१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

विग फेसन

लामो समय नेदरल्यान्ड बसेर आएका किरण श्रेष्ठ त्रिपुरेश्वरमा विग व्यापार गर्छन् । त्रिपुरेश्वरमा रहेको विग होटल, जहाँ विग बेच्ने मात्र नभएर टाउकोको आकार अनुसार हेयर रिप्लेसमेन्ट पनि गरिन्छ । विग होटल काठमान्डौंको कोटेश्वर र त्रिपुरेश्वरमा दुई शाखा छन् । पोखरामा पनि यसको शाखा छ।

किरण श्रेष्ठले १९ वर्षदेखि विग व्यापार गरिरहेका छन् । नेपालमा विगको ट्रेन्ड अन्य मुलुकजस्तो हुन नसकेको उनको अनुभव छ । सुरुवाती चरणबाट अहिलेसम्म आउँदा व्यापार केही बढेको उनी बताउँछन् । उनी भन्छन्, ‘आफूलाई समस्या हुँदाहुँदै पनि विगको प्रयोग नगरेको अवस्था छ । विग प्रयोग गर्नेले लाज मान्दा पनि यस्तो भएको हो।’

मानिसको बाहिरी व्यक्तित्वलाई कपालले धेरै फरक पार्छ । कपालकै कारण कतिपय वास्तविक उमेरभन्दा बढीको देखिने गरेका छन् । यो समस्या भोग्नेहरू निकै बढेका छन् । कपालले मानिसको व्यक्तित्वमा धेरै महŒव दिन्छ । कपाल उमार्न कतिपयले विभिन्न थरिका औषधी प्रयोग गरिरहेका पनि छन् ।

धुवाँधुलो, हेरचाहमा कमी, असन्तुलन खानपान, केमिकलयुक्त सामग्रीको प्रयोग, तनावलगायत कारणले कपाल कमजोर भई झर्ने गरेको चिकित्सक बताउँछन् । कपालमा हुने प्राकृतिक गुण दिनप्रतिदिन कमजोर भई कपाल झर्ने समस्या सबैको सार्वजनिक समस्या भएको छ । कम उमेरमा नै कपाल झर्नु, टुक्रिनु त सामान्य नै भइसकेको छ । कपाल झर्ने समस्या महिलाको तुलनामा पुरुषलाई धेरै हुने चिकित्सक बताउँछन् । सुरुवातमा नेपालमा विगको प्रयोग चलचित्रमा गरेको पाइने किरण श्रेष्ठ बताउँछन्।

उनी भन्छन्, ‘नेपालमा विगको प्रयोग सर्वसाधारणले गर्थेनन्, विग यति सजिलै पाउन सकिन्न थियो, यताकता चलचित्रमा फाइवरको विग लगाएको देखिन्थ्यो ।’नेपालमा फेसनका लागिभन्दा पनि विभिन्न कारणले क्यान्सर लागेका बिरामीले विग प्रयोग गर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘विगको प्रयोग गर्नेहरूमा महिलाको संख्या पुरुषको तुलनामा धेरै रहेको छ, कपाल रिप्लेसमेन्ट गर्नेमा भने पुरुषको संख्या बढी छ।’

नेपालमा विगको लागि फाइवरको भन्दा ह्युमन हेयर विगको प्रयोग धेरै गरिने उनी बताउँछन् । विग र रिप्लेसमेन्टमा अधिकांश मानीसहरूको बुझाई गलत रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘हेयर रिप्लेसमेन्ट गर्दा प्राकृतिक कपाल नै नयाँ उमार्नु हो भने विगको प्रयोग गर्नु भनेको इच्छा अनुसारको कपाल हो, जसलाई मन लागे लगाउन सकिन्छ भने मन नलागे निकाल्न यो प्राकृतिक हुँदैन।’

हेयर रिप्लेसमेन्ट गर्न ९५ प्रतिशत पुरुष र ५ प्रतिशत मात्र महिला आउने गरेको उनी बताउँछन् । विग लगाउँदा अप्राकृतिक देखिनाले विगलाई फेसनको रूपमा पुरुषले त्यक्ति प्रयोग नगर्र्ने उनी बताउँछन् । विगको कम प्रयोगसँगै हेयर रिप्लेसमेन्ट पनि निकै कम भएको उनी बताउँछन् । रिप्लेसमेन्टको शुल्क निकै महँगो हुनाले तुलनात्मक रूपमा नेपालमा हेयर रिप्लेसमेन्ट निकै कमले गरेको अनुभव उनी सुनाउँछन्।

अचेल सहरका ब्युटी पार्लरहरूमा विवाह, पार्टीमा लगाइने ड्रेस अनुसार हेयर स्टायल बनाउनेको भीड देख्न सकिन्छ । विगको प्रयोग गरेर पातलो कपाललाई बाक्लो बनाउने, अनुहारलाई आकर्षित देखाउने तरिका अपनाउने ट्रेन्ड निकै चलेको छ । चलचित्रमा काम गर्ने कलाकारले मात्र प्रयोग गर्ने विग हिजोआज हरेकले प्रयोग गर्न सहज भएको छ । छोटो कपाल हुनेले लामो कपालको रहर मेटाउने उपयोगी विकल्पका रुपमा विगको फेसन भएको पाइन्छ।

