१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

'सामथ्र्य जुटाउन कठिन'

सोची (एपी) –  बलियो टोलीका साथ ब्राजिल विश्वकपको उपाधि हात पार्ने उद्देश्य लिएर रूस पुगेको थियो । उसका साथमा धेरै स्टार खेलाडी र राम्रा प्रशिक्षक थिए। धेरै समर्थकले पछिल्लो समय उपाधि खडेरी लागेको ब्राजिल उपाधिसहित घर फर्किन्छ भन्ने अनुमान गरेका थिए।

तर समर्थकको आशा शुक्रबार निराशामा परिणत भयो। फेरि पनि पाँच पटकको विश्वविजेता ब्राजिल सेमिफाइलन पनि नपुगी घर फर्कियो। अघिल्लो संस्करणमा जर्मनीसँग सेमिफाइलनमा ७–१ को लज्जास्पद पराजय भोगेको ब्राजिल जारी संस्करणमा पनि खाली हात स्वदेश फर्किएको हो।

क्वार्टरफाइलनबाटै बाहिरिनु ब्राजिलका लागि नराम्रो झट्का हो।

‘यो मेरो खेलजीवनकै सबैभन्दा दुखद क्षण हो,’ नेइमारले सामाजिक सञ्जालमा भनेका छन्, ‘धेरै पीडा भएको छ। किनभने हामीले अघिल्लो चरणको यात्रा तय गर्न सकेनौंं। नयाँ इतिहास बनाउनबाट चुक्यौं। फेरि फुटबलमा फर्किने सामथ्र्य जुटाउन निकै कठिन भएको छ, तर मलाई विश्वास छ भगवान्ले मेरा लागि शक्ति प्रदान गर्नेछन्।’

बेल्जियमसँग क्वार्टरफाइलनमा २–१ ले पराजित भएपछि नेइमारले सामाजिक सञ्जालमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै यस्तो सन्देश छोडेका थिए।

दोस्रो पटक विश्वकपमा सहभागिता जनाएका २६ वर्षे फरवार्ड नेइमारको टोली उपाधि जित्ने लक्ष्यसहित रूस प्रस्थान गरे पनि उपाधि नजिक भने पुग्न सकेनन्। सबैभन्दा महँगो मूल्यमा क्लबमा अनुबन्धित नेइमारले आफ्नो देश ब्राजिलका लागि जारी विश्वकपमा दुई गोल गरे भने अपेक्षाअनुसारको खेल देखाउन सकेनन् । खेलअवधिमा नेइमारको अधिकांश समय मैदानमा लडेर नै बित्यो।

‘टोलीको सदस्य बन्न पाउँदा मलाई खुसी लागेको छ । सबैसँग आभारी पनि छु,’ नेइमारले भने, ‘उनीहरूले हाम्रो सपना विफल तुल्याइदिएका छन् । तर यो क्षण हाम्रो मस्तिष्क र मुटुमा ताजै रहनेछ ।’

पछिल्लो पटक २००२ मा उपाधि जित्दा ब्राजिली टोलीलाई रोनाल्डो, रिभाल्डो र रोनाल्डिन्होको साथ थियो।
२०१६ मा ब्राजिलियन टोली सम्हालेका टेटेले उपाधि दिलाउनेमा धेरै समर्थक आशावादी थिए । टेटेले टोली सम्हालेपछि ब्राजिल एक खेलमा मात्र पराजित हुँदै विश्वकपको भिडन्तमा उपस्थित भएको थियो। शनिबार बेल्जियमसँग पराजित हुँदा उनको प्रशिक्षणमा टोलीले दोस्रो पराजय भोगेको हो । यसअघि विश्वकप छनोट चरणको पहिलो लेगमा ब्राजिल चिलीसँग २–० ले पराजित भएको थियो।

‘कुरा गर्न मलाई निकै कठिन भइरहेको छ,’ टेटेले खेलपछिको पत्रकार सम्मेलनमा भने, ‘अनुभव निकै तीतो भइरहेको छ। उपस्थित हुन पनि निकै कठिन भइरहेको छ।’

पराजित भए पनि टेटेले समर्थकबाट साथ पाइरहेका छन्।  ब्राजिल फुटबल संघले आउँदो संस्करणमा पनि टोलीको जिम्मेवारी लिने आशा लिएको छ। ब्राजिलले पछिल्लो समय कुनै पनि प्रशिक्षकलाई लगातार दोहोरो कार्यकाल सुम्पिएको विरलै इतिहास छ।  यसअघि सन् १९७० का प्रशिक्षक मारियो जागालोलाई १९७४ को संस्करणमा प्रशिक्षकको कार्यभारलाई निरन्तरता दिएको थियो।

टेटेले टोली सम्हाल्न चाहन्छन् कि चाहँदैनन् भन्ने मुख्य प्रश्न हो। धेरैले उनलाई युरोपियन क्लबले प्रस्ताव गरिसकेको बताएका छन्।  

‘भविष्यका बारेमा बोल्ने यो सही समय होइन,’ टेटेले भने, ‘मैले अहिले नै यही हुन्छ भन्न सक्दिनँ।’
उनको टोली ब्राजिलले शनिबार काजान छोडेको छ।

मिडफिल्डर फर्नान्डिन्होले बेल्जियमविरुद्ध १३औं मिनेटमा आत्मघाती गोल गर्दा उनी समर्थकबाट आलोचित भएका थिए। उनलाई केहीले  सामाजिक सञ्जालमार्फत रंगभेदी आक्रमण गरेका छन्।

२०१४ को संस्करणमा जर्मनीसँग लज्जास्पद पराजय भोग्दा फर्नान्डिन्हो, मार्सेलो, पाउलिन्हो र विलियनले खेलेका थिए।

अर्को वर्ष आफ्नै भूमिमा हुने कोपा–अमेरिका प्रतियोगितामा अब ब्राजिलले देशको प्रतिनिधित्व गर्नेछ।

प्रकाशित: २५ असार २०७५ ०६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App