१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अनशन ताेड्न दाेषीलार्इ सजाय

काठमाडौं - वीर अस्पतालमा ४१ दिनदेखि आमरण अनशनरत गोर्खा फुजेलकी गंगामायाले सबै अभियुक्तलाई पक्राउ गरी सजाय नतोकेसम्म अनशन नतोड्ने अडान लिएकी छिन्। आइतबार छोरा कृष्ण अधिकारीको हत्याका आरोपी चितवनका ८२ वर्षीय छविलाल पौडेलले सर्वोच्च अदालतसमक्ष आत्मसमर्पण गरेपछि पनि उनले अनशन तोड्न मानेकी छैनन्।

२०६२ साल जेठ २४ गते छोरा कृष्ण अधिकारीको तत्कालीन माओवादी कार्यकर्ताले हत्या गरेको आरोप अधिकारी परिवारको छ। यही विषयमा जिल्ला अदालत चितवनमा गोर्खा फुजेलकै छविलाल पौडेल लगायतविरुद्ध किटानी जाहेरी परेको थियो । छोरा कृष्णको हत्या भएपछि उनी सात वर्षदेखि न्यायको खोजीमा छन्।

न्यायकै खोजीमा अधिकारी दम्पती ०६९ सालदेखि वीर अस्पतालमा अनशन सुरु गरेका थिए। पति अधिकारीको पाँच वर्षअघि अनशनकै क्रममा वीर अस्पतालमा मृत्यु भइसकेको छ। पतिको मृत्युपछि पनि गंगामायाले हत्यारालाई कारबाही हुनुर्ने माग गर्दै अनशनरत थिइन्। जेठ १५ गते गणतन्त्र दिवसका दिन सरकारले गणेश उज्जन श्रेष्ठको हत्यामा सजाय पाएका बालकृष्ण ढुंगेलको रिहाइ गरेपछि गंगामाया सोही दिनदेखि वीर अस्पतालमा अनशनरत छिन्।

सोमबार गंगामायाको अनशन तोडाउन कानुन मन्त्रालयका सचिव राजीव गौतम, गृृह मन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदी र काठमाडौंका प्रमुख जिल्ला अधिकारी वीर अस्पताल पुगेका थिए। उनीहरूले मुख्य आरोपीले आत्मसमर्पण गरिसकेको भन्दै अनशन तोड्न आग्रह गरे पनि गंगामायाले अस्वीकार गरिन्। ‘हामीले बाँचेपछि न्याय पाइन्छ नै, अनशन तोड्नुस भन्यौं। उहाँले मान्नु भएन,’ गंगामायालाई भेट्न पुगेका कानुन सचिव गौतमले भने।

गौतमले मुख्य आरोपीले समर्पण गरेपछि बाँकी प्रक्रिया अदालतले नै पूरा गर्ने भएकाले अदालती प्रक्रियालाई पर्खिन गंगामायालाई आग्रह गरे। सचिव गौतमले गंगामायालाई अदालतप्रति विश्वस्त हुन आग्रह गरे । ‘मुख्य आरोपी पक्राउ परेपछि अन्य आरोपीलाई पनि कारबाही हुँदै जान्छ,’ उनले भने।

छविलालको आत्मसर्मणपछि खुसी देखिएकी गंगामायाले भने सरकारले घटनाका आरोपीको सजाय अवधि नतोकेसम्म अनशन जारी राख्ने अडान कायम राखिन्। यसअघि पनि सरकारले छविलाललाई पक्राउ गरी छाडेको घटनाका कारण आफू विश्वस्त नभएको बताइन्। यसका लागि सरकारले गोली प्रहार गर्ने मुख्य व्यक्ति रुद्र आचार्यलाई पक्राउ गर्नुपर्ने उनले माग राखेकी छिन्। त्यसैगरी हत्यामा संलग्न चितवनकै रामप्रसाद अधिकारी (१) र रामप्रसाद अधिकारी (११), छविलाल पौडेल, भिमसेन पौडेल, परशुराम पौडेल र जानुका पौडेल सबैलाई पक्राउ गरी गरी सजाय तोक्नुपर्ने माग गरेकी छिन्।

