हिसाब हराएको छैन

मङ्गलबार, २६ असार २०७५, ०९ : ४९ अादिति अधिकारी

‘संसारका हरेक शिक्षा प्रणालीमा विषयहरूको एकैखाले मर्यादाक्रम रहेको पाइन्छ । त्यसमा सबैभन्दा माथि गणित र भाषाहरू पर्छन्, त्यसपछि मानविकीअन्तर्गतका विषय पर्छन् र सबैभन्दामुनि कला सम्बद्ध विषयहरूको अध्ययन पर्छ ।’ प्रख्यात शिक्षाविद् सर केन रबिन्सनले ‘के विद्यालयहरूले सृजनात्मकता मार्छन् ?’ शीर्षकमा भनेका छन् । पाठ्यक्रम विकास केन्द्रले ‘विश्व बैंकको दबाबमा आएर गरेको’ भनिएको ११ र १२ कक्षाको पाठ्यक्रममा गणितलाई ऐच्छिक बनाउँदा देखिएको प्रतिक्रिया पनि सायद यही मर्यादाक्रममाथि भएको हाम्रो विश्वासको उपज हो।

हाम्रा बालबालिका नौ–दस वर्षको कलिलो उमेरदेखि नै गणितको ‘ट्युसन’ लिन थाल्छन् । राम्रो पढ्ने विद्यार्थीलाई हामी कमसेकम १२ कक्षासम्म विज्ञान पढ्न प्रोत्साहित गर्छौँ, ‘विज्ञान पढे धेरै अवसर पाइन्छ, धेरै ढोका खुल्छन् ।’ समाजशास्त्र वा साहित्य ? कसैलाई मतलब छैन।

गणित र भाषाको सिकाइ पक्कै पनि महत्वपूर्ण छ । राम्रो भाषिक क्षमताविना हामीलाई आधुनिक संसारमा टिक्न गाह्रो पर्छ । व्यावहारिक हिसाबकिताब गर्न, सामान्य व्यापार गर्न पुग्ने स्तरको गणितको ज्ञान पनि सबैलाई चाहिन्छ । भित्तामा काँटी ठोकेर फोटो झुन्ड्याउन पनि प्रयोगात्मक गणितको ज्ञान चाहिन्छ । डकर्मी, सिकर्मी लगायतका पेसामा हुनेले त गणितको अलि बढी नै प्रयोग गर्न‘पर्छ । त्यसैले प्रश्न गणित चाहिन्छ कि चाहिँदैन भन्ने होइन, बरु कसलाई कति गणित चाहिन्छ भन्ने हो।

अहिले गरिएको व्यवस्थाले गणित वा इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीहरूलाई गणित पढ्न पाउनबाट कुनै पनि हालतमा रोकेको छैन।

सामान्यतया हामीलाई दैनिक जीवनमा प्रयोग गर्ने गणित अर्थात् तथ्यांक, संख्या र गणना, ज्यामिति र सामान्य बीजगणित आधारभूत शिक्षामै सिकाइएको हुन्छ । व्यावहारिक जीवनमा सधैँ चाहिने जोड–घटाउ, भाग–गुणन म सजिलै गर्छ‘, घरको सामान मिलाउँदा सामान्य ज्यामितिको ज्ञानको उपयोग गर्छ‘ र अनि भान्छामा खाने कुरा पकाउँदा आँकलन गर्ने क्षमताको प्रयोग गर्छ‘ । यी सबै कुरा मैले १० कक्षा पुग्नुभन्दा अगाडि नै सिकेकी हुँ।

