१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सीताले बेच्यो ४९ प्रतिशत सेयर

काठमाडौं–निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सीता एयरले ४९ प्रतिशत सेयर बिक्री गरेको छ । सीताको सेयर विराटनगरको व्यापारिक घराना राठी ग्रुपले खरिद गरेको हो ।

सीताले हाल १८ सिट क्षमतायुक्त दुई थान ‘डोर्नियर–२२८’ सिरिजका जहाजबाट उडान सञ्चालन गरिरहेको छ । विगतमा पाँचवटासम्म जहाजबाट उडान सञ्चालन गरेको सीताले दुईवटा विदेशमा बिक्री गरेको थियो भने एउटा दुर्घटनामा परेर काम नलाग्ने भएको थियो ।
‘विराटनगरको राठी ग्रुपलाई ४९ प्रतिशत सेयर बिक्री गर्ने निर्णय गरेपछि बुधबार सहमतिपत्रमा हस्ताक्षर गरेका छौं,’ सीतासम्बद्ध स्रोतले बुधबार नागरिकसँग भन्यो, ‘तर, कति मूल्यमा सेयर बिक्री भयो भन्ने अहिले सार्वजनिक गर्न चाहँदैनौं । खासमा हामीले पूरै कम्पनी बिक्री गर्न खोजेका थियौं तर राठीले ४९ प्रतिशतमात्र खरिद गर्न सहमत भयो ।’

दुई समूहबीच बुधबार भएको सहमतिमा सीताका तर्फबाट एकाउन्टेबल म्यानेजर सुनिल विष्ट र राठी ग्रुपका तर्फबाट सुरेश राठीले हस्ताक्षर गरेका छन् । स्रोतका अनुसार आगामी एक महिनाभित्र राठी ग्रुपले ४९ प्रतिशत सेयर बराबरको रकम सीतालाई उपलब्ध गराउने सहमति भएको छ ।

सीताले सेयर बिक्री गर्दैछ भन्ने सुनेपछि केही व्यवसायी र समूहले उक्त सेयर खरिद गर्ने प्रयास गरेका थिए । केही महिनादेखि सीताको ४० देखि ५० प्रतिशत सेयर खरिद गर्न व्यवसायीहरूको तीन समूह लागिपरेको थियो । तर, अन्तिममा विराटनगरस्थित व्यापारिक घराना राठी ग्रुपले ४९ प्रतिशत सेयर खरिद गर्न सफल भएको हो ।

‘अब हाम्रो ५१ प्रतिशत र राठी ग्रुपको ४९ प्रतिशत लगानीपछि कम्पनीलाई आन्तरिक उडानमार्फत थप उचाइमा पु¥याउँछौं,’ सीता स्रोतले भन्यो, ‘नयाँ लगानीकर्ता आएपछि हामी अर्को दुईथान जहाज थप्ने छौं, जसबाट मुलुकका विभिन्न गन्तव्यमा उडान गरिनेछन् ।’

स्रोतका अनुसार आगामी पुस तेस्रो साता (सन् २०१७ जनवरी) बाट दुईथान थपेर जहाज संख्या चार पु¥याउने गरी काम भइरहेको छ । हाल सञ्चालनमा रहेका १८ सिटयुक्त डोर्नियर–२२८ सिरिज जस्तै जहाज ल्याउने वा अन्य भन्ने निर्णय हुन बाँकी छ । ‘हामी सकेसम्म १८ सिटभन्दा बढी क्षमताका जहाज ल्याउने योजनामा छौं,’ स्रोतले भन्यो, ‘तर, यसमा नयाँ लगानीकर्ता राठी ग्रुपसँग थप छलफल हुन बाँकी छ । कस्तो खालको जहाज थप्ने भन्ने अन्तिम निर्णय आगामी दुई महिनाभित्र गर्छौं ।’

नयाँ लगानीकर्ता आएपछि आन्तरिक हवाई बजारमा सीताको हिस्सा उल्लेख्य दरमा वृद्धि हुने स्रोतको भनाइ छ । सीताले विगतमा पाँच जहाज हुँदा राम्रो बजार हिस्सा ओगटेको थियो । काठमाडौंबाट लुक्ला सेक्टरको उडानमा यसको हिस्सा उल्लेख्य थियो ।

तेह्र वर्षअघि सन् २००३ मा दुईथान डोर्नियर–२२८ जहाजबाट उडान सुरु गरेको सीताले व्यापार विस्तार हुँदै गएपछि जहाज थपेर पाँचवटासम्म पु¥याएको थियो । सीताले काठमाडौं र नेपालगन्ज विमानस्थललाई आधार गरी उडान गरिरहेको छ । काठमाडौंबाट लुक्ला र फाप्लु तथा नेपालगन्जबाट हुम्ला, जुम्ला र बाजुरा उडान गरिरहेको छ ।
तीव्र गतिमा बजार विस्तार भइरहेको र जहाज पनि थपिरहेका बेला एक्कासि सीताका १० जना पाइलटले राजीनामा दिएर भारतको निजी वायुसेवा कम्पनी किङफिसर एयरलाइन्सको जहाज उडाउन गएका थिए । त्यसपछि पाइलट अभाव झेल्दै आएको सीताले दुईथान जहाज विदेशी कम्पनीलाई बिक्री गरेको थियो । त्यसपछि तीन जहाजबाट उडान गरिरहेका बेला कम्पनीलाई अर्को झट्का लाग्यो, २०६९ असोज १२ मा एउटा जहाज दुर्घटनाग्रस्त हुँदा ।
काठमाडौंबाट चालकदलका तीन र १६ यात्रु लिएर लुक्ला उडेको जहाज एक मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । उड्नासाथ चरासँग ठोक्किएको जहाजमा सवार सबै १९ जनाको मृत्यु भएको थियो । दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गबाट ५ सय मिटर दक्षिण–पूर्वस्थित मनोहरा खोला किनारमा पर्छ ।
त्यसअघि उडान सुरु गरेको पहिलो वर्षमै उसको जहाज लुक्लामा दुर्घटना भएको थियो । अवतरण गर्दा ‘नोज गियर कोल्याप्स’ भएको दुर्घटनामा सबै सकुशल थिए । त्यसै गरी २०६७ असोज २६ मा लुक्ला विमानस्थलमा यसको जहाज दुर्घटना भएको थियो । त्यसमा जहाजको अगाडिको भाग क्षतिग्रस्त भए पनि सबै सकुशल थिए ।
सीताको सेयर खरिद गरेको राठी ग्रुप १९७० सालमा औपचारिक रूपमा विराटनगरमा स्थापना भएको थियो । हाल यसको वार्षिक कारोबार १ अर्ब रुपैयाँबराबर छ । ग्रुपले हाल उत्पादन, सेवा, व्यापार, आयात तथा निर्यात क्षेत्रमा काम गरिरहेको छ । यसले विद्युतीय सामग्री, तार, केबुल, पर्यटन, दुग्ध पदार्थ, प्लास्टिक सामग्री, वैकल्पिक ऊर्जा, हार्डवेयर तथा स्यानिटरी, अस्पताल, शैक्षिक संस्था, स्वीच बक्स, पावर व्याकअप सिस्टमलगायत व्यापार गरिरहेको छ ।
 

 

प्रकाशित: २३ भाद्र २०७३ ०४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App