले बताए ।‘अव्यवस्थित खानपिन र जीवनशैलीका कारण उनीहरु अल्छी बन्ने गरेका छन् र उनीहरुको युनिफर्म शरीरमा फिट हुनै छोडेको छ । त्यसैले सबै प्लाटुन कमान्डरहरुलाई आफू मातहतका सदस्यको नियमित निरीक्षण गर्न भनिएको छ,’ रावलाई उद्धृत गर्दै बिबिसील हिन्दीले जनाएको छ ।

संगठनका सदस्यको मोटोपन हटाउनका लागि केएसआरपीले स्वीमिङ, योग र अन्य खेलकुदका कार्यक्रमसमेत सुरुवात गरेको बताइएको छ । ‘प्रहरी अधिकारीको स्वास्थ्य जाँचपछि चिकित्सको सल्लाहबमोजिम प्रत्येक सदस्यलाई नियमित अभ्यासको तालिका बनाइने छ,’ केएसआरपी प्रमुख रावले बताए ।

 

प्रकाशित: २८ असार २०७५ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App