१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

साउनदेखि सशस्त्र प्रहरी नयाँ संरचनामा

काठमाडौं - सशस्त्र प्रहरी बलले साउनदेखि आफ्नो संगठनलाई संघीय संरचनामा लैजाने भएको छ। हालको संरचनालाई समयानुकूल पुनरावलोकन तथा परिमार्जन गर्दै संगठनलाई पुनःसंरचना गरी अझ प्रभावकारी एवं समयसापेक्ष बनाउने भन्दै सशस्त्रले १ साउनदेखि लागू हुने गरी संघीय कार्ययोजनाअन्र्तगत पुनःसंरचना गरेको हो। यो संरचनाअन्र्तगत अब सशस्त्र प्रहरीको उपस्थिति ७७ वटै जिल्लामा हुने भएको छ।

‘प्रहरी बल नेपालको नयाँ संरचनासम्बन्धी संक्षिप्त जानकारी एवं नयाँ संरचना कार्यान्वयनसम्बन्धी विस्तृत कार्ययोजना’ ले तयार पारेको प्रतिवेदनअनुसार संघीय संरचना १ साउनदेखि लागू हुने सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायत्र महानिरीक्षक (डिआइजी) बाबुराम पाण्डेले बताए। उनका अनुसार सबै जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति हुनेछ। ‘केही स्थानमा नयाँ कार्यालय स्थापना हुनेछन् भने केही जिल्लामा आवासका लागि भाडामा लिनुपर्ने भएकाले थोरै समय ढिला हुनेछ नभए अधिकांश जिल्लामा १ साउनबाट नयाँ संरचनाअन्र्तगत सशस्त्र प्रहरीको उपस्थिति हुनेछ,’ उनले भने।

संघीय संरचनाअन्तर्गत बाहिनी, तालिम शिक्षालय, गण, गुल्म र आश्रित गुल्महरूको नामावली तथा एकाइ रहने जिल्लाका साथै संगठन व्यवस्थापन तथा सर्वेक्षणअनुसारको इकाइ दरबन्दी विवरणसहितको विस्तृत कार्ययोजना तयार पारिएको थियो।

सशस्त्र मुख्यालयले मातहत निकायलाई आवश्यक तयारीका लागि ५ असारमै परिपत्र गरेको थियो । डीआइजी सुरजकुमार श्रेष्ठले मातहत निकाय सबैलाई परिपत्र गरेका हुन्। सशस्त्र प्रहरी बलका एआइजी नारायणबाबु थापासहितको एक समितिले तयार पारेको सांगठनिक पुनःसंरचनासम्बन्धी प्रतिवेदन सरकारले जेठ २७ मा पास गरेको थियो । सो प्रतिवेदनअनुसार सशस्त्र प्रहरी बल नेपालको सांगठनिक पुनःसंरचना गरी नयाँ संरचना कायम गर्न विद्यमान दरबन्दीमा हेरफेर, केही कार्यालयको स्तर वृद्धि तथा सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति रहने गरी एकाइ स्थापना जस्ता विषय समेटिएका छन् । भौतिक संरचना निर्माण अर्धसैन्य बललाई आवश्यक पर्ने सबै प्रकारका अत्याधुनिक हातहतियारसमेत आवश्यक रहेको प्रतिवेदनमा समेटिएको छ।

संघीय संरचनाअन्तर्गत बाहिनी, तालिम शिक्षालय, गण, गुल्म र आश्रित गुल्महरूको नामावली तथा एकाइ रहने जिल्लाका साथै संगठन व्यवस्थापन तथा सर्वेक्षणअनुसारको इकाइ दरबन्दी विवरणसहितको विस्तृत कार्ययोजना तयार पारिएको थियो। सो परिपत्रअनुसार सशस्त्र प्रहरी बल नेपालको नयाँ सांगठनिक संरचना नेपाल सरकारबाट स्वीकृत भइसकेको र कार्यान्वयनको चरणमा रहेको उल्लेख गरिएको छ। सशस्त्र बलको परिचालनलाई प्रदेशगत रूपमा सन्तुलित र व्यवस्थित बनाउन, एउटै तहका युनिटहरूको स्वरूप र नफ्रीमा एकरूपता ल्याउन, चेन अफ कमान्ड पद्धति मजबुत बनाउन, आन्तरिक शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउने जस्ता विषय समेटिएका छन्। नयाँ संरचनाले सशस्त्र प्रहरी बलका एकाइ खटिएको जिल्लाको सुरक्षा व्यवस्थाको जिम्मेवारी सम्बन्धित गण वा गुल्मलाई दिएको छ। तालिम शिक्षालयबाहेक प्रदेशमा रहने सबै एकाइ सो प्रदेशमा रहेका बाहिनीको कमाण्डमा हुनेछ। प्रदेशमा गर्नुपर्ने एवं कार्यादेशबाट प्राप्त सबै दायित्वको जिम्मेवार सम्बन्धित बाहिनीलाई बनाइएको छ।

