१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गंगामायालाई लिखित पत्र दिन सरकार तयार

काठमाडौं - बिगत ४३ दिनदेखि आमरण अनशनरत गोर्खा फुजेलकी गंगामायालाई सरकारले लिखितरूपमै विश्वस्त दिलाउन तयार भएको छ ।

कानुन मन्त्रीमार्फत उनलाई न्यायिक प्रक्रियाबारेमा लिखित जवाफ दिने तयारी भएको गंगामाया बचाउ अभियानले जनाएको छ।गोर्खा फुजेलकी ५८ वर्षीया गंगामाया अधिकारी वीर अस्पतालमा सात वर्षदेखि अनशनरत छिन् । ०६२ साल जेठमा छोरा कृष्णप्रसाद अधिकारीको मामाघर चितवन गएको बेला हत्या भएपछि अधिकारी दम्पत्ति विगत सात वर्षदेखि न्यायको खोेजीमा छिन् । वीर अस्पतालमा अनशनकै क्रममा पति नन्दप्रसाद अधिकारीको मृत्यु भएको थियो । सात वर्षदेखि वीर अस्पतालमा अनशनरत गंगामायाले गत जेठ १५ गते गणेश–उज्जन श्रेष्ठको हत्या आरोपित बालकृष्ण ढुंगेललाई रिहा गरेपछि उनी आफूले न्याय नपाउने आशंका त्यही दिन वीर अस्पतालमा आमरण अनशन बसेकी थिइन् । अनशनकै क्रममा उनको स्वास्थ्य जटिल बनिसकेको छ ।

गंगामायाले छोरा अधिकारी र पति नन्दप्रसाद अधिकारीलाई मार्ने र मराउनेलाई कारबाही हुनुपर्ने, ०७२ सालमा सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका व्यक्तिमध्येकै गोर्खाका छविलाल पौडेललाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आएकी थिइन् । आइतवारनै आरोपित छविलाल पौडेललाई सर्वोच्च अदालत पुगेर आत्मसर्मण गरेका थिए । आत्मसमर्पण गरे पनि अधिकारीले सरकारसँग विश्वस्त हुन नसकेको भन्दै अनशन तोड्न मानेकी छैनन्।

बुधवार पनि सरकारसँग छलफल जारी राखेका अभियानका सदस्य चरण प्रसाईंले गंगामायाले स्वीकारेको अवस्थामा सरकारले कुनै पनि बेला लिखित पत्र थम्याउन तयार भएको बताए । ‘हामीसँग कानुनमन्त्रीले सरकारको तर्फबाट लिखित पत्र दिएर माग पूरा गर्न विश्वस्त दिलाउन तयार छ, मात्र उहाँले हुन्छ भन्नुप¥यो,’ प्रसाईंले भने ।

यही विषयलाई जानकारी दिन मानवअधिकारवादी टोली बुधवार साँझ वीर अस्पताल पुगेका थिए । गंगामाया झुम्म परेर सुतेको कारण कुरा हुन नसकेको प्रसाईले बताए । ‘उहाँ विश्वस्त हुनुभयो भने हामी मन्त्रालयका अधिकारीलाई बोलाउँछौं,’ उनले भने । बुधवार नागरिकसँग गंगामायाको कुरा हुन सकेन ।गंगामाया बचाउ अभियानले चितवन जिल्ला अदालतको अनुसन्धानका क्रममा गोली हान्न संलग्न भनी ठहर गरेका व्यक्ति रुद्र आचार्यलाई नेपाल झिकाउन अघि बढेमा गंगामायाले अनशन तोड्न सक्ने स्थिति रहेको जनाएको छ । ‘रुद्र आचार्यलाई झिकाउन सरकारले राज्यको तर्फबाट पहल गरे सम्वन्धित देश पठाउन तयार छ,’ उनले भने ।

कृष्णा अधिकारी हत्या काण्डमा सहभागी अन्य आरोपितको अनुसन्धान प्रहरी निकायले कसरी गरिरहेको छ भन्ने बिषयमा जानकार लिन आजनै मानवअधिकारवादी समुह प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई भेट्ने तयारी गरेको छ । ‘हामीले प्रहरीलाई पनि भेट्ने तयारी गरेका छौं,’ उनले भने।

गंगामायाको स्वास्थ्य बुधबार पनि स्थिर रहेको वीर अस्पतालले जनाएको छ । बुधवार पनि गंगामायाले मुखबाट औषधि खान नमानेपछि नसाबाटै आवश्यक खाने कुरा दिइएको उचपारमा संलग्न चिकित्सक डा. मोनेनप्रसाद गोर्खालीले बताए । गंगामाया लामो समय आइसियुमा बसिरहँदा उनी र अस्पतालका अन्य बिरामीलाई थप संक्रमणको जोखिम भने कायमै रहेको बताए । ‘उहाँको स्वास्थ्य पहिल्यै जीर्ण भएकाले संक्रमण जति बेला पनि हुन सक्छ, उहाँलाई भेट्न आउनेहरूको कारण आइसियुका अन्य बिरामी पनि संक्रमणको जोािखममा छन्,’ डा.गोर्खालीले भने ।

गंगामाया र आइसियु दुवैलाई संक्रमणमुक्त पार्न सरकारले सक्दो छिटो अस्पताल बाहिर पुनःस्थापना गर्नु उचित रहेको बताए । ‘बाहिर पुनः स्थापना भयो भने उहाँको जीवन रक्षा हुन सक्छ, अस्पतालमा भन्न सकिन्न,’ उनले भने । डा.गोर्खालीका अनुसार नसाबाट लामो समय स्लाइन लगाउँदा सलाइनबाटै संक्रमण हुन सक्छ र लामो समय ठोस खाने कुरा नखाएकोले पेटमा पनि अल्सर हुन सक्छ ।

प्रकाशित: २८ असार २०७५ ००:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App