कम्प्युटर इन्जिनियर, वैज्ञानिक, अनुसन्धाता, तथ्यांकशास्त्रीजस्ता पेसामा जान चाहनेहरूले गणित पढ्नैपर्छ । जीव वैज्ञानिक, बायोमेकानिकल इन्जिनियरर रसायनशास्त्रीलाई पनि आफ्नो पेसाका लागि गणितको जरुरत हुन्छ । तर मेरी एक जना डाक्टर साथीका अनुसार डाक्टरहरूले आफ्ना काममा संख्या र गणितका आधारभूत अवधारणाको मात्र प्रयोग गर्छन्, बिरामीहरूको शारीरिक अवस्थाको निगरानी गर्न, औषधिको मात्रा गणना गर्न र स्वास्थ्य तथ्यांक बुझ्न । अन्तर्राष्ट्रिय अभ्यास आफ्नो देशका शिक्षा नीतिहरूलाई पिसा (प्रोग्राम फर इन्टरनेसनल स्टुडेन्ट असेस्मेन्ट) र अन्य अन्तर्राष्ट्रिय रूपमा लिइने जाँचमा राम्रो नतिजा ल्याउने देशका नीतिसँग दाँज्ने काम पक्कै आकर्षक हुन्छ । तर हाम्रो देशको सन्दर्भ ती देशका भन्दा कति भिन्न छन् भन्नेबारे पनि हामीले सोच्नुपर्छ । शिक्षाविद् र पत्रकारहरू शिक्षाको कुरा गर्दा फिनल्यान्डको उदाहरण दिन मन पराउँछन्, तर फिनल्यान्डको सन्दर्भ हाम्रो भन्दा फरक छ भन्ने चाहिँ भुल्छन्।

फिनल्यान्डमा जो कोही शिक्षक बन्न पाउँदैनन् । फिनिस नेसनल एजेन्सीका अनुसार शिक्षक बन्न चाहनेमध्येका १०  प्रतिशत मात्र शिक्षक लागि पढ्न छानिन्छन् र स्नातकोत्तर गरेका छैनन् भने उनीहरूले व्यावसायिक शिक्षा वा शिशु कक्षामा मात्र पढाउन पाउँछन् । पढाउन थालेका प्रारम्भिक वर्षहरूमा उनीहरूलाई अनुभवी शिक्षकहरूले पेसागत परामर्श दिइरहन्छन् । यसरी फिनल्यान्डका विद्यार्थीहरू बलियो आधार लिएर मात्र उच्च माध्यमिक विद्यालय जान्छन् । उनीहरूले उच्च माध्यमिक विद्यालयमा ७५ वटा विषय (कोर्स) पढ्नुपर्छ, जसमध्ये गणित वा विज्ञानका २ वटा विषय (कोर्स)अनिवार्य हुनुपर्छ । टर्कीमा १२ कक्षासम्म अनिवार्य रूपमा गणित पढ्नैपर्छ । विभिन्न देशहरूमा प्रयोग हुने आईबी (इन्टरनेसनल ब्याकालरिएट)का अन्तिम दुई वर्षमा एक वर्ष (कक्षा ११) मा गणित पढ्नुपर्छ । बेलायतमा कक्षा १० मा लिइने ओ लेभलसम्म गणित लिनैपर्छ, तर त्यसपछि पढिने ए लेभलमा भने गणित अनिवार्य हुँदैन।

भारतमा सीबीएसई (सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेसन), आईसीएसई (इन्डियन सर्टिफिकेट अफ सेकेन्डरी एजुकेसन) र धेरै राज्यका बोर्डहरूले कक्षा १० सम्म गणित अनिवार्य गरेका छन्, तर कक्षा ११ र १२ मा भौतिक विज्ञान (फिजिक्स) पढ्ने बाहेकका विद्यार्थीका लागि गणित ऐच्छिक छ । भारतमा विज्ञान पढ्नेमध्ये धेरै विद्यार्थीले कक्षा ११ मा जीवविज्ञान र गणितमध्ये एउटा विषय छान्छन् । मध्य प्रदेश र कर्नाटकजस्ता केही राज्यहरूमा भने विज्ञान पढ्ने सबै विद्यार्थीका लागि गणित अनिवार्य छ।

