१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इङ्लिस टिममाथि रुनीको विश्वास

वासिङटन – पूर्वकप्तान वायन रुनीले रूसमा जारी विश्वकपमा इङ्ल्यान्डले सेमिफाइलनसम्मको यात्रा तय गर्दा उत्कृष्ट फुटबल खेलेको र यसले फाइनलसम्म निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन्।

म्यानचेस्टर युनाइटेड र राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गरेका ३२ वर्षे रुनीले विश्वकपको सेमिफाइलनमा पनि इङ्ल्यान्डले क्रोएसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

डिसी युनाइटेडले २० करोड अमेरिकी डलर लागतमा निर्माण गरेको घरेलु रंगशालाको उद्घाटन गरेका रुनीले शनिबार भ्यानकोभरविरुद्धको खेलबाट मेजर लिग सकरमा डेब्यु गरेका थिए । ‘उनीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । आशा छ उनीहरूको विजययात्रा कायमै रहनेछ,’ रूनीले भने, ‘यो अद्भुत छ । इङ्ल्यान्डको माहोल नै छुट्टै छ । आशा गरौं हामी फाइनलसम्म स्थान बनाउन सफल हुनेछौं।’

गारेथ साउथगेटको इङ्ल्यान्डले बुधबार हुने सेमिफाइनलमा क्रोएसियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । ह्यारी केनको कप्तानीमा रहेको इङ्ल्यान्डले क्रोएसियालाई पराजित गरे आइतबार फ्रान्स र बेल्जियमबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ।

‘प्रशिक्षक साउथगेट र सम्पूर्ण टोलीलाई शुभकामना । उनीहरूले हामीलाई गौरवान्तित बनाएका छन,’ रूनीले भने, ‘आशा छ, यो यात्रालाई थप एक कदम अघि बढाएर फाइनल जित्दै उपाधि लिएर घर फर्कनेछन् । उनीहरूले जुन सफलता पाइरहेका छन्, त्यसबाट म रमाइरहेको छु । उनीहरूप्रति विश्वास पनि छ।’

२००४ मा मेजर लिग सकरको उपाधि जितेको डिसी युनाइटेडले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको छैन । खराब लयमा रहेको डिसी युनाइटेडले जारी सिजनमा १४ मध्ये २ जित र ५ बराबरी नतिजा निकालेको छ । ११ अंक जोडेको डिसी युनाइटेड लिगको पुछारमा छ । २० हजार क्षमताको नयाँ रंगशाला र रूनीको आगमनमा डिसी युनाइटेड पुनर्जागृत हुने आशा गरिएको छ।

इङ्लिस प्रिमियर लिगको क्लब एभर्टनका फरवार्ड रूनी मेजर लिग सकरको डिसी युनाइटेडसँग ३ वर्षका लागि १ करोड ३० लाख अमेरिकी डलरमा अनुबन्धित भएका हुन्।

‘डालास विमानस्थलमा पहिलो पटक ओर्लिंदा तपाईंहरूले देखाएको सद्भाव म कहिल्यै भुल्न सक्दिनँ,’ रूनीले भने, ‘म यहाँ डिसी युनाइटेडलाई जित दिलाउन आएको हुँ । आशा गरौं आगामी वर्षहरूमा हामी अंकतालिकाको माथि उक्लनेछौं र यस रंगशालामा उपाधि भित्र्याउनेछौं।’

प्रकाशित: २६ असार २०७५ २१:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App