१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गायब पार्न शरीर टुक्रा पारियो

मोरङ प्रहरीले सार्वजनिक गरेका यादव हत्याका अभियुक्त ।

विराटनगर–विराटनगरका अक्सर्फोड होस्टेलका सञ्चालक बिनोद यादवको हत्यामा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीनैजनालाई हिरासतमा राखी हत्याको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  हत्या गरिएको यादवको उमेर प्रहरीले १९ वर्ष बताएको छ।   

 विराटनगर–१३ ओमकार श्रेष्ठको घरमा भाडामा बसेका सिरहा पिपरा प्रपि–७ का २२ वर्षीय राकेशकुमार यादव, सिरहा सोठिआइन–५ का १७ वर्षीय कृष्णकुमार यादव र सप्तरी, महुवा–९ दुधैलाका १७ वर्षीय जितेन्द्रकुमार साहलाई मोरङ प्रहरीले यादवको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो। प्रहरीले उनीहरुलाई सीमावर्ती बजार जोगवनीबाट पक्राउ गरेको छ। तर, बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मोरङका एसपी सन्दिप भण्डारीले अभियुक्तलाई सीमाक्षेत्र दरैयाबाट पक्राउ गरेको जानकारी दिए ।

यादवको हत्याको कारण लेनदेन र प्रेम दुबै देखिएकाले प्रहरीले त्यही कोणबाट अनुसन्धान थालेको हो

नजिकै रहेको होस्टेलबाट साथीहरुसँगै खानपिन गर्न सोमबार राति उनीहरु भाडाको त्यो घरमा पुगेका थिए। खानपिनपछि बिवाद हुँदा यादवको घाँटी काटेर हत्या गरिएको थियो। ‘हत्या गर्नुको कारण अझै खुलिसकेको छैन,’ एसपी भण्डारीले भने, ‘विविध कारणहरु आइरहेको छ, हामी हत्या हुनुको प्रमुख कारणसम्म पुग्न सकेका छैनौं ।’ यादवको हत्यामा संलग्नलाई पक्राउ गर्न मोरङ प्रहरी र पूर्व क्षेत्र प्रहरी कार्यालयको टिम परिचालन गरिएको थियो ।

‘प्रारम्भिक अनुसन्धानबाट यादवको सुरुमा घाँटी काटेर मारिएको देखिन्छ,’ एसपी भण्डारीले भने, ‘लासलाई गायब पार्नपछि खुट्टा काटिएको हो।’ यादवको हत्या भएपछि उनको मृत शरीरलाई गायब पार्ने योजना अनुसार दुवै खुट्टा काटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ। ‘बोरामा मृत शरीर नअटेपछि उनको खुट्टा काटिएको देखिन्छ,’ उनले भने, ‘टाउँको एउटा बोरामा, खुट्टा अर्कै बोरा र बाँकी शरीर डस्नामा बेरेर लुकाएको अवस्थामा भेटिएको थियो ।’

 प्रहरी स्रोतका अनुसार यादवको हत्याको कारण लेनदेन र प्रेम दुबै देखिएकाले प्रहरीले त्यही कोणबाट अनुसन्धान थालेको हो । ‘लेनदेनमा यिनीहरुबीच जुँगाको लडाइँ देखिन्छ,’ अनुसन्धानमा खटिएका मोरङ प्रहरीका एक अधिकृतले भने, ‘हत्याको ठ्याक्कै यही कारण छ भन्ने पत्ता लागिसकेको छैन् ।’

यादवको हत्यापछि मंगलबार विहान गाडी मगाएर मृत शरीर गायब पार्ने योजना ड्राइभरका कारण असफल भएपछि उनीहरु फरार भएका थिए। जोगवनी गएर लुकेर बसेका उनीहरुले भारतको बौग्लोर जाने तयारीमा थिए । जोगवनी छोड्नुअघि नै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

‘हत्यामा संलग्नलाई भगाउनमा सहयोग पुर्याउनेको पनि पहिचान भइसकेको छ,’ एसपी भण्डारीले भने, ‘प्रहरीले उनीहरुमाथि पनि निगरानी बढाएको छ, कार्वाहीमा दायरामा ल्याइनेछ ।’ हत्या आरोपमा पक्राउ परेका तीनैजनालाई विहीवार प्रहरीले अदालतमा म्याद थपकालागि उपस्थित गराउनेछ । प्रहरीको पत्रकार सम्मेलनमा नकाब लगाएर उनीहरुलाई उपस्थित गराइएको थियो ।  

‘हत्या गर्नुको सानोतिनो कारण मात्र अहिले आइरहेको छ,’ एसपी भण्डारीले भने, ‘हामीलाई हत्याको मुख्य कारणतर्फ अनुसन्धान केन्द्रित गर्न केही समय लाग्छ।’ यादवको घाँटी छिनाइएको कट्टी सफा गरिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो । २ फिट २ इन्च लामो त्यो कट्टिले नै मृतक यादवको खुट्टा प्याकिङ गर्न काटिएको थियो । प्रहरीले घटनास्थलबाट एकथान कटुवा पेस्तोलसमेत बरामद गरेको जनाएको छ ।

 

प्रकाशित: २३ भाद्र २०७३ ०५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App