ठमेलमा रहेको असायलम हेयर सैलुनकी सञ्चालिका हुन्, सञ्जु लामा । सञ्जुले हेयर सैलुन सञ्चालन गरेको १७ वर्षभन्दा बढी भइसक्यो । विभिन्न देशबाट आएका विदेशीहरूको हेयरमा थरिथरिका विङस् लगाइदिएको उनी अनुभव सुनाउँछिन् । उनी भन्छिन्, ‘तुलनात्मक हिसावले भन्नुपर्दा नेपालीको भन्दा विदेशीले नेचुरल कपालमा विगको डिजाइन लगाउन आउँछन् ।’ सञ्जुले प्रायः न्याप हेयर स्टायल बनाउँछिन् ।

उनी भन्छिन्, ‘नेपालमा विङस्को प्रयोग गरेर बनाइने डिजाइन मध्य न्याप हेयर निकै प्रचलित छ, विदेशी स्वदेशी सबैको रोजाइमा पर्छ ।’ न्याप हेयर भएको कपालमा सेन्थेटिक फाइवरको विग मिसाउँदै, मसिनो गरी बाटेर बनाइने उनी बताउँछिन् । नेपालमा घुम्न आउने पर्यटन हाइकिङको लागि आउने भएर एक महिनासम्मको विग लागि न्याप हेयर बनाएर जाने उनी बताउँछिन् ।नेपाली महिलाहरू विदेश जानुअगाडि विग लगाउने आउनेको संख्या बढ्दो क्रममा रहेको उनी बताउँछिन् । मौसम अनुसार कपालको थरिथरिको फेसन गर्नेहरूको संख्या निकै बढेको उनी बताउँछिन् ।

प्राकृतिक कपालमा विग जोडेर लामो बनाउनु, बाटेर फेसनेबल देखिन चहाने युवतीहरूको संख्या बढ्दो रहेको उनी बताउछिन् । युवा पुस्तामा पनि विग जोड्ने फेसन ह्वात्तै बढेको उनी बताउँछिन् । उनी भन्छिन्,‘फेसनमा रमाउनेहरूको भिडमा आफूलाई युनिक र स्मार्ट देखाउन विगको प्रयोग गरेर युवाहरू प्रायः अफ्रिकी मुलुकमा बनाइने हेयर स्टायल बनाउन आउछन् ।’ इच्छा अनुसारको रंग र लम्बाइको विगलाई कपालसँगै जोडेर बाटेको कपाल एक महिनासम्म राख्न मिल्ने उनी बताउँछिन्।  

फेसनमा रमाउनेहरूको संख्या दिनानुदिन बढेको छ । कुन समयमा कस्तो तरिकाले लगाउने मात्र नभएर कस्तो हेयर स्टायल बनाउने भन्ने फेसन निकै चलेको छ । कार्यक्रम अनुसार कपालको डिजाएन बनाउनु त सामान्य नै भइसक्यो । विगको प्रयोग गर्मीभन्दा चिसो मौसममा बढी फेसन चल्ने सञ्जु लामा बताउँछिन् ।
पुल्चोककी विना मगर प्राइभेट कम्पनीमा काम गर्छिन् । विनाले विगको प्रयोग गर्न थालेको एक वर्ष भइसक्यो । कपाल सिल्की तर निकै पातलो भएकाले उनले कपाललाई छोटो पारेकी हुन् ।

विनाको रेगुलर लुक्स थाइकट भए पनि विशेष समारोहमा फरक लुम्समा सजिन्छिन् । उनी भन्छिन्, ‘विगले गर्दा निकै सहज भएको छ, इच्छा अनुसारको हेयर स्टायल बनाउन पाइएको छ ।’ उनको कपाल काँधसम्म छ, विवाह पाटीमा जादा उनी विगको प्रयोग गर्छिन् । उनी भन्छिन्, ‘मेरो कपाल छोटो छ । घर, अफिसको काम गर्दा सजिलो भए पनि विवाहको प्रोग्राममा जाँदा अलि फरक लुक्सको लागि विगको प्रयोग गर्छु ।’ विनाले ब्राउन कलरको कर्ली विग प्रायः प्रयोग गर्छिन् । कर्ली कपाल मनपराउने विनालाई साडीमा लामो कर्ली कपाल लगाउँदा सुहाउने उनी बताउँछिन् ।नक्सालस्थित द ब्युटी बारकी सञ्चालिका हुन्, इक्ष्छा कार्की ।

विगको प्रयोग अन्य समयभन्दा विवाह, पाटीमा नयाँ र युनिक लुक्स देखिन प्रयोग गर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘अन्य दिनमा जस्तो सामान्य लुक्सभन्दा फरक देखिन विगको प्रयोग गर्नेहरू आउँछन्, बाक्लो कपाल बनाउन, कपालको फेसनमा टुइस्ट दिन पनि विगको प्रयोग गर्छन् ।’ विवाहको मौसममा साइनी रेड, ब्राउन, ब्ल्याक कलरको विग बढी चलतीमा रहेको उनी बताउँछिन् । विवाहको मौसमभन्दा फरक हलोएन फेस्टिबलमा कार्टुन, हलोयनको लागि   मेकअप गर्न आउनेले मेकअप अनुसारको विग लगाउने उनी बताउँछिन् ।

प्रकाशित: २५ असार २०७५ ०२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App