नयाँ संरचनाअनुसार प्रदेश १ अन्तर्गत कार्यालयहरूमा पाथिभरा गण, कंकालिनीमाई गण, सिद्धकाली गण र औद्योगिक सुरक्षा गणलाई समायोजन गरिएको छ। पाथिभरा गणमा सशस्त्र प्रहरी जवान तालिम शिक्षालय स्थापना हुनेछन्। कंकालिनीमाई गण रहेको परिसरमा मोरङको सम्पूर्ण जिम्मेवारीसहित मोरङ सीमा सुरक्षा कार्यालयको स्तर वृद्धि भई स्थापना हुने गणको कार्यालय रहनेछ । सिद्धकाली गणको सम्पूर्ण भौतिक संरचना बहिनी मुख्यालयले प्रयोग गर्नेछ।

मोरङको सलकपुरस्थित औद्योगिक सुरक्षा गण परिसरमा बाहिनीले आवश्यक योजना बनाई वर्कसप, क्षेत्रीय भण्डार र अन्य कुनै प्रयोजनका लागि उपयोग जनाएको छ। त्यसैगरी प्रदेश २ मा रहेका रुद्र बाहिनी, दन्तकाली गण, छिन्नमस्ता गण र भद्र्रकाली गण समायोजन गरिएको छ। रुद्र बाहिनीमा भने प्रदेश २ को भण्डार महाशाखा बनाएकोे छ । दन्तकाली गणमा विशेष कार्य तालिम शिक्षालय स्थापना गरिनेछ । छिन्नमस्ता गण रहेको परिसरमा २ नम्बर बाहिनी स्थापना गरिने सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै, प्रदेश ३ मा रहेको चितवनस्थित गढीमाई गण समायोजनमा पर्नेछ। यस्तै, प्रदेश ४ अन्तर्गतको तालिम महाविद्यालयको स्थानमा हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय स्थापना हुनेछ। प्रदेश ५ मा रहेको बुटवल उपमहानगरपालिका–५ स्थित औद्योगिक सुरक्षा गुुल्म रहेको ठाउँमा ५ नम्बर बाहिनी रहनेछ। अब प्रदेश ५ मा रहेका विन्ध्याबासिनी गण, ज्वालामाई गण, बागेश्वरी गण, त्रिपुरा गण र औद्योगिक सुरक्षा गण नरहने भएका छन्। यस्तै, प्रदेश ६ को जुम्लामा पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरिनेछ। प्रदेश ७ अन्तर्गतको बडिमालिका गण, शैलेश्वरी गण र उग्रतारा गणको नरहने भएको छ। उग्रतारा गण रहेको स्थानमा तालिम शिक्षालय, शैलेश्वरी गण रहेको स्थानमा गणको कार्यालय स्थापना हुनेछ। त्यस्तै मुख्यालयमा रहने शाखा कार्यालयमा त्यसको प्रहरी उपरीक्षक(एसपी) रहनेछन्। प्रदेश १ अन्र्तगत २१ वटा गुल्म रहनेछन् भने झापामा एउटा तालिम शिक्षालय रहनेछ। नेपाल भारत सीमा क्षेत्रमा तैनाथ रहेका बोर्डर आउट पोष्ट (बिओपी) मा सीधै सम्बन्धित बाहिनी मातहत रहने भएको छ।

प्रकाशित: २७ असार २०७५ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App