अनि विकास?
गणितलाई अनिवार्य बनाउनुपर्छ भन्नेहरू भन्छन्, गणितको गहन अध्ययनविना स्तरीय इन्जिनियर र वैज्ञानिक उत्पादन गर्न सकिँदैन र विश्वस्तरीय इन्जिनियरविना फास्ट ट्रयाक सडक, बिजुली र ठूलाठूला उद्योगधन्दा सपना मात्र रहन्छन् । यसो भन्दा उनीहरूले दुइवटा कुरा बिर्सेजस्तो लाग्छ । अहिले गरिएको व्यवस्थाले गणित वा इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीहरूलाई गणित पढ्न पाउनबाट कुनै पनि हालतमा रोकेको छैन । देशमा समृद्धिको नारा चर्किरहेका बेला हामीले के भुलेका छौँ भने समृद्ध नेपालका लागि इन्जिनियर र वैज्ञानिक मात्र भएर पुग्दैन । समग्र विकास हेर्ने हो भने राम्रा शिक्षक, वकिल, पत्रकार, समाजशास्त्री, मानवशास्त्री, राजनीतिज्ञ, कलाकार र साहित्यकार पनि चाहिन्छ । पुल बनाउने इन्जिनियर विदेशबाट पनि आउन सक्छन्, तर विदेशी मानव अधिकारवादी, पत्रकार र वकिलले हाम्रा कुरा उठाइदिनु परेमा त्यो साँच्चिकै दुर्भाग्यपूर्ण हुनेछ।

कुनै पनि विश्वविद्यालय, कलेज वा उच्च शिक्षाका बोर्डहरूलाई आफूकहाँ कुनै विषय पढ्नका लागि माध्यमिक विद्यालयमा दुई वर्षभन्दा बढी गणित पढेकै हुनुपर्छ भने जस्तो लाग्छ भने उनीहरूले त्यसलाई आफ्नो शैक्षिक संस्थामा प्रवेशका लागि आवश्यकता नै बनाउन सक्छन् । त्यसो गर्दा उनीहरूकहाँ पढ्न चाहने विद्यार्थीले कक्षा ११ र १२ मा पक्कै पनि गणित पढ्छन् । उदाहरणका लागि बेलायतको केम्ब्रिज विश्वविद्यालयमा डाक्टर पढ्नका लागि ए लेभल (कक्षा ११÷१२ को बराबरी तह) मा गणित पढेकै हुनुपर्छ । तर बेलायतकै अरू मेडिकल कलेजमा पढ्नका लागि यो पूर्वाधार हुनु आवश्यक छैन।

गणित नपढेका विद्यार्थीलाई पेसागत जीवनमा पसिसकेपछि गणितको ज्ञान चाहियो भने उनीहरूले पछि पनि गणित पढ्न पाउँछन् । धेरै विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा पनि तथ्यांकशास्त्र पढाइन्छ । विश्वविद्यालय तहमा गएर शिक्षाशास्त्र वा शिक्षानीति सिक्न सकिन्छ भने गणित किन सकिँदैन?

सानो उमेरमै दबाब
केही साताअघि हामी इलामको एउटा सानो बजारछेउको पसलमा बिस्कुट किन्दै थियौँ । हामीले किनेका ८ प्याकेट बिस्कुटमध्ये ४ वटा ५० रुपैयाँ प्याकेटका थिएर ४ वटा ६० रुपैयाँ प्याकेटका । चौध वर्षजतिका पसले भाइले क्यालकुलेटरमा नम्बरहरू थिचे र तीन–चार मिनेटपछि मलाई ४० रुपियाँ फिर्ता दिए । ‘भाइ, २० रुपियाँ पुगेन नि,’ मैले भनेँ । अरू दुई–चार मिनेट पर्खेर ६० रुपियाँ लिएर हामी त्यहाँबाट हिँड्यौँ।

समस्या ११–१२ कक्षामा गणित ऐच्छिक हुनुमा छैन, समस्या बालबालिकाले आधारभूत जोड–घटाउ नै गर्न नसक्नुमा छ । दुःखको कुरा, उनीहरू क्यालकुलेटर लिएर पनि त्यति हिसाब गर्न सक्दैनन् । तर त्यसको अर्थ उनीहरू गणित जान्ने क्षमताविनाका छन् भन्ने होइन । उनीहरूलाई ठीकसित गणित सिकाइएको छैन।

विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) २०१७ का अनुसार कक्षा ८ का करिब ४६५ विद्यार्थी गणितमा सक्षमताका छ ओटा स्तरमा तह ४ भन्दा तल रहका छन् । नासा परीक्षाका अनुसार गणितको सक्षमता २०११ मा भन्दा २०१३ मा कम, र २०१३ मा भन्दा २०१७ मा कम भएको छ । अझै पनि हामी कक्षा ८ को गणितको नतिजा सपार्नका लागि कक्षा ११–१२ को गणित अनिवार्य बनाउनुपर्छ भन्नेमा हठ गरिरहेका छौँ । समस्याको समाधान ११ वा १२ मा गणित जबर्जस्ती लाद्नेमा होइन, विद्यार्थीलाई सानैदेखि गणित (वा अरू जुनसुकै विषयमा पनि) रहर जगाउनेमा हो भन्ने कुरा हामीले अब बुझ्नुपर्छ । यसका लागि कक्षा १ देखि नै विद्यार्थीले बुझ्ने गरी गणित पढाउनुपर्छ।

नेपाली शिक्षा क्षेत्र पुनर्संरचना भएपछि आधारभूत शिक्षा (कक्षा १—८) र माध्यमिक शिक्षा (कक्षा ९—१२)मा बाँडिएको छ । कक्षा ११–१२ मा गणित अनिवार्य नहुँदा पनि सबै विद्यार्थीले माध्यमिक विद्यालयमा दुई वर्ष गणित त पढिरहेकै हुन्छन्।

नेपालमा धेरै विद्यार्थी सानै उमेरदेखि गणितमा पछि परिरहेका छन् । किन ? हामीलाई राम्रोसित थाहा छैन । तर जति नै गाह्रो मानेर भए पनि कक्षा १० सम्म आइपुग्ने सबैले अनिवार्य गणित पढेकै छन् । चाहनेले र सक्नेले त्यसपछि पनि ऐच्छिक विषयका रूपमा गणित पढ्न पाउँछन् । त्यसैले गणितलाई ११–१२ कक्षामा ऐच्छिक बनाउँदा केही घाटा हुँदैन, बरू फाइदा हुन्छ । गणित अनिवार्य भएन भने गणितमा फेल भएका ‘असफल’को बिल्ला लाग्ने धेरै विद्यार्थी अरू विषयमा सफल हुन सक्छन् । एउटा गणितलाई ऐच्छिक गर्दा धेरै विद्यार्थीले १२ कक्षा पूरा गर्छन् भने त्यसो किन नगर्ने ? यस कदमबाट जीवविज्ञान पढ्न चाहने तर गणित पढ्न नचाहने वा नसक्ने विद्यार्थीलाई माध्यमिक शिक्षा पूरा गर्न सहयोग पुग्छ र कक्षा ११–१२ मा विज्ञान पढ्ने विद्यार्थीको संख्या पनि बढाउन सक्छ । जीवविज्ञान, वातावरण आदि पढेको जनशक्तिको पनि त यो देशमा ठूलो खाँचो छ।

अहिलेको ११–१२ कक्षाको अवधारणा आउनुअघि एसएलसीपछि पढिने प्रमाणपत्र तहको सम्झना गर्दा पनि यो कदमको औचित्य साबित हुन्छ । त्यसबेला विज्ञान वा गणित वा इन्जिनियरिङ वा अरू केही प्राविधिक विषय पढ्नेले बाहेक अरूले आइए वा प्रमाणपत्र तहमा गणित पढ्नु पर्दैनथ्यो । त्यसै प्रणालीअन्तर्गत शिक्षित व्यक्तिहरू अहिले सरकारभित्र र बाहिर रहेर सफलतापूर्वक काम गरिरहेका छन् । यी सबै कुरा देख्दादेख्दै जान्दाजान्दै पनि ११–१२ कक्षामा गणितलाई ऐच्छिक बनाइएकोबारे कोकोहोलो गर्न‘ जरुरी छैन । यसलाई विदेशीहरूको एजेन्डा भनेर विषयवस्तुको औचित्य र गहनतालाई धमिल्याउन त झन् हुँदैन । गणितलाई ऐच्छिक बनाउँदा हामीलाई कत्ति पनि घाटा लाग्दैन । हाम्रो हिसाब कतै पनि हराउँदैन।

(अधिकारी हार्वर्ड विश्वविद्यालयको शिक्षा क्याम्पसबाट शिक्षा नीतिमा स्नातकोत्तर उत्तीर्ण हुन्)






यसमा तपाईको मत

अन्य समाचार

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

Ncell Footer Ad