सोमबार मानवअधिकारकर्मीहरूले अनशन तोड्न गरेको आग्रहलाई पनि गंगामायाले अस्वीकार गरिन्। उनले छोरा कृष्णप्रसाद अधिकारीलाई न्याय दिलाउने क्रममा धेरै क्षति बेहोरिसक्दा पनि पूर्ण न्याय पाउन नसकेको गुनासो गरिन्। अन्य दिनभन्दा केही सक्रिय देखिएकी गंगामाया सोमबार आइसियूमा उठेरै कुरा गरेकी थिइन्। उनले सरकारले छविलाललाई पक्राउ गरे पनि बीचमै छाड्न सक्ने आशंका गरिन्। ‘पहिला पनि छविलाललाई थुनेर छाडेको थियो, पछि यस्तो हुन सक्छ,’ उनले भनिन्।

न्यायको खोजीमा आफूसँगै अनशन बसेका पति नन्दप्रसाद अधिकारीको वीर अस्पतालमा पाँच वर्षअघि मृत्यु भएको थियो। ‘मानवअधिकार भएको देशमा पनि आमरण अनशनमा बसेकालाई मृत्युवरण गर्न बाध्य तुल्याइन्छ?,’ गंगामायाले प्रश्न गरिन्।

समयमै न्याय नदिने र अनशनकै क्रममाा पतिको मृत्यु गराउने सरकार, पाँच वर्षदेखि छोरा नुनप्रसाद अधिकारीलाई बेपत्ता बनाउने, आफूलाई पटकपटक प्रहरी कार्यालयमा पु-याउने सबैलाई कारबाही हुनुपर्ने उनको माग छ। यसका साथै सरकारले छोरा नुनप्रसादलाई खोजेर वार्ता गर्नुपर्ने माग राखेकी छिन्। उनले न्यायको लागि पटकपटिक मर्नुभन्दा अनशनकै क्रममा मर्न तयार रहेको बताइन्। ‘कति सजाय हुने हो त्यो तोक्नुप-यो, चार वर्षदेखि बेपत्ता छोरा खोज्नुप-यो, पतिको दाहसंस्कार गर्नुप-यो, मलाई जीवनको आस पनि छैन, अनशन तोड्दिन,’ उनले भनिन् । गंगामायाले न्याय माग्ने क्रममै सात वर्ष अनशनमा बिताएकी छिन्। ‘बुढा अनशन बसेको ३ सय ३४ दिनमा जानु भयो, म किन गइन्,’ उनले भनिन्।

सोमबार गंगामायाको स्वास्थ्यमा केही सुधार आएको अस्पतालको आइसियू विभागले जनाएको छ। अहिले उनलाई सलाइन दिएर आइसियूमै राखिएको छ।

गंगामाया बचाउ अभियानका सदस्य चरण प्रसाईंले सरकारले कृष्ण अधिकारीलाई गोली हान्न संलग्न भनिएका रुद्र आचार्यलाई पक्राउ गर्न सकेमा न्याय मिल्ने बताए। ‘सरकारले चाहेमा आचार्यलाई तुरुन्तै झिकाउन सक्छ,’ उनले भने। उनी हाल आयरल्यान्डमा बस्दै आएका छन्। ‘सरकारले पहिला उनलाई झिकाउने कुरामा विश्वस्त पार्न सकेमा अनशन तोड्न सक्नुहुन्छ,’ उनले भने। आचार्यलाई इन्टरपोलले रेडकर्नर सूचना जारी गरिसकेको छ। आचार्यलाई हाजिर गराउन २०७० साल चैतमा जिल्ला अदालत चितवनले आदेश दिएको थियो।

प्रकाशित: २६ असार २०७५ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App