१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गरिबीले रित्तिएको कोख

धनपुरी, उनका पति, बुहारी र नाति। मुस्ताङ टिपर दुर्घटनामा धनकुमारीका तीन छाेरा र एक छाेरीकाे मृत्यु भएकाे थियाे। तस्बिर : दिनेश/नागरिक

रोल्पा - लुंग्री खोला किनारमा दुई छोराको शव जलिरहँदा एक तमासले हेरिरहेकी थिइन् थवाङ गाउँपालिका–५, उवाकी ६१ वर्षीया धनपुरी रोकामगर। गत शुक्रबार मुस्ताङमा भएको टिपर दुर्घटनामा चार सन्तान एकैपटक गुमाएकी धनपुरीका २ छोराको शव सोमबार रोल्पा लुंग्री खोला किनारमा जलिरहँदा अर्का एक छोरा र छोरीको शव दाङस्थित राप्ती नदी किनारमा जल्दै थिए। २१ वर्षीया लीला पतिको जलिरहेको चिता हेर्दै भक्कानिँदै थिइन् । मलामीको पनि बक फुटिरहेको थिएन।

धनपुरी घोप्टो परेर पीडा छोप्ने प्रयासमा थिइन् । दुर्घटनाको चार दिनपछि छोराछोरीको शव खोज्दै पति, बुहारी, नाति, आफन्त र छिमेकीको सहयोगमा जिल्ला अस्पताल रोल्पा पुगेकी धनपुरी दिनभरजसो निशब्द रहिन । नेपाली भाषा राम्रोसँग बोल्न र बुझ्न नसक्ने धनपुरी दुई छोराको गनाउने भएका शव बोकेर सुलिचौर पुगिन र आफन्तको सहयोगमा अन्त्येष्टि गरिन्।

एउटै घटनामा मृत्यु भएका धनपुरीका छोराहरू थबाङ–५, उवाका २३ वर्षीय राष्टे रोका, १९ वर्षीय महेश रोका तथा उनको पहिलेको श्रीमान्की नातिनी २० वर्षीया सिर्जना रोकामगर र उनको छिमेकी थबाङ–१ का २८ वर्षीय सुकमान रोकालाई लहरै चिता बनाएर सोमबार लुंग्रीमा अन्त्येष्टि गरिएको हो। मुस्ताङ टिपर दुर्घटनामा मृत्यु भएका ३५ वर्षीय कमानसिंह रोका धनपुरीका पहिलेको श्रीमान्का छोरा हुन्। उनी कपिलबस्तु बसाइँ सरेका थिए । त्यस्तै उनका छोरा राष्टे, महेश र दाङ घर भएकी छोरी कर्मजिता भनिने कविताको दुर्घटनामा मृत्यु भएको हो । धनपुरीका पतिकी अर्की पत्नी (जेठी) कि छोरी ३१ वर्षीया जितमाया र ३६ वर्षीय ज्वाईं मौसम घर्ती, जेठा छोरा कुमारकी २० वर्षीया छोरी सिर्जना रोकाको पनि सोही दुर्घटनामा मृत्यु भएको थियो । यसरी एकै परिवारका ७ जनाको एउटै दुर्घनामा मृत्यु भएपछि गाउँमै सन्नाटा छाएको छ।

‘आफ्नो उमेर गईसक्यो । भएका चार छोराछोरी उमेर छदै एकै दिन मरि गए । भएका सबै सकिए। हामि बुढाबुढी, भर्खरकि बुहारी र नाति मात्र छम । अब कसको सहारामा बाच्ने केहि ठेगान छैन ।’ मगरखाम भाषामा धनपुरीले भनिन् । ‘जेठो छोरा र छोरीको लाश पनि देख्न पाईएन । उनिहरुलाई दाङमा जलाएछन । खाने, लाउने, जोहो गर्न मजदुरीका लागि सबै मुस्ताङ गएका हुन तर के को कमाउनु लाश बनेर आए ।’ गहभरी आशु ल्याएकि उनले सुनाईन।

गाउँमा थोरै भिरालो जग्गा भएको यो परिवारलाई खेति किशानिले ३ महिना पनि खान पुग्दैन। ‘कमाएर पाल्ने सबै मरिगए। एउटी बुहारी र यो नातिलाई के खर्चले पाल्ने हो । किरीया गर्ने खर्च समेत छैन।’ धनपुरीले भनिन्। सुख के हो र कस्तो हुन्छ भन्ने अनुभब समेत गर्न नपाएको या परिवारमा परेको सकसका बारेमा अहिले स्थानिय स्तरमा कहि कतैबाट चासो समेत दिईएको छैन । ‘उहिले चुनाबका बेला नेताहरु दिनकै आउथे । अहिले आफुलाई पर्दा कोहि देखिएनन् । सबै यस्तै हुन।’ धनपुरीका श्रीमान हित रोकाले आक्रोस पोखे।

‘माहिलो राष्ट्रे ३ बर्ष बिदेश बसेर आएको हो। बिरामि भएछ पैसा कमाउन नसकेर फर्कि आएको। रिन गरेर गएको तिर्न अझै बाकि छ । काज किरीया केले गर्ने र खै । हाम्रो संस्कार अनुसार त गर्नै पर्ला तर के ले गर्ने थाहा छैन। पछि पैसा भयो भने छोराछोरीको नाममा बिसौनि चौतारी बनाउनु पर्ला। हामि संग पैसा भएको भए मजदुरी गर्न किन जान्थे। घरमा भएका दुईचारवटा बाख्राको भरमा कसरी बाच्ने । दिक्क छ।’ धनपुरीले भनिन्। ‘जेठो छोरो कपिलबस्तुमा सुकुम्बासी बस्तीमा बस्छ। कान्छो महेशले अब आएर क्याम्पस पढ्ने भन्थ्यो। बिचरो मरिगयो।’

अधिकार सहितको स्थानिय तहले आफ्नै गाउँमा यति ठुलो बज्रपात पर्दा पनि अहिले सम्म के गर्न सकिन्छ भनेर छलफल समेत गरेको छैन। ‘केहि गर्न त पर्ने हो तर छलफल भएको छैन। हेरौ पछि सम्म केहि गर्न सकिन्छ कि । अहिले तत्काललाई भने केहि भएको छैन ।’ थवाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्तीले बताए।

गरिबि र चर्को बेरोजगारिका कारण रोल्पाका धेरै युवाहरु देश भित्र र बाहिर मजदुरीका लागि जाने गर्दछन। उपत्यका तिरका ईट्टाभट्टा, रसुवा, गोरखा, मुस्ताङ लगायतका जिल्ला पुग्ने रोल्पाली जहिले पनि जोखिममा रहन्छन।

आइतवार पनि एउटै घटनामा ज्यान गुमाएका सुनछहरी १ का ३२ बर्षिय रामकुमार पुन र ३२ बर्षिय सोन्तु घर्तीकोे सोहि ठाउँमा दाहसस्कार गरिएको थियो।

प्रकाशित: २७ असार २०७५ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App